
कतार, असार १५- रोजगारीको क्रममा सन् २०१० मा कतार आएका ताप्ले–२ गोरखाका ज्ञानप्रसाद श्रेष्ठ विगत १६ महिनादेखि विचल्ली अवस्थामा छन् । न्यू भर्सन टेड्रिङ एन्ड कन्ट्याक्टिङ कम्पनीमा कार्यरत रहेका श्रेष्ठ आफ्नो प्रवेशाज्ञा लगाएको स्पोन्सरकै निधन भएपछि कम्पनी बन्द भई उनले बहिर्गमन अनुमति (एक्जिट परमिट) नपाएपछि नेपाल जान नपाएर समस्यामा परेका हुन् । पटक पटक नेपाल जाने व्यवस्था गरिदिन नेपाली राजदूतावास जाँदासमेत आफ्नो समस्या नसुनिदिएको उनको गुनासो छ । गत वैशाख १२ गतेको भूकम्पले घर पूरै भत्किएर ध्वस्त भएको अवस्थामा समेत घर जान नपाएको दुखेसो उनले पोखे । उनले भने – “परिवारका सदस्य सबै अझै त्रिपालको बास छ । न यहाँ काम छ, न तलब नै । उता परिवारको विचल्ली छ तर आफूलाई उद्धार गरिदिने कोही भएन ।” आफू वैधानिकरुपमा कतार आएर पनि दूतावासको सहयोग नपाएर गैरकानुनीरुपमा बस्न बाध्य भएको भन्दै उनले आफूलाई जतिसक्दो चाँडो नेपाल पठाउन सहयोग गरिदिन आग्रह गरेका छन् । रासस यो पनि पढ्नुहोस् युएईमा एक नेपालीको हृदयाघातबाट मृत्यु