विराटनगर, साउन १२ – रोजगारीका लागि विदेश जाने चलन नयाँ होइन । पछिल्लो समय यो क्रम झन् बढेको छ । विदेशमा दुःख गरेर कमाएको पैसाले यता परिवारको जीवनस्तरमा सुधार आएका धेरै उदाहरण छन् । सँगसँगै पारिवारिक विचलन र विकृतिजन्य घटना पनि बढेका छन् । महोत्तरीको भरतपुर ८ की २६ वर्षीया एक महिलाले असार २१ गते ससुराले बलात्कार प्रयास गरेको आरोपसहित प्रहरीमा उजुरी हालिन् । बिहान १० बजेतिर पूजा गर्न लागेको अवस्थामा ससुराले ‘आफ्नो इज्जतमा हात हाल्ने प्रयास गरेको’ उनको आरोप छ । ससुराको व्यवहारविरुद्ध उनले हल्ला गरेपछि गाउँलेले महिलाको बचाउ गरे । लगत्तै घटनास्थल पुगेको प्रहरीले ५४ वर्षीय ससुरा रामदुलार चौरसियालाई हिरासतमा लियो । वर्ष दिनको काखे छोराकी आमा ती महिलाका पति वर्ष दिनदेखि वैदेशिक रोजगारीका लागि मलेसिया छन् । लोग्ने विदेश गएदेखि आफूप्रति ससुराले कुदृष्टि गरेको प्रहरीसमक्ष उनले बयान दिइन् । प्रहरी निरीक्षक मक्षिन्द्र केसीले ससुराविरुद्ध बलात्कार प्रयास आरोपमा मुद्दा चलाएको जनाए । पिपरा ३ का रामविनय पासवानले वैदेशिक रोजगारका लागि १ लाख १० हजार रूपैयाँ एजेन्टलाई दिए । उनले काम त पाएनन् उल्टो एजेन्टबाट ज्यान मार्ने धम्की आउन थालेपछि अहिले जिउधनको सुरक्षा माग गर्दै प्रशासनको शरणमा पुगेका छन् । प्रशासन कार्यालयमा दिएको निवेदनअनुसार भमरपुरा ३ का एजेन्ट कासिम मन्सुरले कतारमा हलुका सवारी चालकको काम लगाइदिन्छु भनी पैसा लिएका थिए । मन्सुरले ८ घण्टा काम १ हजार ४ सय रियाल तलव र ओभरटाइमको छुट्टै रकम दिलाइदिने प्रलोभन दिएपछि पासवानले सयकडा ३ रूपैयाँ ब्याजमा ऋण लिएर पैसा बुझाएका थिए । पासवान कतार पनि गए । त्यहाँ ‘प्रोग्रेसिभ क्याटरिङ सर्भिसेज’ मा भर्ना भए । तर मन्सुरले भने जस्तो काम र सुविधा थिएन । २१ घण्टा गाडी चलाएपछि मात्र १ हजार १ सय रियाल पाइने कम्पनीले बताएपछि उनले आफू ठगिएको बुझे । कतारबाट फोन गरे । एजेन्टले फोन स्विच अफ गर्यो । बाध्य भएर पासवान स्वदेश फर्के । एजेन्टसँग पैसा फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएपछि उनले असार १६ गते प्रशासनमा निवेदन दर्ता गराए । प्रहरीको महिला सेलकी असई रमा थापाका अनुसार महोत्तरीमा घरेलु हिंसाका दैनिक दर्जनबढी उजुरी दर्ता हुने गरेका छन् । तीमध्ये ७५ प्रतिशत बढी निवेदन पति वैदेशिक रोजगारमा गएका महिलाको छ । लोग्ने विदेश गएपछि सासूससुराले अर्कोसँग लहसिएको, घरमा सासूससुरा लगायतले खान नदिएको, कुटपिट गरेर घरनिकाला गरेको, लोग्नेले पठाएको पैसा लिएर भागेको जस्ता उजुरी दिनहुँजसो आउने गरेको थापाले बताइन् । ‘दुवै पक्षलाई राखेर सम्झाइबुझाई कतिपय घटनामा कागज गराई पठाउने गरेका छौं,’ थापाले थपिन्, ‘वैदेशिक रोजगारका कारण घरेलु हिंसा र महिला यातनाका घटना ह्वात्तै बढेको देखिएको छ ।’ बढ्यो विकृति सप्तरीका धेरै युवा रोजगारीका लागि विदेश गएका छन् । उनीहरूले कमाएर पठाएको पैसाले परिवारको जीवनस्तर फेरिएको छ । केहीले उन्नति गरेका छन् । तर योसँगै विकृतिका घटना पनि बढिरहेका छन् । सप्तरीको मलेठ ९ जगधरीका ५० वर्षीय अनवारुल मियाँ (नाम परिवर्तन)ले आफ्नै बुहारीलाई बलात्कार गरे । ससुराले पटकपटक बलात्कार गर्न थालेपछि घटनाबारे ससुराविरुद्ध पीडितले प्रहरीमा उजुरी दिइन् । यसपछि घटना सार्वजनिक भएपछि गाउँ–समाजको दबाबमा प्रहरीले मियाँलाई नियन्त्रणमा लिएको र हाल उनी राजविराज कारागारमा बन्दी जीवन बिताइरहेका छन् । पीडित माइतीको शरणमा छिन् भने श्रीमान् वैदेशिक रोजगारको क्रममा मलेसियामा छन् । सप्तरीकै सिस्वबेल्हीमा आफ्नै काका–ससुराले बुहारीलाई बालात्कार गरी गर्भवती बनाए । श्रीमान् वैदेशिक रोजगारका क्रममा मलेसिया गएपछि काका–ससुरा ५३ वर्षीय श्रीलाल मण्डलले पहिलोपटक बुहारी सुत्ने कोठामा जबर्जस्ती पसेर बलात्कार गरे । पीडितले भनिन्, ‘कसैलाई भनिस् भने तँ अर्कैसँग लागेको भनी छोरालाई पोल लगाएर घरनिकाला गराइदिन्छु भन्दै डरत्रास देखाई उनले बलात्कार गरे ।’ ससुराबाट पटकपटक बलात्कार भएकी पीडित गर्भवती भएपछि घटना सार्वजनिक भएको हो । घटनाबारे प्रहरीमा उजुरी परेपछि कारबाहीको क्रममा मण्डल हाल करागारमा छन् । पीडित महिला केही दिन जिल्लास्थित सेफहाउसमा राखिएपछि हाल उनी माइतीमै बस्दै आएकी छन् । वैदेशिक रोजगारका कारण हुने गरेको समाजिक विकृतिका यी प्रतिनिधि घटनाहरू मात्र हुन् । महिला अधिकारकर्मी तथा कुरीतिजन्य हिंसाविरुद्धको राष्ट्रिय सञ्जालकी संयोजक विमला पराजुलीले भनिन्, ‘जिल्लामा घटित यस्ता कुल घटनाहरूको ५ प्रतिशतमात्र सार्वजनिक हुने गरेको छ ।’ लोक–लाज, ढिलो न्याय र अशिक्षाका कारण अधिकांश यस्ता घटनाहरू समाजमै अगुवाबाट टुंग्याइन्छ वा परिवारमै दबाइएपछि पीडितहरू झन् पीडित बनिरहने अवस्था छ ।’ वैदेशिक रोजगारका कारण सृजित ५० वटासम्म घटनाहरू मासिक रूपमा आउने गरेको उनले बताइन् । तर, प्रहरीमा उजुरी दिन भनेपछि मुस्किलले ५ प्रतिशत पीडितहरू तयार हुने गरेको उनको अनुभव छ । बर्सेनि डेढ दर्जनभन्दा बढी यस्ता घटना प्रहरीमा पठाउने गरेको उनले बताए । प्रहरी निरीक्षक लालध्वज सुवेदीले ठाडो उजुरीका रूपमा त यस्ता धेरै गुनासा आउने गरे पनि मुद्दाकै रूपमा पनि बर्सेनी वैदेशिक रोजगारसँग जोडिएका महिला हिंसासम्बन्धी डेढ दर्जनभन्दा बढी घटनाहरू आउने गरेको बताए । सामी हेल्भेटासको सहयोगमा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको सवल नेपालका सूचना अधिकृत चन्दन यादवका अनुसार ०६८ यता २८ हजार सप्तरीका युवायुवती वैदेशिक रोजगारमा गएको तथ्यांक छ । २०६८ अघि र गैरकानुनी तरिकाले विदेश जानेको संख्या थप २० हजारभन्दा बढी हुन सक्ने उनले बताए । यस्तै, पासपोर्ट बनाएर तथा बनाउने प्रक्रिया थालिसकेका जिल्लाका ४९ हजार युवायुवतीहरू विदेशिने तर्खरमा रहेको यादवले बताए । वैदेशिक रोजगारका कारण श्रीमतीहरूमात्र पीडित छैनन् । यादवका अनुसार श्रीमानले विदेशबाट पठाएको मोटो रकम हात परेपछि श्रीमतीहरू घर छाडेर अर्कैसँग गएको उदाहरण पनि उत्तिकै रहेको उनले बताए । १६-१७ वर्षकै उमेरमा विदेश जाने, ३-४ वर्षपछि रकम कमाएर फर्किनासाथ मोटरसाइकल किन्ने, बिहे गर्ने चलन छ,’ यादवले भने, बिहेको २-३ महिनापछि लामो समयका लागि विदेश जाने कारणले परिवारमा विचलन आउने गरेको छ ।’ कान्तिपुरबाट यो पनि पढ्नुहोस् यो काम नगरेको भए म विदेश पुग्थें होला (भिडियो सहित)
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1