विदेशको सपनामा ऋण बढेर सात लाख नाघ्यो

खोटाङ– खोटाङको उत्तरी गाविस महेश्वरी–७ का बदले कामीले विदेश पठाउने नाममा आफूलाई ठगी गर्ने दलालबाट १६ वर्ष बित्दासमेत गुमेको रकम फिर्ता पाउन सकेका छैनन्। कामीले विदेश पठाउने भन्दै आफूसँगबाट ५० हजार ठग्ने बाकाचोल–४ तारागाउँका गणेश विश्वकर्माबाट १६ वर्ष बित्दासमेत रकम फिर्ता पाउन नसकेको बताएका छन्। २०५६ सालमा सुन पुछ्ने कामका लागि साउदी अरब लैजान्छुु भन्दै ५० हजार लिएर हिँडेका विश्वकर्माले विदेश नपठाएको र हालसम्म लगेको रकम पनि फिर्ता नगरेको कामीले बताए। सोह वर्षअघि विदेश पठाउँछु भन्दै पचास हजार लियो, कामीले भने, तर मलाई न विदेश नै पठायो न त पैसा नै फिर्ता दियो। गुमेको रकम फिर्ताका लागि लामो समयपछि २०७१ असोज–२९ गते नजिकै रहेको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा निवेदन दिए पनि हालसम्म कुनै सुनुवाइ नभएको कामी परिवारको गुनासो छ। विदेश पठाउने नाममा रकम लिएर धरान बसाइसरेका विश्वकर्मा भने हाल साउदीमै पुगेका छन्। गणेशलाई बुझाएको साँवा र ब्याजको हिसाब गरेको तमसुक थियो बदलेसँग। गत वर्ष त्यही तमसुक लिएर पैसा उठाउन धरान पुगेका उनलाई गणेशका छोरा जुलनले उल्टै तमसुकसमेत च्याति दिएर मार्ने धम्की दिएको स्थानीय बताउँछन्। उसबेला लिइएको ५० हजार रुपैयाँ ऋणको ब्याज बढ्दैजाँदा अहिले सात लाख पुगीसकेको कामीले बताए। बदलेसहित आठ जनाको नाममा भिसा ल्याएको भन्दै प्रिन्ट देखाएर विश्वकर्माले रकम लिएका थिए। पैसा लिएर विदेश नपठाउने अनि रकम फिर्ता नदिने विश्वकर्माबिरुद्ध बदलेले पछिल्लो समय जनसेवा समाज नेपालले दिक्तेलमा सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजनाको सूचना केन्द्रसमक्ष उजुरी दिएका छन्। भिसा हो भन्दै मेरै नाम टाइप गरेको कागज देखाएपछि विश्वास गरेर पैसा दिएँ, उजुरी दिन दिक्तेल आइपुगेका बदलेले गहभरी आँशु पार्दै भने, आखिर न बिदेश जान पाएँ, न पैसा फिर्ता पाएँ, के म गरीब अन्याय सहेरै मर्नु ? गणेशको लहैलहैमा लागेर बदलेले २०४४ सालदेखि ऐसेलुखर्क बजारमा सञ्चालन गर्दै आएको सुनचाँदी कमाउने काम छाडेर विदेसिन तम्सिएका थिए। उजुरीका आधारमा ठगिएका कामीको पक्षमा कारबाहीका लागि पहल सुरु गरिएको सूचना केन्द्रका कार्यक्रम अधिकृत रमेश राईले बताए। उसको साथमा भएको तमसुक नै जुलनले च्यातिदिएको छ, उसँग अन्य प्रमाण देखिन्न, कार्यक्रम अधिकृत राईले भने, अब दुबै पक्षलाई प्रहरी कार्यालयसम्म ल्याएर छलफलका माध्यमबाट समस्या हल गर्ने भनेका छौँ। विदेश जाने नाममा ऋणको भुंग्रोमा परेपछि न उनको परिवारमा आर्थिक गुजारा राम्रो छ न त समाजिक मर्यादानै बढ्न सकेको छ। ऐसेलुखर्कबजारमा सुनचाँदीका गहना बनाउने पेशाबाट बदलेको पारिवारिक गर्जो राम्ररी टर्दै आएको थियो। पारिवारिक गर्जो टार्नका लागि त्यही पेशा काफी थियो। साईनोले मामाको छोरा पर्ने गणेश साउदीमा ४४ महिना बसेर गाउँ फर्किए। गाउँ आएलगत्तै गणेशले बदलेलाई साउदी जानका लागि उक्साए भिसा ल्याइदिएको छुु भनेर। बदलेले पनि सुकिलामुकिला भएर आएका गणेशको कुरा पत्याए र सुन पुछ्ने काममा साउदी जानकालागि ५० हजार दिन तयार भए। मासिक १२ हजार पाउने आशामा उनी छँदाखाँदाको पसल बन्द गरेर रादानी बनाउन काठमाडौं हान्निए। राहदानी पनि बन्यो, तर उनको साउदी जाने दिन कहिल्यै आएन। त्यहीबाट सुरु भयो उनको कहिले काठमाडौं कहिले घर यात्रा। पन्ध्र दिनपछि फ्लाईट हुन्छ, महिना दिनपछि हुन्छ, दशै पछि हुन्छ, तिहार पछि हुन्छ, ईद पछि हुन्छ भन्दा–भन्दै पाँच वर्ष बित्यो। सात पटक प्लेनबाट र अन्य दिन बसबाट गरी ३५ पल्ट काठ्माडौँ पुगे। हुँदाहुँदा ५० हजार ऋणको ब्याज सात लाख पुग्यो। घरमा पालिएको दुहुनो भैसी, हल गोरु सबै साहुले लग्यो, कामीले भने, यसरी साहुले घर रित्याउँदा मेरो छोरा छोरी र श्रीमतीलाई कस्तो भयो होला । नागरिकबाट यो पनि पढ्होस् कतारमा नेपाली ठग्नेलाई नेपाल फिर्ता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय