मेहनतीहरु नेपालमै कमाउँदै

भैरहवा, साउन ९ – कामदार भिसामा कोरिया हान्निएका भैरहवा पक्लीहवाका सुनील पुनलाई कोरिया पुगेपछि बल्ल चेतना पस्यो– पैसा कमाउन मेहनत र लगनशील हुनु पर्ने रहेछ। नेपालमा छँदा सानोतिनो काममा आँखै नलगाउने उनी कोरिया पुगेपछि दैनिक २० घण्टासम्म काममा घोटिए। कोरिया बसाइले उनलाई मेहनत गर्न सिकायो। विदेशी भूमिमा गर्ने मेहनत आफ्नै गाउँठाउँमा गर्ने अठोट बोकेर उनी दुई वर्षमा आफ्नै थातथलो फर्के। ‘अहिले मेरा लागि जापान–कोरिया सबै यहीँ छ’ पुनले गीतिभाकामा भने। पक्लीहवामा युआरएस गाईफार्म खोलेर व्यावसायिक कृषि कर्ममा लागेका पुनले कोरियाको कमाइलाई यहीँको कमाइले जितेको बताए। त्यसका अलावा उनले सानोतिनो खाद्य उद्योग समेत सञ्चालन गरेका छन्। बुटवल कालिकानगरका कृष्ण गैरेले गत वर्षसम्म दैनिक सय लिटर दुध बेच्थे। अहिले दैनिक डेढ सय लिटर बढी दुध बेच्छन्। नयाँ मिल पश्चिममा दुई बिगाहा जग्गा भाडामा लिएर व्यावसायिक भैंसीपालन गरिएको गैह्रे पशुपालन तथा दुग्ध उत्पादन केन्द्रमा अहिले ४० वटा माउपाडी छन्। तीमध्ये २० वटा दुहुना छन्। एकाबिहानैदेखि फर्ममा दुध लिन आउनेको भिड लाग्छ। गैह्रेले व्यावसायिक भैंसीपालनबाट वार्षिक २० लाखको हाराहारीमा आम्दानी गर्छन्। त्यसका अलावा गोबर मलको बिक्री तथा प्रांगरिक तरकारीबाट पनि थप आम्दानी हुन्छ। व्यावसायिक पशुपालनबाटै अत्मनिर्भरता र आर्थिक समृद्धिको बाटोमा लम्केका गैह्रेको यो सफलता त्यत्तिकै आएको भने होइन। दश वर्षअघि विदेश जान खुट्टा उचालेका उनी व्यावसायिक पशुपालन गरेर आत्मनिर्भर हुने योजनासहित बिसाउँदा उनलाई धेरैले गाली गरे। पढेलेखेको युवा केही गर्न नसकेर गोठाले बन्यो भनेर होच्याउनेहरु पनि भेटिए तर अहिले समय फेरिएको छ। व्यावसायिक भैंसीपालनबाट उनले पाएको सफलतासँगै पहिले होच्याउनेहरु नै सफलताको सूत्र खोज्न अहिले उनीकहाँ धाँउछन्। २० हजारको लगानीमा एउटा भैंसीबाट पशुपालन सुरु गरेका गैह्रेको दुग्ध उत्पादन केन्द्र जिल्लामै नमूना फर्मको रुपमा चिनिएको छ। करिब पौने करोडको लगानी रहेको फर्ममा व्यावसायिक भैंसीपालनसम्बन्धी जानकारी लिन विभिन्न जिल्लाबाट सिजनमा दैनिक दुई तीन समूह अवलोकन भ्रमणमा आउँछन् । कृष्ण मात्रै होइन रुपन्देहीको शंकरनगरका अर्का युवा टीकाराम (कृष्ण) शर्माले पनि व्यावसायिक पशुपालन थालेको चार वर्ष भयो। अध्ययनपछि गाउँका युवाहरु कामको खोजीमा विदेशिएका बेला उनी आफ्नै परिवारको साथमा स्वरोजगार हुने धुनमा लागे। शर्माले रुपन्देहीको मक्रहर बेलडाँडाको डेढ बिगाहा जग्गामा स्पार्क गाई फार्म खोलेका छन्। ३० लाख बढीको लगानी रहेको गाई फार्ममा १५ वटा दुहुना गाई छन्। फार्ममा चार जनाले रोजगारी पाएका छन्। दैनिक १ सय ३० लिटर दुध बेचेर मासिक डेढ लाख बढी आम्दानी गर्छन्। गाईको गोबर र मूत्रबाट थप आम्दानी हुन्छ। गाईका बाच्छाबाच्छीबाट आउने आम्दानी छुट्टै छ। गाईगोठमा उनी आफैँ पनि दिनरात मिहिनेत गर्छन्। रुपन्देहीमा पछिल्लो समय स्वदेशमै आत्मनिभर्रताको बाटोमा लाग्न चाहने युवा सुनील, कृष्ण र टीकाराम जस्ता पढेलेखेका थुप्रै युवाहरु व्यावसायिक पशुपालनमा लागेका छन्। जसका कारण व्यावसायिक पशुपालनमा उन्नत र आधुनिक तरिका भित्रिएको छ। युवा जोश भएकाहरुले उन्नत र आधुनिक तरिकालाई अवलम्बन गर्ने भएकाले व्यावसायिक पशुपालनबाट धेरै फाइदा लिन सकिने जिल्ला पशुसेवा कार्यालय रुपन्देहीका प्रमुख डाक्टर गान्धीराज उपाध्यायले बताए। देशमै सबैभन्दा ठूलो गाई फार्म रहेको रुपन्देही व्यावसायिक पशुपालनका लागि देशमै दोस्रो नम्बरमा कहलिएको जिल्ला हो। केही वर्ष यता विदेशबाट फर्केका तथा पढेलेखेका युवाहरुले सामूहिक रुपमा वा एकल प्रयासमै पशुपालनमा संलग्न हुने गरेको पशुसेवा कार्यालयले जनाएको छ। युवाकै सक्रियतामा जिल्लामा घाँसमा आधारित पशुपालन फस्टाएको छ। त्यस्तै मेसिनबाट दुध दुहुने प्रविधि, सुधारिएको गोठ निर्माण, कृत्रिम गर्भाधानमार्फत उन्नत जातको नश्ल सुधार जस्ता आधुनिक व्यावसायिक पशुपालनको लहर चलेको पशुसेवा कार्यालयले जनाएको छ। कार्यालयका अनुसार रुपन्देहीमा दुहुना गाईभैंसीको संख्या १ लाख १३ हजारको हाराहारीमा छ। तीन सयको हाराहारीमा ठूला पशु फार्म छन्। तीमध्ये अधिकांश युवाहरुद्वारा सञ्चालित छन। जिल्लामा दैनिक साढे ४ लाख लिटर दुध उत्पादन हुन्छ। जिल्लाको खपत दुई लाख लिटर छ भने बाँकी अन्य जिल्लामा निर्यात हुन्छ। नागरिकबाट यो पनि पढुनुहोस् विदेश देखेर आई हालें अव यहीँ गर्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय