रविन्द्र मिश्र कतार आउदै 

रवि रोषी, दोहा, भदौ १६- वि.वि.सी. नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र आगामी सेप्टेम्बर २५ मा कतारमा हुन गईरहेको एक विशेष कार्यक्रमको लागि कतार आउने भएका छन् । परोपकारी अभियान सञ्चालनमा ल्याएका मिश्र हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष समेत हुन् । 

मिश्रलाई कतारबाट सञ्चालनमा आएको परोपकारी पत्रकारिता र अभियानलाई बढि जोड दिंदै कतारबाट सञ्चालनमा आएको रेस्क्यु न्युज अनलाईन टिमले कतार आउने प्रवन्ध मिलाएको हो ।

कतारमा विभिन्न पेसामा आवद्ध व्यक्तित्वहरुले समय समयमा नेपालमा आइपर्ने दैवी विपत्तीको अवस्थामा आर्थिक, भौतिक सहयोग पुर्याई योगदान दिनेहरु, नेपालको विभिन्न दुर्गम जिल्लाको शिक्षा, स्वास्थ्य लगायत दीनदुखीहरुको उपचारको लागि सहयोग गर्नेलाई विशिष्ट सम्मानबाट विभूषित गर्न लागिएको व्यवस्थापक तथा संरक्षक राजन श्रेष्ठले बताए ।

यसको अलावा कतारमा रहेर खेलकुद, साहित्य, गीत, संगीत, नृत्य तथा सामाजिक अभियानमा योगदान दिने व्यक्ति तथा संस्थाहरु, कतारमा अलपत्र परी घर जान नसकेका नेपालीलाई आर्थिक सहयोग तथा खाद्यान्न सहयोग गर्ने सहयोगदाताहरु, कतारमा नै दुर्घटनामा परी ज्यान गुमाउन पुगेकाका आश्रित परिवारलाई सहयोग गर्ने दानदाताहरुलाई पनि सम्मानित गर्ने कार्यक्रम छ । 

कम्पनीको लापरवाहिले जागिरबिहिन भई मुलुक फर्किन नसकेका पिडित नेपालीहरुलाई हवाई टिकट दिएर सहयोग गर्ने सहयोगदाताहरु र विभिन्न जातिका साँस्कृतिक पहिचानलाई प्रवासमा पनि जिवन्त राख्न योगदान दिने व्यक्ति, समूह तथा संस्थाहरुलाई विशिष्ट आदर सहितको सम्मानपत्र परोपकारी अभियानका अभियन्ता रविन्द्र मिश्रले प्रदान गर्नेछन् । 

कतारमा गर्न लागिएको सो विशिष्ट सम्मान कार्यक्रमको आयोजना रेस्क्यु न्युज अनलाईनले गर्न लागेको हो । यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न अनलाईन टिमका सम्पुर्ण व्यक्तिहरु आआफ्नो क्षेत्रबाट जिम्मेवारी निभाउनको लागि कामको बाँडफाँट भइसकेको अध्यक्ष पुर्ण केसीले बताए ।

“हामीले दुःख परेका नेपालीहरुको विपद टार्न कतारमा माग्न मात्र जान्यौं । सहयोगी संस्था, समूह तथा दानदाताहरुको सहयोगको स्मरण, मूल्यांकन र कदर गर्ने परम्परा कहिलै थालनी गर्ने सोच नै बनाएनौं । दाताहरुको सम्मानको लागि यसो गरिनु न्यायिक हुने आशयले नै विशिष्ट सम्मान कार्यक्रम गर्न लागिएको हो” अध्यक्ष केसीले बताए ।

दोहाको होलिडे भिल्लामा हुन गईरहेको बृहद विशिष्ट सम्मान कार्यक्रम यहि आउँदो सेप्टेम्बर २५ तारिख शुक्रवारका दिन विहान १० बजेबाट प्रारम्भ हुने जानकारी दिइएको छ । सम्मान पाउने व्यक्तित्वहरुमा विगत १८ बर्ष देखि कतारमा रहेर नेपाली समाजको लागि अतुलनीय योगदान दिने व्यक्तित्व देखि लिएर सामान्य श्रमिक पेसामा आवद्ध सहयोगीहरु रहेका छन् । 

यस अवधिमा संकलित अभिलेखमा छुटेका अन्य व्यक्ति, समूह संस्थाको योगदानको अभिलेख दुतावासबाट लिने काम र प्राविधिक कारणबाट छुुट्न गएका हरुलाई अर्को बर्षको यस्तै अभियानमा समेटेर सम्मान गर्ने कुरा अध्यक्ष केसीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय