
काठमाडौं, भदौ २२- दक्षिण कोरियामा रोजगारीका लागि गएर फर्केका नेपाली कामदारले स्वदेशमै व्यवसाय गरेर मासिक झन्डै २ लाख रुपैयाँ आम्दानी गरेका छन् । यो कोरियाको भन्दा बढी कमाइ हो । कोरियामा १ लाख ५० हजार रुपैयाँ कमाइ हुन्छ ।
कोरियामा सिकेको सीप र पुँजी उपयोग गरेर राम्रो आम्दानी गरेका हुन् । ३ वर्ष दक्षिण कोरियाको एयरलायन्स कम्पनीमा लन्ड्री काम गरेका गुल्मीका होमनाथ भट्टराईले ट्राभल एजेन्सी र गोरखामा गाई फार्ममा लगानी गरेका छन् । कोरियाको सीप उपयोग गरी व्यवसाय गर्दा राम्रो आम्दानी हुने गरेको भट्टराई बताउँछन् ।
“कोरियामा मासिक डेढ लाख रुपैयाँ कमाइ हुन्थ्यो । यहाँ व्यवसायबाट मासिक २ लाखजति नाफा हुन्छ,” उनले भने, “विदेशमा कामदार भएर काम गर्नुपथ्र्यो, यहाँ आफैं मालिक हुनुको छुट्टै मजा छ ।” भट्टराईको काठमाडौंको ठमेलमा ट्राभल र ट्रेकिङ एजेन्सी छ भने गोरखामा जग्गा लिजमा लिएर गाई फार्म सुरु गरेका छन् । उनका अधिकांश ग्राहक कोरियाली हुन् । भूकम्पपछि भने पर्यटक घटेकाले व्यापार केही खस्केको उनी बताउँछन् ।
भैरहवाका गम्भीर गुरुङले भैरहवामा बोर्डिङ स्कुल र काठमाडौंमा कृषि क्षेत्रमा लगानी गरेका छन् । उनी ९ वर्ष दक्षिण कोरियामा काम गरी फर्केका हुन् । “मैले कोरियामा जति काम गरेर कमाइ गरें, त्यो पुँजीको रूपमा परिणत गरी लगानी गरेको छु,” गुरुङ भन्छन्, “कमाइ पनि राम्रै छ, इज्जत पनि छ ।”
गुरुङले सञ्चालन गरेको फ्युचर लाइट बोर्डिङ स्कुलमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारका सन्ततिलाई छात्रवृत्ति दिइएको छ । “कामदारको विदेशमा काम गर्दागर्दै मृत्यु हुन्छ, छोराछोरी पीडित हुन्छन् । त्यसैले छोराछोरीलाई छात्रवृत्ति दिएको हुँ,” गुरुङले भने, “पिछडिएका बालबालिकालाई छात्रवृत्तिको कार्यक्रम विस्तार गर्ने योजना छ ।”
गुल्मीकै रामकान्त अर्यालले नवलपरासीमा पोल्ट्री फार्म र रियलस्टेट व्यवसाय गरेका छन् । उनले रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत कोरियामा ५ वर्ष काम गरे । “कोरियाको कमाइलाई व्यवसायमा लगानी गरें,” उनले भने ।
कोरियामा गार्मेन्टको काम गरेका काठमाडौंका नवराज भण्डारीले झोला उद्योग खोलेर रोजगारी सिर्जना गर्नुका साथै राम्रो आम्दानी गरेका छन् । उद्योगमा ३० जनाले रोजगारी पाएका छन् । “काठमाडौंको कालोपुलमा सनराइज ट्रेडर्स झोला व्यवसाय ४० लाखबाट सुरु गरेको थिएँ, अहिले वार्षिक कारोबार नै डेढ करोड रुपैयाँ पुग्छ” १० वर्ष कोरिया बसेका भण्डारी भन्छन्, “यो दक्षिण कोरियाको सीप र पुँजीको उपज हो ।”
झोला उद्योगमा ताइवानको कच्चा पदार्थ प्रयोग गर्ने गर्छन् । “केही स्पेसल झोलाको अर्डर आउँछ । त्यसले व्यापार झन् बढाउँछ,” उनले भने । कोरियाभन्दा यहाँ राम्रो कमाइ हुने गरेको उनी बताउँछन् ।
पोखराका हरिप्रसाद धमालले उच्च गुणस्तरका बाथ टब, झ्याल र ढोका उत्पादन गर्ने उद्योग खोलेका छन् । “उद्योगबाट राम्रो कमाइ हुन थालेको छ,” ४ वर्षदेखि पोखरामा व्यवसाय गरेका धमाल भन्छन्, “अझै विस्तार गर्ने योजनामा छु । वार्षिक कमाइ ५०/६० लाख रुपैयाँ हुन्छ ।”
भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि कोरियाबाट कच्चा पदार्थ ल्याउने तयारी रहेको धमाल बताउँछन् । “भूकम्पका कारण भूकम्प प्रतिरोधात्मक घर बनाउनुपर्छ भन्ने सोच विकास भइसकेको छ,” उनले भने “त्यसकारण डाँडामा भूकम्प प्रतिरोधात्मक घर बनाउने योजना छ ।” विदेशबाट फर्केका मिनोद मोक्तान पनि काठमाडौंमा रेस्टुराँ र इन्स्टिच्युट सञ्चालनमा लागेका छन् ।
कारोवारबाट