भाडा घटाउने सहमति 

काठमाडौं, भदौ २२ -यातायात व्यवसायी सहरी क्षेत्रमा गुड्ने सार्वजनिक सवारी साधनको भाडा २.२२ प्रतिशतले घटाउन राजी भएका छ। व्यवसायी र सरकारबीच सोमबार भएको बैठकमा उक्त सहमति भएको हो। 

बैठकमा सरकारले सार्वजनिक सवारीको भाडा २.२२ प्रतिशतले घटाउन प्रस्ताव गर्यौ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, व्यवसायीले यसमा सहमत भए। सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्ने विषयमा भौतिक तथा यातायात मन्त्रालय, विभाग र यातायात व्यवसायीबीच छलफल भएको थियो।

बैठकमा महानिर्देशक श्रेष्ठले २.२२ प्रतिशतले भाडा घटाउने प्रस्ताव राखेका थिए। सरकारले पेट्रोलियमको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा घटाउने गृहकार्य सुरु गरेको थियो। नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको थियो।

२.२२ प्रतिशतले भाडा घटाउने सहमति भए पनि यसअघि सरकार र व्यवसायीबीच भएको मौखिक सहमति अनुसार १३ रुपैयाँ ७२ पैसालाई आधार बनाउने कि १३ रुपैयाँलाई भन्नेमा सहमति हुन सकेको छैन।

श्रेष्ठका अनुसार यसअघिको समायोजनमा १३ रुपैयाँ ७२ पैसा न्यूनतम भाडा कायम गर्ने सहमति भए पनि ७२ पैसालाई अर्को समायोजनमा मिलाउने गरी १३ रुपैयाँ कायम गरिएको थियो। सोमबारको बैठकमा १३ रुपैयाँलाई आधार बनाएर घटाउने कि १३ रुपैयाँ ७२ पैसालाई बनाउने भन्नेमा व्यवसायी र सरकारबीच सहमति हुन नसकेको हो।

स्रोतका अनुसार बैठकमा सरकारले १३ रुपैयाँलाई आधार बनाएर भाडा दर समायोजन गर्ने प्रस्ताव राख्यो। व्यवसायीले १३ रुपैयाँ ७२ पैसालाई बनाउनुपर्ने प्रस्ताव गरे। व्यवसायीको प्रस्ताव अनुसार भाडा समायोजन गर्ने हो भने १२ रुपैयाँ ९७ पैसा हुन्छ। त्यस्तै सरकारको प्रस्तावअनुसार १३ रुपैयाँमा २.२२ प्रतिशत घटाउने हो भने १२.७१ पैसा हुन्छ।

व्यवसायीको प्रस्ताव अनुसार भाडा घटाउँदा उपभोक्ताले घटेको अनुभव नै गर्न नपाउने भएकाले यसपटकलाई १३ रुपैयाँलाई आधार मानेर घटाई १२ रुपैयाँ बनाउने र ७१ पैसालाई अर्को समायोजनमा मिलाउने प्रस्ताव गरेको श्रेष्ठले बताए।

कुन मूल्यलाई आधार बनाएर भाडा दर कायम गर्ने भन्नेमा व्यवसायीले मंगलबार बैठक गरेर आफ्नो निर्णय दिने छन्। उनीहरूको निर्णय आएपछि भाडा दर कायम हुनेछ।

चाडपर्व आउन थालेको र पेट्रोलियम पदार्थको मूल्य घटिरहेकाले १२ रुपैयाँ बनाएर उपभोक्तालाई केही राहत दिउँ भन्ने हाम्रो राय हो, श्रेष्ठले भने। व्यवसायीको राय आएपछि विभागले मन्त्रालयमा भाडा घटाउन प्रस्ताव गर्नेछ। यसअघि पेट्रोलियम पदार्थको मूल्य घटेको आधारमा वैज्ञानिक भाडा दर कायम गर्न २.३ प्रतिशत घटाइएको थियो।

पेट्रेलियम पदार्थको मूल्य लगातार घटिरहे पनि लामो समयसम्म सार्वजनिक सवारी साधनको वैज्ञानिक भाडा दर कायम हुन सकेको छैन। निगमले ४–४ पटक डिजेलको मूल्य घटाए पनि विभागले न्यूनतम भाडा दर कायम गर्न सकेको छैन।

यसपटक सरकारले सार्वजनिक यातायातको भाडा घटाउन डिजेलमा मूल्य घटाउन प्रस्ताव गरेकाले १ रुपैयाँ घटाएको निगमले जनाएको छ। वैज्ञानिक भाडा कायम गर्न एक समायोजनपछि अर्को समायोजन हुन इन्धन मूल्यमा ५ रुपैयाँ अन्तर हुनुपर्ने नियम छ। त्यही पाँच रुपैयाँ अन्तर बनाउन निगमले डिजेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। यसअघि पटकपटक गरेर निगमले डिजेलको मूल्य ४ रुपैयाँ ५० पैसा घटाएको थियो। निगमले सामेबारदेखि डिजेलको भाउ प्रतिलिटर ८१ रुपैयाँ बनाएको छ।

विभागले गत माघमै तोकेको सार्वजनिक सवारी साधनको भाडा दर लागू गर्न सकेको छैन। निगमले डिजेलको मूल्य ८६ रुपैयाँ ५० पैसा बनाएको बेला सरकारले सार्वजनिक सवारी साधनको न्यूनतम भाडादर १३ रुपैयाँ कायम गरेको थियो। उपभोक्ताले भने १५ रुपैयाँ नै तिरिरहेका छन्।

विभागका अनुसार अहिले काठमाडौं उपत्यकाको भाडा दर न्यूनतम १३ रुपैयाँदेखि २५ रुपैयाँसम्म छ। यसअघिको दर अनुसार न्यूनतम ४ किलोमिटरसम्मको १३ रुपैयाँ लिने सरकार र व्यवसायीबीच सहमति भए पनि अहिले उपभोक्ताले कम्तीमा १५ रुपैयाँ तिरिरहेका छन्। १० किलोमिटरसम्म यात्रा गर्नेले १९ रुपैयाँ र त्यसभन्दा माथि यात्रा गरे २५ रुपैयाँ तिर्नुपर्ने नियम छ। 

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय