
काठमाडौं – मलेसियाका गृहमन्त्री दातुक सेरी अहमद जाहिद हमिदीले तीन बर्ष भित्रमा १५ लाख बंगलादशी कामदार भित्रियाउने बताएका छन् । उनले मलेसियाका विभिन्न कम्पनीको माग पूर्ती गर्न यति संख्यामा बंगलादेशी कामदार लैजाने बताएका हुन् । नेपालले फ्रि भिसा र फ्रि टिकटमा मात्र कामदार पठाउने निर्णय गरेको अवस्थामा मलेसियाली गृहमन्त्रीको यो भनाई सार्वजनिक भएको हो । ‘हामी जुलाई १७ पछि ढाकामा यो सम्झौता हुनेमा आशावादी छौं’ हमिदीले भने ‘ति कामदारले विभिन्न क्षेत्रमा काम गर्नेछन् । विशेष गरी कृषि क्षेत्रमा र उनीहरु पेनिन्सुलार तथा सवाह र सारवाकमा काम गर्ने छन् ।’ मलाक्कमा बोल्दै मलेसियाली गृहमन्त्री हमिदीले भने ‘तर ति बंगलादेशबाट आउने नयाँ कामदार मात्र हुनेछन् । मलेसियामा नै अवैध रुपमा लुकेर काम गरिरहेकाहरुले बैध हुने अवशर पाउने छैनन्, उनीहरुलाई स्वदेश फर्काउने क्रम जारी रहनेछ ।’ बंगलादेशी कामदारलाई मलेसिया लैजानु अघि निश्चित तालिम दिएर अर्धदक्ष बनाइने उनले बताएका छन् । कामदारको बीमा गर्नुपर्ने, उनीहरुको आवासको व्यवस्था हुनुपर्ने, बैंक मार्फत तलव भुक्तानी गर्नुपर्ने र कामदारको सुरक्षामा पर्याप्त ध्यान दिनुपर्ने शर्त राखिएको मलेसियाको अनलाइन द मलेसियन इनसाइडरले समाचार लेखेको छ । नेपालीको मुख्य गन्तव्य मुलुक मलेसियाले बंगलादेशी कामदारका लागि खुल्ला गरेपछि यसले नेपाली कामदारकोे मागमा असर पर्न सक्ने व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । यो पनि पढ्नुहोस् पुच्छरले कुकुर नहल्लाओस्