काठमाडौं, भदौ २२- दक्षिण कोरियाको थेगु सहर क्षेत्रबाट १३ अवैधानिक विदेशी कामदार पक्राउ परेका छन् । त्यसमध्ये ४ जना नेपाली छन् । सोमबार दिउँसो ३ः३० बजे कोरियाली अध्यागमन विभागका कर्मचारीले सन्जु बसपार्क नजिकै रहेको केसी टेक नामक सिएनसी कम्पनिमा काम गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमध्ये ४ जना नेपाली कामदार रहेका छन् । नेपाली कामदारहरु उक्त कम्पनीमा केहि हप्ता अघिमात्र आएको त्यस क्षेत्रमा काम गरिरहेका एक नेपालीले जानकारी दिएका छन् । ती नेपालीका अनुसार अध्यागमन विभागका कर्मचारीहरु एकै चोटी कम्पनीमा प्रवेश गरेर धडपकड सुरु गरेको थिए ।
कम्पनीमा धडपकड भएपछि रात्रीकालीन काम गरेर सुतिरहेका अन्य कामदारबीच भागाभाग भएको थियो । यसअघि गत अगस्ट १२ तारिखमा पनि त्यस क्षेत्रमा डाइकस्टिङ कम्पनी काम गरिरहेका ३ महिला र ४ पुरुष गरि ७ नेपाली कामदार पक्राउ परेका थिए ।
कोरियामा अन्य देशको तुलनामा नेपाली अबैधानिक कामदार थोरै छन् । पछिल्लो चरणमा भने भिसा अवधि सकेर अबैधानिक बस्ने नेपाली कामदारको संख्या बढ्दो छ । हालसम्म कतिको संख्या अवैधानिक बसेका छन् भने तथ्यांक नभए पनि करिब २ हजार नेपाली अवैधानिक रहेको अनुमान गरिएको छ ।
ईकान्तिपुरबाट