हातमा सीप, साथमा पैसा(भिडियो सहित)

बुटवल १२ रामनगरकी मेरिना गौतमको दिन हिजोआज बदलिएको छ । आफन्त र साथिभाइको ब्यवहारमा पनि आकाशपातालको फरक देखिन्छ । हिजोआज उनीहरुको बोल्ने शैली नै फेरिएको अनुभव गर्छिन् मेरिना । कुनै बेला श्रीमानको तलव कहिले आउला र गर्जो टारौंला भन्दै कुर्ने दिन सकिएका छन् । किनभने उनको हातमा आएको सीपले साथमा पैसाको जोहो गराईदिएको छ । यो परिवर्तनले जीवनको रंग ढंगनै बदलिएको छ ।  त्यसो त मेरिनाले सिलाई बुनाईको काम गर्न थालेको केही बर्ष अघिदेखि नै हो । तर त्यो घर भित्र मात्रै सिमित थियो । घर परिवारका र यसो नजिकका साथीभाइका कपडा सिलाउने उनको मेसिन अहिले धेरै ग्राहकका कपडा खुट्न ब्यस्त छ । कोठाबाट सटरमा पसल नै खोलेर सरेपछि उनको दायरा मात्रै हैन उनी र उनको मेसिनको ब्यस्तता पनि बढेको छ । बाहिर बोर्ड राखेर पसल खोलेपछि त ग्राहक बढ्दा रैछन्, उनी भन्छिन्, पसल खोलेपछि कामले मात्रै भन्दा पनि खुसी हुने आफन्त र साथिभाइ आउँछन्, बस्छन्, तर कोही कोही चाही डाह पनि गर्छन् यसले त राम्रो गरी भनेर । तालिमले बढाएको हिम्मत नेपाली आममहिला जस्तै मेरिना पनि घरकै चुल्हो चौकोमा सिमित बुहारी थिईन् । घरकै काममा ब्यस्त हुँदा पनि उनलाई सिलाई बुनाईमा रुचि थियो । सामान्य तालिम लिएर खुट्ने टिप्नको भेउ सिक्दै गरेकी मेरिनालाई यहि सीप तिखार्न मन थियो । सिलाई बुनाईको तालिम दिने संस्था मार्फत सीप सिक्न पाइने कुरा साथीभाइबाट सुनिन् । ललितपुरमा रहेको संस्था एलाईन्स नेपालले बुटवलमा तालिम चलाउँँदै थियो । उनले फारम भरिन् । तालिमकै दौरान उनको कामप्रतिको लगाव धेरै देखियो, संस्थाका कार्यक्रम अधिकृत अस्मित ज्ञवाली भन्छन्, अहिले आफैं पसल गर्न थालेपछि त उनमा हौसला र हिम्मत पनि बढेको देखिन्छ । तालिम लिएपछि उनलाई कि त आफैं पसल गर्नु पर्ने कि त अरुकोमा गएर भएपनि कमाई गर्नै पर्ने शर्त थियो । तालिमले उनलाई सीपमात्रै दिएन हिम्मत पनि बढायो । उनले पसल खोल्ने निर्णय गरिन् । श्रीमानले १ लाख रुपैंया दिए पनि । अनी शुरु भयो पसल । Merina 4 किन यहि ब्यवसाय ? किन किन म सिलाई बुनाई कै लागि जन्मेको हुँकी जस्तो लाग्यो, मेरिना भन्छिन् आत्मबाटै यही गर्छु भन्ने आयो अनी सिक्दै गएँ, थोरै लगानीबाट गर्न सकिने भएकोले पनि यही रोजेको । उनका श्रीमान नेपाली सेनामा छन् । एउटा छोरो छ सात बर्षे । श्रीमान् र छोरो मात्रै हैन सबै परिवार खुसी छन् हिजोआज । अहिले आँट आएको छ । Merina 2 अहिलेको अवस्था पसलमा बिस्तारै ग्राहक बढेका छन् । घरमै काम गर्दाका ग्राहक त भई नै हाले । काम पुग्दो छ । महिनामा १० १२ हजार कमाई हुन थाल्यो । एकजना सहयोगी राखेकी छन् महिनाको ६ हजार रुपैंया दिन्छिन् । पसलमा आफैं खटिन्छिन् । विहान ८ बजे खोलिसक्छिन् साँझ ७ बजेसम्म नै काममा जुटिरहन्छिन् । दिनभरी ब्यस्त । अहिलेसम्मको पारामा हेर्दा काम गरि खान सकिने टुङ्गोमा पुगेकी छन् मेरिना । अवको लक्ष्य र योजना पसल बढाउने मान्छे थप्ने लक्ष्य ठूलै छ नी मेरिना खित्का छोडेर हाँस्दै योजना सुनाउँछिन् । पसलको कमाईबाट दिनको दुई सय रुपैंया बचत गर्छिन् । त्यो बचतले पसल बढाउने विचार छ उनको । राम्रो हुँदै गयो भने धेरैजनालाई रोजगारी दिन सकिन्छ नी,  उनले भनिन्, एउटा गार्मेन्ट उद्योग नै पनि चलाउन सक्छु की भन्ने हिम्मत पो आएको छ । हातमा सीप भएर पनि आफैं काम गरि खान सक्छु भन्ने हिम्मत नभएकी मेरिनालाई सिलाई बुनाई तालिमले हिम्मत मात्रै बढाईदियो । कमाई र खुसी त उनी आफैं बटुल्दै छिन् । अनी टुङ्गोमा पुगिन् – सीप भएपछि आँट आउँदो रैछ आँटले कमाईको बाटो देखाउँदो रैछ ।  Merina 3श्रीधर पौडेल, बुटवलबाट फर्केर  (मेरिना गौतम रोजगार कोषअन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमका लाभान्वित युवा हुन् । उनलाई तालिम तथा रोजगारीका लागि तालिम तथा रोजगार प्रदायक संस्था एलान्स नेपाल, ललितपुरले सहयोग गरेको हो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को जुन अन्त्यसम्ममा रोजगार कोषले करिव एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) भिडियो हेर्नुहोस्

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/sBG8F690jzU” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय