मौरीमा मोह

बुटवल, साउन २१- थोरै लगानी, धेरै जग्गा पनि नचाहिने,दुःख पनि धेरै नहुने  तर आम्दानी निकै राम्रो हुने भएकाले रुपन्देहीमा मौरीपालन व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ । आकर्षण बढेसँगै चरन क्षेत्रको अभाव मुख्य समस्याको रुपमा खड्किएको छ ।  खेतीयोग्य जमिनको जथाभावी प्लटिङले खेत बांझै हुनु, तोरीको साटो तरकारी खेतीमा बढोत्तरी हुनु जस्ता कारणले मौरीको चरन क्षेत्र खुम्चिंदै गएपछि समस्या हुन थालेको हो । सरकारले अघिल्लो वर्षदेखि युवा लक्षित कार्यक्रम अन्तर्गत व्यवसायिक मौरीपालन गर्न इच्छुकलाई प्रति व्यक्ति २० घार मौरी निशुल्क प्रदान गर्न थालेपछि  रुपन्देहीमा मौरीपालन फार्म ६० भन्दा बढी पुगेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । कृषि विकास कार्यालयका मौरी विकास अधिकृत रामबहादुर खत्रीका अनुसार रुपन्देहीमा मौरी स्रोत केन्द्र ५ वटा र व्यवसायिक मौरीपालन फार्म ५५ भन्दा बढी छन् । जिल्लामा उन्नत जातका मौैरीका १५ सय घार रहेका छन् । घरमै परिवारसंग बसी–बसी मनग्ये आम्दानी हुने भएपछि रुपन्देहीमा एउटै किसानले दुई–अढाई सय घारसम्म मौरी पालेका छन् । रुपन्देहीको दुधराक्ष—५ रामापुरका फर्शुराम अधिकारीले गत वर्ष २ सय ६० घार मौरी पालेका थिए । जसमध्ये उनले नयां किसानलाई २ सय घार मौरी बेचेर ८ लाख रुपैंया आम्दानी गरे । अहिले उनीसंग ६० घार मौरी छन् । ‘मौरीका घार र मह बेचरे मात्रै वर्षेनी १०–१५ लाख रुपैंया आम्दानी सजिलै हुन्छ’– नेपाल मौरीपालक किसान महासंघका केन्द्रीय सदस्य समेत रहेका अधिकारी भन्छन्—‘घरमै बसेर सजिलो गरी राम्रो आम्दानी हुने देखेपछि मौरीपालनमा आकर्षण बढ्यो तर खेतको प्लटिङ र  तोरीको सट्टा तरकारी खेती बढ्न थालेपछि चरनको समस्या बढेको छ ।’ रुपन्देहीको सैनामैना मानमटेरियाका लिलाधर खनाल पनि मौरीपालनको आम्दानीबाट सन्तुष्ट छन् तर चरनको अभावले हैरानी बेहोर्न थालेका छन् ।  सरकारी शिक्षण पेशाबाट सेवानिवृत्त खनालले घरमा ६० घार मौरी पालेका छन् । ‘वर्षमा खर्च कटाएर ६–७ लाख आम्दानी गर्छु,सरकारी जागिरमा भन्दा पनि रमाइलो र सन्तुष्ट छु’–खनालले भने–‘तर अब चरन क्षेत्रको अभावले समस्या हुन थालेको छ ।’ खनालका अनुसार जेठ,असार,साउन,भदौ र असोज महिनामा मौरीलाई चरन क्षेत्रको अभाव हुन्छ । यी ५ महिना पोलेन,कुट जस्ता कृत्रिम आहार  खुवाएर पाल्नुपर्छ । अन्य महिनाहरुमा तोरी लगायत अन्य बालीमा चराउने गरिएपनि बढ्दो जग्गा प्लटिङ र तोरीको सट्टा तरकारी खेतीमा बढोत्तरी हुनु, तरकारी खेतीमा पनि विषादीको प्रयोगले मौरीलाई चरन क्षेत्रको अभाव हुन थालेको खनालले बताए । राम्रो मौसम भए एक वर्षमा एक घारबाट ६ पटकसम्म मह काढ्न मिल्छ । जसबाट डेढ क्विन्टल मह निकाल्न सकिन्छ । ‘महलाई बजारको कुनै समस्या छैन,आधाजति घरबाटै फुटकर विक्रि हुन्छ’–खनालले भने–‘बांकी पनि थोकमा किन्न घरमै आउंछन् ।’ रुपन्देहीको सिक्टहनमा २० बिघा जग्गामा ५० लाख लगानीमा गत वर्ष शुरु गरिएको सामुहिक बहुउद्देश्यीय कृषि उपज तथा विक्रि समूहले पनि यस वर्षदेखि ४० घार मौरी पालन शुरु गरेको फार्मका अध्यक्ष प्रकाश खनालले बताए । ‘राम्रो आम्दानी हुने भएकाले यसलाई बृद्धि गरी तीनसय घार पु¥याउने लक्ष्य छ’– खनालले भने । मौरीपालन व्यवसाय प्रवद्र्धन गर्न चरनको लागि पनि सरकारी सहयोग हुन आवश्यक रहेको मौरीपालक किसान महासंघका केन्द्रीय सदस्य फर्सुराम अधिकारीको माग छ । कारोेवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय