गरिखान देउ भन्दै भारत पसे युवा

काठमाडौं, भदौ १६- कैलालीको त्रिनगर भन्सार नाकाबाट मंगलबार पनि थारू युवाहरूको लर्को भारतीय सीमातिर रोकिएको थिएन । यसरी भारततिर पलायन भइरहेका उनीहरूले आन्दोलनमा सहभागी हुनुपर्ला भन्ने डरले गाउँ छोडेको बताएका छन् ।

टीकापुरको हिंसात्मक घटनापछि कैलालीको ग्रामीण बस्तीमा बसोबास गर्ने सोझा थारू समुदाय यतिबेला त्रासपूर्ण वातावरणमा छन् । थरुहट पक्षधरको आन्दोलनमा सहभागी भएकै कारण सुरक्षाकर्मीको धरपडकसँगै अर्को आन्दोलनरत पक्षको डरले पनि गाउँ छोडिरहेको उनीहरूले बताए ।

‘प्रहरी प्रशासनको दमनले भन्दा आन्दोलनकारीको डरका कारण गाउँ छोड्नुपरेको हो,’ कैलाली सुख्खडका २१ वर्षीय भीम चौधरीले भने, ‘थरुहट आन्दोलनमा जानुपर्ने अनिवार्य उर्दी छ, घरमा बसे जानु नै पर्छ । आन्दोलनमा जान ज्यानको डर लाग्छ । घरबाट पनि केही समयको लागि इन्डिया जाऊ भने । त्यसैले जान लागेको हुँ ।’ यसरी कैलालीका दंगाग्रस्त घोषित गाविस क्षेत्रका थारू युवा कामको खोजीको बहाना गर्दै आन्दोलनबाट जोगिन भारत पस्न थालेका हुन् ।

त्यस्तै मसुरियाका जितबहादुर चौधरीले गाउँमा बसी नसक्ने अवस्था रहेको बताए । उनले टीकापुरको घटनापछि गाउँघर अहिले संकटकालको अवस्थाजस्तो भएको बताए । ‘संकटकालमा माओवादी जबरजस्ती अभियानमा लैजान्थे, प्रहरी र सेना अभियानमा किन गएको भन्दै समात्ने गथ्र्यो,’ उनले भने, ‘अहिले गाउँमा यस्तै स्थितिजस्तो छ ।’ उनले आन्दोलनकारीले फेरि आन्दोलनमा अनिवार्य सहभागी हुन उर्दी जारी गरेको बताए ।

आन्दोलनमा प्रहरीसँगको मुठभेडमा परेर ज्यान जाने डरले गाउँ छोड्न थालेको अर्का थारू युवा आशारामले बताए । उनका अनुसार गाउँमा अहिले पुरुषहरू बाहिरिन लागेका छन् । भारतका विभिन्न सहरमा काम गर्ने थारूसँग सम्पर्क गरेर काम खोज्दै भारततिर पस्न लागेको दयाराम चौधरीले बताए । ‘अधिकार र प्रदेश नेतालाई चाहिन्छ, हामीलाई घरजग्गा भए हुन्छ,’ उनले भने, ‘गरिखान त दिए हुन्थ्यो ।’

मंगलबार २५ जनाको संख्यामा थारू युवा एकसाथ भारत पसे । उनीहरूले भारतको रतनानगर भन्ने स्थानमा जान लागेको बताए । सोमबार ५६ जनाको संख्यामा थारू युवा त्रिनगर भन्सार नाकाबाट भारतको रत्नानगर नै गएका हुन् । त्रिनगर प्रहरी चौकीका प्रहरी सइ जीवन गुरुङका अनुसार सोमबार र मंगलबार भारत पस्ने युवामा अधिकांश टीकापुरलगायत दंगाग्रस्त क्षेत्रका छन् । उनले भने, ‘उनीहरूमध्ये कोही टीकापुर घटनामा संलग्न छन् कि भनेर सोधपुछ गरी छोडेका छौं ।’

टीकापुर क्षेत्र आसपास बसोबास गर्ने थारू युवा कर्फ्यु हटेको समयमा राजमार्गसम्म साइकलमा आई बसमा चडेर धनगढी भन्सार नाका पुग्ने गरेका छन् । उता टीकापुरको खक्रौला नाकामा प्रहरीले सुरक्षा कडा पारेपछि भारत पस्न धनगढी नाकाबाटै सजिलो हुने भएकाले यतैबाट जान लागेको उनीहरूले बताए ।

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय