
जनकपुर, असार १४- मिहिनेत गरे विदेशभन्दा स्वदेशमै राम्रो कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण पेस गरेका छन्, जनकपुर–७ का ३५ वर्षीय शम्भुकुमार यादवले । १० वर्षअघि विदेशबाट फर्केका उनी अहिले पोल्ट्री व्यवसाय गरेर करोडौँ सम्पत्ति आर्जन गर्न सफल भएका छन् । ०५८ सालमा एसएलसी उत्तीर्ण गरेका उनी साथीहरूको लहै–लहैमा लागेर श्रम गर्न मलेसिया पुगेका थिए । विदेश पठाउने एजेन्टले सेल्सम्यानको काम गर्न भनेर पठाए पनि त्यहाँ उनलाई पोल्ट्री फर्ममा काम गर्ने जिम्मेवारी दिइयो । ‘कुखुरासम्बन्धी मलाई केही ज्ञान थिएन, एक्कासि कुखुराको हेरचाह, स्याहारसुसार गर्ने जिम्मेवारी पाएपछि समस्यामा परेँ,’ उनले भने, ‘कहिल्यै नसोचेको काम गर्नुपर्दा चुनौती र समस्या नआउने कुरै भएन । तर, लाखौँ रकम साहुबाट ऋण लिएर बिदेसिएकाले काम गर्नैपर्यो ।’ सुरुमा कामप्रति रुचि थिएन । ‘बिस्तारै रुचि बढ्दै गयो, काममा तल्लीन हुँदै गएँ,’ उनले भने, ‘त्यतै काम गर्दैगर्दा घर फर्किएपछि पोल्ट्री फर्म सञ्चालन गर्छु भन्ने निधोमा पुगेँ ।’ हुन त कम्पनीले समयमै तलब र अन्य सुविधा उपलब्ध गराएकै थियो । ‘कम्पनीले दिएको तलब आइएमईबाट पठाउँथें सजिलो पनि थियो । रेमिन्ट्यान्स कम्पनीबाट नै पैसा पठाउन सजिलो हुन्थ्यो,’ उनले भने । विदेशमा आर्जन गरेको पैसाले देश फर्किएपछि आफ्नै व्यवसाय सुरु गर्न उनलाई सहज भयो । चार वर्षसम्म कुखुरा फर्ममा काम गरेका उनले गाउँ फर्किएपछि केही साथीसँग मिलेर पाँच सय कुखुराका चल्ला किनेर पोल्ट्री सञ्चालन गरे । ‘तर, पार्टनरबीच विवाद भएपछि पाँच सय कुखुराका चल्ला खरिद गरेर आफ्नो छुट्टै पोल्ट्री सञ्चालन गरेँ,’ उनी भन्छन्, ‘पोल्ट्री फर्म खोल्ने मेरो उत्साहमा घरपरिवार तथा दाजुभाइले पनि सहयोग गर्नुभयो ।’ सुरुमा महिनाको पाँच सय कुखुरा उत्पादन गर्ने शम्भु अहिले हरेक महिना २० हजारभन्दा बढी कुखुरा उत्पादन गर्छन् । उनले सञ्चालन गरेको पोल्ट्री फर्म धनुषाभरमै नामी छ, किनकि धनुषामा सबभन्दा बढी कुखुरा उत्पादन उनैको फर्मले गर्ने गर्छ । ‘जुन वेला मैले पोल्ट्री फर्म सञ्चालन गरें, त्यतिवेला धनुषामा सानो क्षमताका पाँच–सातवटा मात्र पोल्ट्री फर्म थिए, जनकपुर नगरपालिकालाई आवश्यक पर्ने कुखुराको मागलाई ती फर्मले पूर्ति गर्न सक्ने कुरै थिएन,’ उनले सम्झिए । जनकपुर बजारमा मात्रै दैनिक २५ देखि ३० क्विन्टलसम्म कुखुराको मासु खपत हुन्छ । हुन त अहिले पनि जनकपुर बजारमा केही मात्रामा बाहिरबाट जिउँदो कुखुरा आउने गरेको छ । ‘कुखुरा कटिङ सेन्टर र कुखुरा उत्पादन गर्ने किसानबीच मूल्यको विषयलाई लिएर समय–समयमा मतभेद हुँदै आएको छ, जसले गर्दा कहिलेकाहीँ व्यवसायमा समस्यासमेत हुने गरेको छ,’ उनी भन्छन् । फर्मलाई बिस्तारै विशाल रूप दिँदै जाने आफ्नो योजना रहेको उनी सुनाउँछन् । थोरै समयमै व्यवसायमा सफलता पाउन सफल शम्भु यादव भन्छन्, ‘पोल्ट्री फर्म सञ्चालनको सुरुवाती अवस्थामा कुखुरालाई खुवाउने दानाको समेत समस्या हुने गरेको थियो । सीमित संख्यामा रहेका दानाका डिलरले समयमै आपूर्ति गर्न सकिरहेका थिएनन् । त्यसकारण चार वर्षअघि मैले यी समस्यालाई समाधान गर्न आफैंले रुमा फिड सप्लायर्स दर्ता गराएँ र अहिले यसले जनकपुर र धनुषाका अधिकांश पोल्ट्री फर्ममा दानाको आपूर्ति गर्दै आएको छ ।’ अहिले आफूसँग २० भन्दा बढी कुखुरा उत्पादक किसान व्यावसायिक रूपमा जोडिएको उनी बताउँछन् । ‘उनीहरूलाई कुखुराको चल्ला उपलब्ध गराउनेदेखि उत्पादित कुखुराको बिक्री–वितरणसम्मको जिम्मेवारी मैले नै लिएको छु, यहाँसम्म कि समय–समयमा प्राविधिक सल्लाह सुझाबसमेत दिने गरेको छु,’ उनी भन्छन् । चिकित्सकहरूले खसी, सुँगुर लगायतको मासुभन्दा कुखुराको मासु स्वस्थकर भएको भन्दै मानिसलाई खान सुझाव दिने गरेकाले कुखुरा व्यवसायको बजार अझ बढ्ने उनी बताउँछन् । सफा र स्वच्छ मासुका लागि उनले जनकपुर उपमहानगरपालिका–७ मा धनुषा फ्रेस हाउस कटर सेन्टर खोलेका छन् । यहाँ बजारभन्दा सस्तो दरमा कुखुराको मासु पाइन्छ । शम्भुले उत्पादन गरेका कुखुरा धनुषाका सबैला, महेन्द्रनगर, ढल्केवर तथा काठमाडौं, धरान, विराटनगरसहितका सहरमा बिक्री–वितरण हुँदै आएको छ । विभिन्न स्थानमा कुखुरा पुर्याउन उनले आफ्नै पिक अप भ्यानसमेत खरिद गरेका छन् । शम्भुको कुखुरा व्यापार यसरी फस्टाउनुमा उनको परिवारको पनि हात छ । शम्भुका भाइ शिवशंकर र दाजु लालबाबु पनि यसमा उत्तिकै खट्छन् । शिवशंकरले सिंगापुरबाट होटेल म्यानेजमेन्टको अध्ययन पूरा गरेका छन् । दाजुको कुखुरा फर्ममा आकर्षक कमाइ हुने देखेपछि उनी पनि यसैमा लागेका छन् । शिवशंकर भन्छन्, ‘सुरुमा यस पेसाप्रति कुनै चासो थिएन । पछि यसमा राम्रो कमाइ हुने देखियो र यसैलाई पेसा बनाए । पोल्ट्री व्यवसायको कला सिक्न उनले चितवनमा ६ महिनाजति बिताए । यसरी आर्जन गरेको सीपलाई उनी व्यवसायलाई व्यवस्थित रूपमा अघि बढाउन खर्चिरहेका छन् । दाजु लालबाबु यादव पनि उत्तिकै सक्रिय भएर यो व्यवसायमा लागेका छन् । फर्म, फ्रेस हाउस तथा फिड सप्लार्यसमा गरी शम्भुले २० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । अरूजस्तो आफूलाई कहिल्यै पनि मजदुरको अभाव नभएको उल्लेख गर्दै उनी भन्छन्, ‘राम्रो व्यवहार गर्नुपर्छ र श्रमअनुसारको पैसा दिनुपर्छ । यति गर्यो भने कामदारको खाँचो पर्दैन ।’ यति ठूलो पोल्ट्री फर्म सञ्चालन गरेको भए पनि राज्यबाट कहिले पनि कुनै सहयोग वा कुनै सुविधा आफूले नपाएको उनको गुनासो छ । ‘जिल्ला पशु कार्यालयसँग सरसल्लाहका लागि आग्रह गरेँ तर उनीहरू अहिलेसम्म एकचोटि पनि फर्मको अनुगमन गर्न आएका छैनन्,’ उनले भने । कुखुरा पालनसम्बन्धी कुनै सरसल्लाह लिनुपरे वा कुखुरालाई औषधि खुवाउनुपरे बाहिरबाट चिकित्सक बोलाउने गरेको उनी बताउँछन् । जिल्ला पशु कार्यालयले प्रत्येक वर्ष उत्कृष्ट पशुपालन गर्ने तथा कुखुरा कटर सञ्चालन गर्नेलाई पुरस्कार दिने गरेका छन् । तर, अहिलेसम्म उनले राज्यबाट कुनै खालको सम्मान अथवा पुरस्कार पाएका छैनन् । जनकपुरमा कुखुरा वधशालाको आवश्यकता रहेको उनको भनाइ छ । वधशालाको अभावमा जनकपुरमा थप प्रदूषण हुने गरेको छ । विदेशमा गएकाहरूलाई स्वदेशमै काम गर्न उनी सुझाब दिन्छन् । उनी भन्छन्, ‘विदेशमा गर्नेजति श्रम देशमै गर्न सकियो भने देशको विकास पनि हुन्छ, आम्दानी पनि बढी हुन्छ र समाजमा प्रतिष्ठा पनि बढ्छ ।’ नयाँ पत्रिकाबाट यो पनि पढ्नुहोस् अव त श्रीमानलाई नेपाल नै बोलाउँछु