
काठमाडौं, भदौ १८ : केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले सार्वजनिक सवारीको भाडादर तत्काल घटाउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको यस्तो निर्देशनपछि बिहीबार मुख्यसचिव डा.सोमलाल सुवेदीको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक सवारीको भाडा घटाउने निर्णय गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटेकाले बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी भाडा समायोजनको व्यवस्था गर्न मन्त्रीपरिषद्को कार्यालयले निर्देशन दिएको छ ।
सुवेदीको अध्यक्षतामा बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा सोही अनुपातमा सार्वजनिक सवारीको भाडा वैज्ञानिक रुपमा समायोजन हुने व्यवस्था मिलाउन पनि यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
सरकारको लाचारिपन तथा यातायात व्यवसायीको मनोमानीका कारण पटक–पटक तेलको मूल्य घटेपनि सार्वजनिक सवारीको भाडादर भने घटेको छैन । नेपाल आयल निगमले मंगलबार पेट्रेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा र डिजेलमा २ रुपैयाँ मूल्य घटाए पनि सवारीभाडा भने घटेको छैन ।
पेट्रोल प्रतिलिटर १११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल प्रतिलिटर ८८ रुपैयाँ हुँदा सरकारले सार्वजनिक यातायातको भाडा २.०३ प्रतिशत घटाएयता पेट्रोल १०४ र डिजेल ८२ रुपैयाँमा आइपुग्दा पनि भाडा घटाउन भने सरकारले चासो देखाएको छैन । जसका कारण उपभोक्ता मारमा परेका छन् ।
कारोवारबाट