बैदेशिक रोजगारीमा जानेहरुलाई मद्धत गर्न अघि सरे पुन

काठमाडौं, भदौ २२- विदेश जाने तरखरमा हुनुहुन्छ ? फरक पृष्ठभूमि र बिरानो भूमिमा कसरी समायोजन हुने भन्ने तनावमा रहने जो कोहीका लागि अब विदेश जाँदा, त्यहाँ बस्दा र कमाइ पठाउने बेला अतिआवश्यक सूचना पाउन सहज हुँदैछ। 

हुन त अहिलेसम्म सरकारी तथा विभिन्न मेनपावर कम्पनीले विदेश जान खोज्ने युवायुवतीलाई सक्दो परामर्श दिइरहेको भेटिन्छ। तैपनि बिदेसिएका ठूलो संख्याका युवायुवतीले सामान्य सूचनाको अभावमा अनाहक ज्यान गुमाउनेदेखि लिएर ठगिने क्रम नरोकिएपछि एक उत्साही अभियन्ता महावीर पुनले वैदेशिक रोजगारीमा जाँदा सामान्यभन्दा सामान्य सूचनाको अभाव नहोस भनेर अभियान थालेका छन्।

वैदेशिक रोजगारीमा जानेका लागि कस्ता सूचना आवश्यक पर्छन् र, ती सूचना ग्रामीण भेगबाट पहिलोचोटि काठमाडौं आइपुगेको व्यक्तिलाई दिएर कसरी वैदेशिक यात्रा फलदायी बनाउन सकिन्छ भनेर अध्ययन भइरहेको छ, सूचनाको क्षेत्रमा वायरलेस प्रविधि विकास गरेर संसारभरि नाम चम्काएका म्यागसेसे पुरस्कार विजेता तथा अशोका फेलो पुनले भने, वैदेशिक यात्रामा रहेको ठूलो समूह सामान्य सूचनाको अभावले कैयौं पीडा र समस्यामा परेको देखियो। उनीहरूलाई केही सहयोग गर्न सकिन्छ कि भनेर यो अभियान सुरु गरिएको हो। उनका अनुसार अहिलेसम्म करिब ६० प्रतिशत काम सकिएको छ। आम सर्वसाधारणले सेवा लिन अब ५-६ महिनाभन्दा बढी कुर्नु पर्दैन, पुनले भने, देशको अर्थतन्त्रको मेरुदण्ड बनेको वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनु सबैको कर्तव्य हो।

पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या जसरी बढिरहेको छ त्यसरी नै विदेशमा रहँदा ज्यान गुमाउने, अंगभंग हुने तथा स्वदेशीरविदेशी दलालबाट ठगिने क्रम बढेको छ।

श्रम तथा रोजगार मन्त्रालयले बिदेसिने युवायुवतीलाई लक्ष्य गरी विभिन्न कार्यक्रम गरिरहेको घोषणा गरिरहँदा वैदेशिक यात्रामा रहेका कैयौं विमानमा यात्रा गर्ने र विदेशबाट कसरी पैसा पठाउने भन्ने जानकारी समेत नपाएका प्रशस्त उदाहरण भेटिन्छन्। विदेश मोहमा कतिपयले भएको सम्पत्ति सिध्याएका घटना पनि नेपाली समाजमा सामान्य भइसकेका छन्।

विदेशबाट फर्केका भुक्तभोगीका अनुसार वैदेशिक रोजगारीमा रहेकामध्ये आधाजसो सामान्य सूचनाको अभावमा कतै ठगिएका हुन्छन् त कतै शारीरिक र मानसिक पीडामा हुन्छन्। पुनका अनुसार कतिपय व्यक्तिले कुन देश जाने, त्यहाँ गएर के काम गर्ने भन्ने जस्ता कुराको जानकारी नपाई घर छाडेका हुन्छन्। कुन देश जाने ? र, त्यहाँ गएर के काम गर्ने भन्नेसमेत जानकारी नपाएको व्यक्तिले विदेशमा कस्तो पीडा भोग्नुपर्ला ? उनी भन्छन्, त्यस्तो अवस्थामा पुगेको जो कोही व्यक्तिको अस्तित्व मानिस सरह कसरी हुन सक्ला ?

विदेशमा भोग्नेको यस्तै पीडा सम्झेर केही न केही गर्नु पर्यो भन्ने सोचले अभियान सुरु गर्न दबाब परेको उनले सुनाए।

वैदेशिक यात्रामा जानुअघि दिइने परामर्श निःशुल्क हुने पुनको भनाइ छ। अभियान सञ्चालनको निरन्तरता र टिकाउको उपाय पनि पुनले निकालिसकेका छन्। परामर्श दिनुको उद्देश्य आर्थिक आर्जन गर्नु होइन। अभियानलाई बचाउन बढीमा ५०–१०० रुपैयाँ सहयोग दिए पुग्छ, उनले भने, कसैलाई ५०–१०० रुपैयाँ पनि तिर्न गाह्रो पर्छ भने केही छैन। हाम्रो मुख्य उद्देश्य वैदेशिक यात्रालाई सुरक्षित बनाउने सूचना बाँड्ने हो।

पुनले नेपालका युवायुवती जाने अधिंकाश मुलुकको जानकारी उपलब्ध गराउने तयारी गरेका छन् । श्रम तथा रोजगार मन्त्रालयका अनुसार हाल नेपालबाट दैनिक १५ सय बढी युवायुवती बिदेसिन्छन्। विदेश जान खोज्नेका लागि आवश्यक पर्ने सूचना मोबाइल एप, वेबसाइट जस्ता सञ्जालको साथै गोष्ठी, सेमिनार आयोजना गरेर उपलब्ध गराइनेछ।

व्यक्तिको क्षमताअनुसार पनि कुनैलाई थोरै त कुनैलाई अलि धेरै सूचना आवश्यकता पर्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ। पुन भन्छन्, बिए, एमए अध्ययन गरेको व्यक्तिको तुलनामा अशिक्षित व्यक्तिलाई वैदेशिक रोजगारीबारे धेरै सूचना चाहिन्छ। जसलाई जति सूचना चाहिन्छ। कुनै झन्झटबिना सबै उपलब्ध गराउँछौं। वैदेशिक रोजागारीपछि फर्केका व्यक्तिका अनुसार स्वदेशबाट हेर्दा विदेशको कमाइ जसरी सहज देखिन्छ, यथार्थ त्यसको उल्टो छ।

स्वदेशमा रहँदा गरिएको अनुमान उहाँ पुग्दा केही पनि मिल्दैन। भुक्तभोगीका अनुसार वैदेशिक यात्रामा दुःख पाउनुमा आफू जाने देशको भाषा, संस्कृति, धर्म, कानुन, रहनसहन जस्ता पक्षको ज्ञान नहुनु मुख्य कारण हो। त्यस्तै कतिपयले विदेशबाट रकम पठाउने तरिका थाहा नपाउँदा हुन्डीको सहारा लिइरहेको बताइन्छ।

पुनले वैदेशिक रोजगारीमा रहेका व्यक्ति बिरामी हुँदा जानकारी उपलब्ध गराउन हटलाइनको व्यवस्था गर्ने तयारी गरेका छन्। हामी सकेसम्म विदेश यात्रामा रहेकालाई धेरैभन्दा धेरै सूचना उपलब्ध गराउन चाहन्छौं, उनले भने, वैदेशिक रोजगारीमा जानेमध्ये दैनिक ४-५ सयलाई सूचना उपलब्ध गराउने सामर्थ्य हामीसँग छ। बिदेश जाँदा सही समयमा सही सूचना उपलब्ध गराउने उक्त अभियानमा सहयोगीको रूपमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई नै लिइएको छ।

वैदेशिक रोजगारीमा रहँदा भोगेका अनुभव नयाँका लागि फलदायी हुने भएकाले विदेशमा बसेका थुप्रै नेपालीले यस अभियानमा सहयोग गर्ने अपेक्षा गरिएको छ। पुनले सरकारी निकायले अभियानमा साथ दिन सक्ने उल्लेख गर्दै यसको निरन्तरताको जिम्मेवारी पनि सरकारी निकाय नै भएको बताए। सरकारले हामीसँग मिलेर काम गर्न चाहन्छ भने विस्तारै यो सिस्टम सरकारलाई नै बुझाउँछौं, उनले भने। गर्न थालिएको काम नयाँ र फरक भए पनि पुनले त्यसलाई सफल बनाउने प्रतिबद्धता जनाए।

काम गर्न चुनौती भए पनि सिक्दै र थप्दै गएर सेवा प्रदान गर्छौं, उनले प्रस्ट्याए, यो कुनै एक व्यक्तिको मात्र नभई सिंगो देशको समस्या हो। अभियानमा सबैको होस्टेमा हैंसे हुनेछ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल पनि पुनको कदमलाई राम्रो भन्छन्। विदेशबारे प्राप्त हुने सबै सूचना सही नहुन सक्नेतर्फ समेत ध्यान दिनु आवश्यक रहेको उनले बताए।

पछिल्लो समय विदेशमा रहेका कतिपयले सामान्य समस्यालाई पनि चर्को मुद्दाको रूपमा उठाउने परिपाटी सुरु भएको छ, उनले भने, एकतर्फी सूचना सम्प्रेषण नहोस् भनेर ध्यान दिन उत्तिकै जरूरी छ।

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय