कुन जिल्लाबाट विदेसिए धेरै ? 

काठमाडौं, भदौ २१- वैदेशिक रोजगारीमा सबैभन्दा बढी युवा धनुषा जिल्लाबाट गएका छन् । आर्थिक वर्ष २०७१-७२ मा धनुषाबाट मात्रै २२ हजार दुई सय ९७ जना काम गर्न विदेश गएका छन् । अन्य जिल्लाको तुलनामा यो संख्या निकै बढी हो ।

धनुषासहित कामको खोजीमा विदेसिनेमा प्रमुख १० जिल्लामध्ये सात जिल्ला देशको पूर्वी क्षेत्रकै परेका छन् । यो तथ्यांकले वैदेशिक रोजगारीमा जानेमा पहाडी जिल्ला पछाडि रहेको देखाएको छ । 

तराई, त्यसमा पनि पूर्वी क्षेत्र सबैभन्दा अगाडि आएको छ । धेरै युवा वैदेशिक रोजगारीमा पठाउनेमा दोस्रो स्थानमा परेको झापाबाट १८ हजार दुई सय १४ जना गएका छन् । रोजगार क्षेत्रका विज्ञका अनुसार पूर्वी तराईबाट विदेसिने प्रवृत्ति निकै पुरानो हो । 

धनुषा, झापा, मोरङलगायतका जिल्लाबाट केही वर्षअघिसम्म भारतको हरियाणा र पन्जाबलगायतका क्षेत्रमा अधिक युवा काम गर्न जाने गरेका थिए । अहिले त्यता जाने प्रवृत्ति घटेको छ । हरियाणा र पन्जाबको सट्टा मलेसिया र खाडी मुलुकमा जानेक्रम बढेको हो । अघिल्लो आर्थिक वर्ष २०७०-७१ मा पनि धनुषा नै वैदेशिक रोजगारीमा धेरै कामदार पठाउने सूचीको पहिलो नम्बरमा परेको थियो ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले धनुषा, झापालगायतका जिल्लाबाट केही वर्षअघिसम्म भारतमा काम गर्न जाने युवा अहिले खाडी र मलेसियातर्फ लाग्न थालेकाले ती जिल्ला अग्रपंक्तिमा रहेको बताए ।

पहाडी क्षेत्रबाट तराईतिर बसाईंसराईं गर्ने र त्यहाँबाट फेरि वैदेशिक रोजगारीमा जानेक्रम पुरानै हो । भारतभन्दा धेरै कमाई गर्न सकिने अपेक्षामा त्यही विदेसिने संख्या अहिले खाडी र मलेसियामा लागेको हो,’ उनले भने । यसबाहेक पूर्वी तराईका अधिकांश जिल्लामा तुलनात्मकरूपमा जनसंख्या, गरिबी र बेरोजगारीदर समेत धेरै भएकाले काम खोज्दै मुलुक छाड्ने युवा धेरै भएका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार गएको वर्ष धेरै कामदार जाने तेस्रो जिल्लामा मोरङ सूचीकृत भएको छ । यो जिल्लाबाट १७ हजार ६ सय ८२ जना विदेसिएका छन् । गत वर्ष धनुषाबाट २२ हजार दुई सय ९७ जना गएकोमा कतारमा मात्रै नौ हजार ६ सय ४१ जना पुगेका छन् । यसैगरी, साउदी अरेबियामा ६ हजार २० र मलेसियामा चार हजार आठ सय २९ जना गएका छन् ।

गएको वर्ष धनुषा पहिलो नम्बरमा परे पनि आर्थिक वर्ष २०७०-७१ को तुलनामा भने यो जिल्लाबाट विदेसिनेक्रम केही घटेको छ । यस वर्ष २३ हजार ९९ जना धनुषाबाट मात्रै वैदेशिक रोजगारीमा गएका थिए । यसैगरी, अघिल्लो वर्ष झापाबाट १९ हजार चार र मोरङबाट १८ हजार ६ सय ७८ खाडी र मलेसियालगायतका देशमा श्रम गर्न पुगेका थिए ।

विगतमा म्यानपावर कम्पनीले कामदारसँग चर्को असुलेर रोजगारदाता मुलुकका एजेन्टलाई कमिसनमार्फत धेरै युवा पठाउने गरेको भए पनि आगामी दिनमा भने संख्यामा गिरावट आउने संकेत देखिएको छ । सरकारले यस वर्षदेखि निःशुल्क टिकट र भिसा दिएरमात्र वैदेशिक रोजगारीमा पठाउन पाउने व्यवस्था लागू गरेको छ ।

यस प्रावधानअनुसार व्यक्तिसँग चर्को शुल्क असुलेर पठाउन नपाउने भएकाले यतिबेला म्यानपावरले मलेसिया र खाडी मुलुकबाट अपेक्षा अनुसार कामदारको डिमान्ड ल्याउन सकेका छैनन् । हाल वैदेशिक रोजगारीमा ४० लाख नेपालीले काम गरिरहेका छन् । अर्थतन्त्रमा रेमिट्यान्सको २२ प्रतिशतभन्दा बढी योगदान छ । गएको वर्षमात्रै चार लाख ५० हजार ७७ जना काम खोज्दै विदेसिएका छन् । 

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय