
दोहा, असार १४- बहराइनले गैरकानुनी रूपमा बसेका विदेशी कामदारलाई स्वदेश फिर्न ६ महिने आममाफी घोषणा गरेको छ । आममाफी जुलाई १ देखि लागू हुनेछ । यो घोषणाबाट नेपालीसहित आप्रवासी कामदारलाई राहत मिलेको छ । बहराइनको श्रम बजार नियमन निकाय (एलएमआरए) ले कम्पनीमा काम नगरी बाहिरिएका, कम्पनीबाट निष्कासनमा परेपछि हिंडेका, भिसा नवीकरण नगरी बसेकालगायत घरेलु र औपचारिक (कम्पनी) क्षेत्रमा कार्यरत गैरकानुनी कामदारको हकमा आममाफीको योजना लागू हुने जनाएको छ । एलएमआरएले गैरकानुनी कामदारलाई वैध रूपमा राख्न उनीहरूलाई बिनाजरिवाना स्वदेश पठाउनका साथै कालोसूचीमा नराख्न आममाफी दिइएको जनाएको छ । बहराइन सरकारले आइतबार यसबारे नेपालसहित विदेशस्थित राजदूत र श्रम सहचारीलाई जानकारी दिएको छ । एलएमआरएले बिना व्यवधान काम गर्ने र फर्कनेमध्ये एक अवसर रोज्न कामदारलाई विकल्प दिइएको जनाएको छ । ‘कानुनी झन्झट र ठूलो जरिवाना नतिरी आममाफी प्रयोग गर्न सकिने व्यवस्था मिलाएका छौं,’ एलएमआरएका प्रमुख कार्यकारी अधिकृत अस्माह अलब्सीले भने, ‘कामदारलाई थप शोषण हुनबाट जोगाउन खोजेका हौं । उनीहरू थप खराब अवस्थामा पुग्नु नपरोस् साथै ठूलो आर्थिक संकटमा गुज्रिनु नपरोस् भन्ने उद्देश्यले आममाफी दिएको उनले बताए । बहराइनका लागि कार्यवाहक राजदूत मणिप्रसाद भट्टराईले गैरकानुनी रूपमा बसेका नेपालीले आफूलाई वैध बनाउने उपयुक्त समय आएको बताए । ‘गैरकानुनी रूपमा बस्नेमा धेरैजसो घरेलु कामदार रहेको हाम्रो अनुमान छ,’ भट्टराईले भने, ‘जबसम्म समस्यामा पर्दैन तबसम्म उनीहरू दूतावास आउने गरेका छैनन् । त्यस्ता कामदार भए पनि हामीसँग तथ्यांक छैन ।’ घरमा काम गर्ने महिलालाई नेपालीले नै अन्य ठाउँमा भगाउने गरेका छन् । घरमा थोरै समस्या खेपेकाहरूलाई प्रलोभनमा देखाएर भगाउने र केही समय आफूसँग राखेर अलपत्र पारिदिने नेपाली पनि बहराइनमा छन् । भागेकाहरू स्थानीय होटेल, रेस्टुरेन्ट र दोहोरी बारमा काम गर्छन् । ‘आममाफीले गर्दा घर जाने बाटो खुल्यो,’ सिन्धुपाल्चोककी रिना श्रेष्ठले भनिन्, ‘जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने हुनाले जान सकिएको थिएन । अब जतिसक्दो छिटो फिर्नेछु ।’ कान्तिपुरबाट यो पनि पढ्नुहोस् अव त श्रीमानलाई नेपाल नै बोलाउँछु