
चन्द्रपुर, साउन १८ – हलो जोत्नका अल्छीले घरबाट भागेर चन्द्रनिगाहपुर आएका अनिल कार्कीले चनाको सातु बेचेरै मनग्य आम्दानी गरेका छन्। मोरङको बयरवन घर भएका कार्की १७ वर्षअघि रौतहटको चन्द्रनिगाहपुर आएका हुन्। यहाँ उनले करिब १० वर्ष होटेलमा खाना पकाउने काम गरे। जागिरदेखि दिक्क भएपछि उनले आफैं केही गर्ने सोचले थोरै लगानी गरेर ठेला व्यापार सुरु गरेका थिए। कार्कीले भने, ‘हाल मासिक ४० देखि ५० हजारसम्म आम्दानी हुन्छ, परिवार आनन्दले चलेको छ, छोराछोरीलाई राम्रैसँग पढाउन सकेको छु। होटेलमा खाना पकाउने काम गर्दा बचत गरेको आठ हजार रुपैयाँले पुरानो ठेला किनेर व्यापार सुरु गरेका उनले यति बेला चन्द्रनिगापुर चोकमा चनाको सातु र खाजा बेच्ने व्यापार राम्रो चलाएका छन्। खानेहरूको भीड बिहानबेलुका उत्तिकै लाग्ने गर्छ। कार्कीले बिहान चनाको सातु र बेलुका रोटी, भेज मःमः,चाउमिनलगायतको खाजा बनाउने गरेका छन्। दैनिक करिब तीन हजार रुपैयाँसम्म व्यापार हुने र १५ सयभन्दा बढी नाफा आउने गरेको उनले बताए।छोरालाई उच्च शिक्षासम्म पढाउन सकेकोमा कार्की दम्पती निकै खुसी देखिन्छन्। घरबाट रित्तो हात आएका कार्कीले चन्द्रनिगाहपुरमा घडेरी किनेर पक्की घर बनाइसकेका छन्। उनले गाउँमा एक बिघा खेतसमेत जोडेका छन्। रोजगारीका लागि खाडी मुलुकमा जानुभन्दा लाज नमानेर आफ्नै मुलुकमा ठूलो सानो नभनी काम गरे राम्रै आम्दानी हुने उनको विश्वास छ। अन्नपूर्ण पोष्टबाट