संस्थागतमा एकजनाले मात्र पाए श्रम स्वीकृति, हवाईजहाजले मर्ज गरे उडान

काठमाडौं, असार २५- म्यानपावर व्यवसायीले गरेको आन्दोलनका कारण वैदेशिक रोजगार विभागमा श्रम स्वीकृतिको काम ठप्प भएको छ। पूर्वस्वीकृति पाइसकेपछि विदेश उड्नका लागि लिनुपर्ने श्रम स्वीकृतिको काम बिहीबार ठप्प भयो। संस्थागत रुपमा एकजनाको लागि मात्र श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ। व्यक्तिगततर्फ भने ६ सय ५० स्वीकृति जारी भएका छन्। सरकारले गृहकार्यबिनै सातवटा मुलुकमा निःशुल्क टिकट र भिसाको निर्णय लागू गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी आन्दोलनमा छन्। उनीहरुले व्यवसाय बन्द गरेर सडकमा उत्रेका हुन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा बिहीबार पनि व्यवसायीले वैदेशिक रोजगार विभागको ताहाचल कार्यालय घेराउ गरे। ठूलो संख्यामा पुगेका व्यवसायीको घेराउले कार्यालयको दैनिक कामकाजमा अवरोध भएको थियो। मन्त्रालयको निर्णयपछि नेपाल आउने कामदारको माग अन्य मुलुकतर्फ जान थालेको र नेपाली कामदार अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आएको व्यवसायीले बताउँदै आएका छन्। व्यवसायीले निःशुल्क टिकट र भिसा स्वागतयोग्य भए पनि सम्बन्धित मुलुकसँग छलफल गर्नुपर्ने, कोटा सुनिश्चित हुनुपर्ने, श्रम सम्झौतामा निःशुल्क टिकट र भिसा दिने सर्त समेत उल्लेख गर्नुपर्ने माग गरिरहेका छन्। आन्दोलनमा बिहीबार ट्राभल व्यवसायी, बिमा कम्पनीका प्रतिनिधि, होटल सञ्चालकले पनि साथ दिएको संघले जनाएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष डिबी लिम्बुले बिहीबारको संघको आन्दोलनमा केही ट्राभल व्यवसायीले साथ दिएको बताए। निःशुल्क भिसा र टिकटको निर्णयबाट टिकेटिङमा पनि असर परेको छ। व्यवसाय नै नचल्ने भएपछि हामी पनि आन्दोलनमा गएका हौं, उनले भने, निःशुल्क टिकट कस्तो हो, सम्बन्धित मुलुकले पठाउने हो या सरकारले दिने हो? कुन देशबाट टिकट काट्ने हो, यस्ता कुरा पनि प्रस्ट छैन। सरकारले हचुवाको भरमा निर्णय गरेको देखिएको छ। टिकट निःशुल्क भनेर कम्पनीले पछि कामदारको तलबबाट काट्यो भने के गर्ने, कोटा पाएन भने के गर्ने जस्ता विषयमा सरकारनै स्पष्ट नभएको उनले बताए। विभागको काठमाडौं कार्यालयका प्रमुख विश्वप्रकाश सुवेदीले व्यवसायीको आन्दोलनले काममा अवरोध भएको बताए। ‘आन्दोलनले व्यवसायीलाई नै असर गर्छ, उनीहरु आफैं थाकेर आन्दोलन छाड्छन्’ उनले भने। व्यवसायीको अवरोधले बिहीबार संस्थागततर्फ १ जनाको र व्यक्तिगततर्फ ६ सय ५० श्रम स्वीकृति जारी भएको उनले जानकारी दिए। निःशुल्क टिकट र भिसाको निर्णयले नयाँ माग नआएर विदेश उड्ने कामदार नहुँदा बुधबारदेखि नै मलेसिया र खाडी मुलुक उड्ने अन्तर्राष्ट्रिय एयरलायन्सले फ्लाइट मर्ज गराएर उडाउन थालेका छन्।  भूकम्पपछि पर्यटक नआएर यात्रु घटेको बेला कामदार पनि नपाएपछि मलेसिया र खाडी मुलुक जाने जहाज खाली उडिरहेको उनीहरुको भनाइ छ। एयर अरेबियाको जनरल सेल्स एजेन्ट सिटी एक्सप्रेस इन्टरनेसनलकी नेसनल सेल्स म्यानेजर संगीता रौनियारले बुधबारदेखि यात्रु घटेर उडान मर्ज गरेर सेवा दिएको बताइन्। जहाजहरु थोरै यात्रु लिएर उडिरहेका छन्, उनले भनिन्, थाई, मलेसियन एयरलायन्समा पनि यात्रु छैनन्। उनका अनुसार सिटी एक्सप्रेसका सहायक संस्थाहरु ती एयरलाइन्सका जिएसए हुन्। एयर एसिया, मालिन्दो, ओमान, फ्लाई दुबई, कतार एयरलायन्सले पनि यात्रु नभएपछि फ्लाइट मर्ज गरेर उडाइरहेको जानकारी दिए। श्रममन्त्रीले व्यवसायीलाई निःशुल्क टिकट र भिसाविरोधी बनाएर आफूले फाइदा लिन खोजेको र जनतामा भ्रम छरेको भन्दै आन्दोलनरत व्यवसायीले विभिन्न पार्टीका नेता भेटेर गुनासो गरेका छन्। बुधबार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल भेटेका व्यवसायीले बिहीबार नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीकहाँ गएका थिए। भेटमा दाहाल र ओलीले मन्त्रीको निर्णय सान्दर्भिक वा असान्दर्भिक के हो वास्तविकता बुझेर सरकारसँग छलफल गर्ने बताएको संघका अध्यक्ष ढकालले जानकारी दिए। नागरिकबाट यो पनि पढ्नुहोस् निःशुल्क भिषा र टिकट किन लागु भयो ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय