यसले मेरो हुनेवाला श्रीमानलाई पनि पक्कै गर्व हुन्छ(भिडियो सहित)

मेरो नाम सावित्रि परियार हो, मेरो घर लेखनाथ १ भण्डारढिकमा (कास्की) छ । मैले एसएलसीसम्म मात्रै पढेँ । हातमा सीप थिएन । घरको अवस्था उतिसारो राम्रो थिएन । काम त गर्नु पर्ने के काम गर्ने मन सधैं भौतारिरहन्थ्यो । न भनेको लाउन पाईने, न खान पाईने न भनेको ठाउँमा जान नै पाईने । घरै बस्थें । मन सधैं के गरुँ र कसो गरुँ भन्दै आत्तिन्थ्यो । यत्तिकैमा पञ्चकन्या ट्रेनिङ एण्ड ट्रेडिङ् ईन्स्टिच्युटले तालिम दिदैं छ भन्ने साथीहरुबाट थाहा पाएँ । तल लाईबेरीमा तालिम आएको छ भन्ने थाहा पाएँ । तालिम लिन पनि त पैसै चाहिने होला, त्यसमाथि म नपढेको मान्छे के तालिम होला र मेरो लागि जस्तो लाग्यो । तै पनि बुझ्न त जान्छु भनेर गएँ । अहिले त कम्प्युटरको जमाना छ । जे काम गर्न पनि नपढिकन त नहुने । म जस्तो कम पढेको मान्छेले के गर्ने त भन्ने सोच्दै थिएँ । हाते कडाईको तालिम ठिक हुन्छ जस्तो लाग्यो । अरु तालिम गर्न त पढ्नु पनि पर्यो । यसमा त मेरो जत्तिको पढाईले पनि हुने भो । त्यहि भएर यो तालिम लिन फर्म भरें । अन्र्तवार्ता हुँदो रैछ । थुप्रै जनाबाट म पनि छानिएँ । तालिम सिक्दा शुरुमा त साह्रै दुःख भयो । यो कुरुसमा धागो बेर्ने सिकाउँदा त यस्तो हैरानी भो हात दुखेर कुम कुम दुखेर म त नजाउँ क्या हो सिक्न जस्तो पनि भो । निहुरिएर काम गर्दा गर्धन दुखेर उस्तै हैरान । पहिला रेसमी धागोको बुट्टा भर्न सिकाउनु भो । दिनको ६ घण्टा ३ दिनसम्म उही काम गर्दा त हैरान हुने नी । एक महिना पछि बल्ल सितारा पोते भर्न सिकाउनु भयो । रिङ्मा सिकाउनु भो । दिनभरीमा एउटा कुरुसको सितारा पोते पनि झार्न नसकिने । म्याडमले आफैले भरेको कुर्ता लगाएर आउनुहुन्थ्यो । त्यस्तो कहिले हुने होला जस्तो लाग्ने शुरुमा त आत्तिएरै हैरान भयो नी । दुई महिनासम्म त साहै्र गाह्रो भो । काम गर्न कहाँ सजिलो हुन्छ र ? अहिले बो बुझ्दैछु । यो एक किसिमको कला पनि हो । बजार तिर हिड्दा कसैको कपडामा राम्रो बुट्टा देखेँ भने घरमा आएर उतारी हाल्छु । त्यहि सम्झेर डिजाईन पार्छु । किन यहि तालिम ? यसो बाटो तिर हिंड्दा पनि राम्रा बुट्टा भएको कपडा लगाएको मान्छे देख्यो भने आहा कसरी बनाएको होला ? यस्तै सिक्न पाए त भन्ने पनि लाग्थ्यो । मनमा भएको कुरालाई कतै न कतैबाट साथ हुँदो रैछ क्यारे । तालिम पनि त्यस्तै लिन पाईयो । तालिमबाट म सन्तुष्ट पनि छु । कामहरु आईराखेको छ । अहिले कसरी अघि बढेको छ त काम ? पहिला शुरुमा त आफैंले लगानी गरेर शुरु गरें । कपडामा बुट्टा भरेर झुण्ड्याएर राखेपछि बाटो हिंड्ने मान्छेहरुको पनि आँखा पर्दो रैछ । अनी कसैले कपडा पनि ल्याईदिनु हुन्छ । मेरो सादा साडीमा भरिदेउ भनेर पनि दिनुहुन्छ । मैले पोखराबाट होलसेलमा कपडा ल्याएर पनि दिन्छु । कसैले आफैं ल्याईदिनुहुन्छ ।Sabitri 4 लगानी कति ? शुरुमा त धेरै लगानी लागेन । तालिम पञ्चकन्याले दिई हाल्यो । तालिम दिएपछि लगानी गर्ने पैसा हुँदैन नी अनी पञ्चकन्याले नै सहयोग गर्यो । तालिम शुरु हुनु अघि नै पाँच हजार बराबरको सामान पाउने भनेर भनिएको थियो । यो तानको आठ हजार पर्छ रे, पञ्चकन्यालेनै दियो । मैले १० हजार रुपैंया जति लगानी गरेर एक एक वटा स्याम्पल सामान राखेँ । सितारा, पोते, कुरुस, ब्लाउज, साडी, कुर्ता होलसेल भाउमा एउटै पसलबाट ल्याएँ । ब्लाउज, साडी, कुर्तामा छुट्टा छुट्टै बुट्टा भरेँ । पहिला कस्तो हुने हो आफैंलाई पनि थाह थिएन नी त । त्यसैले थोरै थोरै सामान ल्याएँ । मेरो बुट्टाहरु देखेपछि मान्छेले मन पराए । मेला महोत्सव हुँदा राख्छु, विवाहको सिजनमा अझै धेरै हुन्छ । पसल नै गर्नु पर्छ भन्ने पनि हुँदो रैनछ । घरै पनि आउँछन् मान्छेहरु । म बजारको भन्दा भाउ मिलाएर दिन्छु । अनी मान्छेलाई बजारसम्म पुग्नै परेन आफ्नै ठाउँमा काम हुने भो । अहिले त अर्डर पनि थुर्पै आएको छ । बाहिर जानै पर्दैन घरमै काम आउँछ । दिनमा कति घण्टा काम ? थोरैमा ६–७ घण्टा । यो बनाईराखेको कुर्ता हो । यो कुर्तालाई काम सक्न २ दिन लाग्छ । कपडा ग्राहकै हो । यो कुर्तामा बुट्टा भरेको २ हजार रुपैंया लिन्छु । यसमा त्यस्तै ३ सय रुपैंयाको सामान खर्च हुन्छ । अरु मेरो मेहेनतको पैसा हो । धेरै समय निहुरीएर सियो, कुरुससँग चल्नु पर्छ । त्यसैले मेहेनत धेरै पर्छ ।Sabitri 1 कमाई कति छ त ? महिनामा २० –२५ हजार रुपैंया कमाउन थालेको छु । घरैमा बसेर यति कमाउनु राम्रो हो नी । मेरो हातमा सीप हुन्थेन भने कहाँ कमाई हुन्थ्यो र ? न पढे पनि हातमा एउटा सीप चाँही चाहिने रैछ । मलाई सीपले नै गरिखाने बनायो । जीवनको परिवर्तन ? धेरै कुरामा परिवर्तन भयो नी । पढ्न पनि छोडियो । अव कता गएर के गर्ने होला भन्ने मात्रै लाग्थ्यो । अरुले लगाएको देखेर आफूलाई पनि मन लाउने, अरुले खाएको देखेर आफूलाई पनि खान मन लाउने । अरुले लिएको सामान जस्तै लिन मन लाउने तर के गर्नु पैसा हुन्थेन । अहिले त साथीहरुले लगाएको देखेर मन लागे लिन पाईयो । भनेको ठाउँमा जान पाईयो । धेरै कुरामा परिवर्तन भयो नी । जे लगाउँदा, खाँदा, यता उता हिंड्दा बा आमाको भर पर्नु पथ्र्यो । अहिले अव आफ्नै खुट्टामा उभिएँ । बा आमाको भर पर्नु पर्दैन । केही लाउन मन लाग्छ भने आफैं किन्न सक्छु । यो तालिम सिकेर काम गर्न थालेपछि मैले धेरै कुरा जोडेको छु । ५५ हजार रुपैंया तोला हुँदा एउटा सिक्रि किने एक तोला कै । १० हजारमा एउटा मोवाईल किनेँ । आफूलाई लगाउने कपडा, यता उता हिड्दा हुने खर्च आफैंसँग भएपछि हिम्मत पनि बढ्दो रैछ । अर्काको आश गरेर कहिलेसम्म हुन्छ ? म त अहिले अरुको आश गर्न छोडिदिएँ । जीवन सुखमय हुँदै आएको छ अहिले । अव विहे गर्ने बेला भाको छ मेरी श्रीमती यस्ती काम गर्ने छ भनेर मेरो हुनेवाला श्रीमान् र उनको परिवारलाई पनि गर्व हुन्छ जस्तो लाग्छ । आफन्त र साथीले गर्ने ब्यवहार ? धेरै फरक छ नी । फलानाकी छोरी न पढि न केही गर्छे भन्थे । अहिले तालिम सिकेर आफ्नो खुट्टामा आफैं उभिएर बा आमाको भर पर्न छाडि । उल्टै आफैले वा आमालाई पनि धेरै सघाएकी छे भनेर भन्छन् नी । मैले धेरै सुनेको छु अहिले यस्तो कुरो ।Sabitri 5 कस्ता मान्छेले सिक्दा राम्रो ? ४० बर्ष भित्रकै आँखा देख्न सक्ने महिला त्यसमा पनि कम पढेको महिलालाइ साह्रै राम्रो काम हो यो । मलाई पनि सिकाईदे भन्दै आउने त थुप्रै छन् । योजना ? काम बढ्दो छ अव केही मान्छे राखेर यो ब्यापारलाई फैलाउने विचार छ । उद्योग जस्तै बनाउने केही मान्छे राख्ने काम गर्ने योजना छ । अर्को साल देखि मान्छे राख्छु । मेन ठाउँमा भाडा महँगो हुन्छ । मान्छे छिटो काम गर्ने खालको राख्न पर्यो । बुझ्दै छु । देशपरदेशका लागि श्रीधर पौडेलसँगको कुराकानीमा आधारित  (सावित्रि परियार रोजगार कोषअन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमका लाभान्वित युवा हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था पञ्चकन्या ट्रेनिङ एण्ड ट्रेडिङ् ईन्स्टिच्युटले सहयोग गरेको हो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को जुन अन्त्यसम्ममा रोजगार कोषले करिव एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) भिडियो हेर्नुहोस् 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय