
काठमाडौं, साउन १३ – दक्षिण कोरियाको श्रम विभागले प्रवासी श्रमिक ट्रेड यूनियन(एमटीयू) दर्ता गर्न आनाकानी गरिरहेकोमा नेपाल ट्रेड यूनियन महासंघ(जिफण्ट)ले खेद प्रकट गरेको छ । दक्षिण कोरियाको सर्वोच्च अदालतले गत असार १० गते प्रवासी श्रमिकले ट्रेड यूनियन खोल्न पाउने भन्दै सो अनुरुप कानूनी मान्यता दिन सरकारको नाममा आदेश दिएको थियो । उदय राईको नेतृत्वमा रहेको एमटीयूमा नेपाल, बंगलादेश, श्रीलंका, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स लगायतका प्रवासी श्रमिकहरू सदस्य छन् । सो यूनियनमा नेपाली प्रवासी श्रमिकको संख्या अधिक छ । हालसम्म सरकारले दर्ता नगरेपनि सो यूनियन हालसम्म प्रवासी श्रमिकको हकअधिकारका लागि लड्दै आएको छ । अदालतको आदेश पश्चात प्रवासी श्रमिक ट्रेड यूनियनले दर्ताका लागि यहि महिना कोरियाको श्रम मन्त्रालय मातहतकोे श्रम विभागमा निवेदन दिएको थियो । तर विभागले यूनियनको विधानको प्रस्तावना नमिलेको भनि त्यसलाई सच्याउन भन्दै फिर्ता गरेको थियो । यूनियनले श्रमिकको आम भेला बोलाइ प्रस्तावनामा परिमार्जन गरेर पुनः दर्ताका लागि दिएको निवेदनमा समेत विभागले आनाकानी गर्दै आएको छ । विभागले श्रमिकको हकअधिकारका लागि यूनियनले खेल्ने भूमिका माथि नै अंकुश लगाउन खोजेको भन्दै एमटीयूले सरकारले चाहे अनुरुप विधानमा परिवर्तन नगरिने प्रष्ट पारिसकेको छ । प्रवासी श्रमिकको अधिकार स्थापित गर्न कोरियामा एमटीयूले विगत १० बर्षदेखि संघर्ष गर्दै आइरहेको छ । सोही संघर्षको परिणामस्वरुप प्रवासी श्रमिकको यूनियनलाई समेत बैधानिकता दिन अदालतले सरकारलाई आदेश दिएको हो । नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले कोरियामा नेपाली श्रमिकलाई जिफन्ट सहयोग समूह गठन गरी संगठीत गर्दै अईरहेको छ भने समस्त प्रवासीहरूको अधिकारका लागि कोरियन कन्फिडेरेसन अफ ट्रेड यूनियन केसीटीयूको सहयोगमा काम गर्दै आइरहेको छ । हाल जिफण्ट सहयोग समुहको अध्यक्ष पनि एमटीयूको नेतृत्व गरिरहेका उदय राई नै छन् । प्रवासी श्रमिक युनियनले वैधानिक हैसियत प्राप्त नगरेको अवस्थामा मजदुरमाथि दुव्र्यवहार हुँदा, कामबाट निकाल्दा वा तलव नपाएको अवस्थामा कानुनी लडाईंमा समस्या परिरहेको छ । अदालतको आदेश पछि पनि सरकारी निकायले यूनियन दर्तामा गरिरहेको आनाकानीले प्रवासी श्रमिकको अधिकार स्थापित गर्न अझै संघर्ष गर्नुपर्ने अवस्था रहेको कोरियामा कार्यरत प्रवासी नेपाली श्रमिकले बताएका छन् । यो पनि पढ्नुहोस् युएईमा सामाजिक सञ्जालमा लेखेको अभियोगमा पक्राउ