अव त श्रीमानलाई नेपाल नै बोलाउँछु

हातमा पैसा होला र काम शुरु गरौंला भन्ने ठानेको भए मनसुवा गुरुङको दिन अहिले पनि त्यहि निर्वाहमुखि किसानीमै वित्ने थियो । तर, पुर्खौ देखि गर्दै आएको त्यहि किसानी कामलाई मनसुवाले आय आर्जनसंग जोडिन् र अहिले वरीपरी चार गाउँमा उनको चर्चा बेग्लै छ । … कुनै बेला ‘एउटी आईमाईले के नै पो गर्न सक्छे र’ भन्ने ठान्नेहरु हिजो आज उनको बाख्रा फर्म देखेर चित खान्छन् । ‘हुन त कतिजना खुसी पनि हुन्छन् तर धेरै जस्तो रिस गर्नेहरुनै पो फेला पारेकी छु’ मनसुवा भन्छिन्, ‘हामीले त नसकेको काम एउटी आईमाईले के गर्न सक्छे र ? भनेको मेरै कानले धेरै पटक सुनेको छु ।’ Mansuwa 1 तर ति छिमेकी र आफन्तले नसकेको भन्दा पनि नआँटेको हो भन्ने निष्कर्ष छ मनसुवाको । ‘आँट गर्ने हो भने काम र कमाई गर्न टाढा जानै पर्दैन’ उनी निर्धक्क भन्छिन् । कसरी आयो त आँट ? ‘मेहनेत गर्ने बानीले’ मनसुवाको उत्तर छोटो तर धेरै अर्थपूर्ण छ । ‘हामी अधिकाँश मान्छे विना मेहनेत सजिलै रकम कमाउन सकियोस् भन्ने ठान्छौं । मेहनेत विना संसारमा कहिँ पनि फल प्राप्त हुँदैन भन्ने समेत नबुझेर हामी विदेशका गल्लि गल्लि भौंतारिन्छौं । उता गर्नु पर्ने मेहनेत यहिँ गर्ने हो भने धेरै उन्नती हुन सक्छ भन्ने थाह पाउन एक पटक गोता खानै पर्छ ।’ मनसुवाका श्रीमान् हिमबहादुर गुरुङ् २०६२ साल देखि कतारमा छन् । श्रीमान्का अनुसार उनको काम त राम्रो छ तर धेरै नेपालीको हालत खराव । बैदेशिक रोजगारीका यस्ता जोखिमयुक्त कथा सुन्दा सुन्दा मनसुवालाई आफ्ना श्रीमान्लाई विदेश पठाउने मनै छैन । एउटा छोरो श्रीमान र आफू सबैसंगै बस्ने दुःख सुख बाँडि चुँडी गर्ने उनको धोको छ । ‘उमेर छउञ्जेल श्रीमान् श्रीमती टाढा भयौं बुढेसकालमा त संगै बसौं न भन्ने चाहनाले मलाई बाख्रा पालनलाई ब्यवसायिक रुपमा गर्ने हिम्मत दिएको हो’ मनसुवाले मन पेट खोलेरै भनिन् ।Mansuwa 2 दुनियाँले चिनुन् भन्ने चाहना र बाख्रा पालन स्याङ्जामा जन्मेहुर्केकी मनसुवाको परिवार रुपन्देही देवदह ४, पिप्रैयामा बसार्इं सराई गरेर आयो । किसान परिवारकी छोरी तराई झरेपछि पनि उहि कर्म । तर केवल निर्वाहमुखि मात्रै हुँदा मनमा अघोरै छट्पटि हुन्थ्यो । किन किन सानै देखि दुनियाँले चिनुन् भन्ने लागिरहन्थ्यो । तर मनसुवाले त्यस्तो केही बाटो फेला पारेकी थिईनन् । ‘समाजमा चिनजान पनि बढ्ने संगत पनि हुने’ ठानेर नेपाल अविनाश सामाजिक संस्था नामक स्थानीय सामाजिक संस्थामा पनि आवद्ध भईन् । मेलापात अर्मपर्मबाट बचेको समय त्यहि संस्थामा वित्न थाल्यो । तै पनि उनको केही गरौं भन्ने जाँगर अघाएन । मनसुवाले घरमा १०-२० वटा कुखुरा दुईचार वटा बाख्रा पाल्न थालेकी थिईन् । घर नजिकै सार्वजनिक खाली जग्गा जंगल हुँदा उनलाई यो काम गर्न उतिसारो गाह्रो पनि थिएन । आफूले पहाडमा हुँदा गरेको किसानी र तराईको तरिका फरक हुँदो रैछ । पटक्कै मेसो आएन । कसो गरौं के गरौ भईराखेको बेला त्यहि संस्था मार्फत जयन टेक्निकल कलेज अफ टेक्नोलोजिले बाख्रा पालन सम्बन्धि तालिम दिदैं छ रे भन्ने सुनिन् । त्यहाँको प्रकृया पुरा गरेपछि २०७० साउन भदौमा तालिम भयो । उनले धेरै कुरा थाहा पाईन् । ‘मनमा काम गर्छु भन्ने कुरा भित्रै देखि आयो भने मान्छे कसरी सफल हुन्छ भन्ने उदाहरण हुन् मनसुवा दिदी’ जयन टेक्निकल कलेजका धुनीनाथ योगी भन्छन् ‘उहाँको प्रगतिका पछिल्तिर मेहनेतको मात्रै हात छ ।’ विनय बाख्रा फर्म चाहना र मेहनेत मिलेपछिको नतिजा हो विनय बाख्रा फर्म । विनय उनको एक्लो सन्तानको नाम । मोटो ज्यानका नौ बर्षे विनय भन्छन् ‘ठूलो भएपछि म पशु डाक्टर बन्छु । छोराका कुरा सुनेर आमा मनसुवाका आँखा हर्षले टिलपिल हुन्छन् । ‘खै किन हो छोरो पहिल्यै देखि पशु डाक्टर हुन्छु भन्छ, पहिले पहिले त हामी दुःखि गरिवका सन्तानलाई पढाउन कसले पो सघाउला र जस्तो लाग्थ्यो, हिजो आज भने मनमा आँट बढेको छ’ उनी भन्छिन् ‘अहिलेसम्मको पारा हेर्दा बाख्राबाट कमाई हुन्छ भन्ने पक्का भएको छु, अव त श्रीमान्लाई पनि यतै बोलाउँछु ।’ तालिम लिंदा केही काम गर्नै पर्ने शर्त थियो । त्यसो त उनी केही गर्नै तालिममा गएकी थिईन् तर कुरो लगानीको थियो । १०-१५ लाख नभई काम शुरु हुने छाँट थिएन । हातमा जम्मा ३ लाख थियो । आफन्त र छिमेकीले बिझ्ने गरी भने काम धन्दा केही छैन त्यसै पैसा कसरी दिने ? कहिले बैंक त कहिले संघ संस्थामा पुगेर ऋण धन गरेर ७ कठ्ठा जग्गालाई १० लाख हालिन् । खोर बनाउँदा ८ लाख भेट्यो । बाख्रा पाल्दा टाढा टाढाबाट ल्याउनु साटो स्थानीय पाल्दा राम्रो हुन्छ भन्ने तालिममा सिकेकी थिईन् । त्यहि अनुसार ८० वटा स्थानीय बाख्रा किनिन् । यसका लागि झण्डै २ लाख लाग्यो । सबै उत्पादन बेच्न मिल्ने भएका छैनन् । उत्पादन पाउन १२-१३ महिना पाल्नै पर्छ । बेच्न मिल्ने खसी बेच्दै माउ थप्दै गर्न थालेकी छन् । १०-१२ वटा बेचिसकिन् । Mansuwa 4 तर ब्यवसायिक हिसावमा कमाई हुन केही समय कुनै पर्नेछ । लगानी गर्ने काम सकिएको छ । यो कुराईमा बाख्रालाई स्याहार्ने र मोटाउने काम मात्रै बाँकी छ । यसका लागि २ जनालाई महिनाको ६/६ हजार रुपैंया तलव दिएर राखेकी छन् । आफ्नो खटाई त छँदै छ । खटाईको फल कमाईमा शुरु नभएपनि उ बेला एउटी आईमाई भनेर हेप्ने समाज र आफन्त हिजो आज बदलिएको देख्दा मनसुवाको मन खुसीले भरिन्छ । उनी भन्छिन् फर्म हेर्न भन्दै नेता देखि ठूला ठूला मान्छे समेत आउँछन् । उ बेला २-४ हजार नपत्याउनेहरु हिजोआज उल्टै ऋण माग्न आउँछन्, आफन्तहरुको हैसियत चिनाउँदै छन् बाख्राले । हो, सबैले चिन्ने बन्ने मनसुवाको चाहना हिजो आज पुरा हुदैंछ । मनसुवालाई दुनियाँका अघिल्तिर चिनाउँदै छन् बाख्राले ! -श्रीधर पौडेल रुपन्देहीबाट फर्केर (मनसुवा गुरुङ रोजगार कोषअन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमकी लाभान्वित हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था जयन टेक्निकल कलेज अफ टेक्नोलोजिले सहयोग गरेको थियो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को मार्चसम्ममा रोजगार कोषले करिब एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) यो पनि पढ्नुहोस् अव मलाई दुःख छैनः सीता चौधरी भिडियो हेर्नुहोस्  https://www.youtube.com/watch?v=vnRp-UEO2-g&feature=youtu.be

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय