असार २१ देखि निःशुल्क बनाउने सरकारी तयारी

काठमाडौं – सरकारले वैदेशिक रोजगारीमा निःशुल्क कामदार पठाउने व्यवस्था असार २१ गतेदेखि कार्यान्वयन गर्ने भएको छ। असार २१ देखि भिसा र टिकट निःशुल्क गर्ने कम्पनीलाई मात्र श्रम स्वीकृति दिइने श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले जेठ २७ मा निस्शुल्क टिकट र भिसामा मात्र वैदेशिक रोजगारीमा कामदार पठाउने नीतिगत निर्णय गरेको थियो। सोही निर्णयलाई अब कार्यान्वयन गर्न लागिएको हो। यो निर्णय कार्यान्वयन भएमा विदेसिने कामदारले ठूलो राहत पाउनेछन्। श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङका कानुनी सल्लाहकार केशवराज जोशीले असार २१ देखि टिकट र भिसा निःशुल्क ल्याउने कम्पनीलाई मात्र कामदार पठाउन स्वीकृति दिइने आइतबार निर्णय गरिएको जानकारी दिए। यो निर्णय कार्यान्वयन गर्न सरकारले अनुगमन संयन्त्रसमेत बनाएको छ। नेपाली कामदार सबैभन्दा धेरै जाने मलेसिया र खाडीका ६ वटा मुलुकमा रोजगारदाताले टिकट र भिसा निःशुल्क उपलब्ध गराएमात्र पठाउन लागिएको हो। अहिलेसम्म मलेसिया जान ८० हजार खाडी मुलुकमा ७० हजार रुपैयाँ तिर्नुपर्ने नियम छ। तर कामदारले भने सरकारले तोकेभन्दा दोब्बर बढी शुल्क तिर्दैआएका छन्। म्यानपावर व्यवसायीले भने सरकारको नयाँ निर्णयको विरोध गरेका छन्। निःशुल्कको प्रावधानले नेपाली कामदारको कोटा गुम्ने उनीहरूको दाबी छ।  सरकारले भने निःशुल्क प्रावधानले कोटा नगुम्ने बताएको छ। खाडी र मलेसियाका अधिकांश ठूला कम्पनीले विगतमा पनि टिकट र भिसा निःशुल्क दिने गरेको सरकारको भनाइ छ। यसैबीच, राजधानीमा सोमबार वैदेशिक रोजगार विभागले आयोजना गरेको कार्यक्रममा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले निःशुल्क कामदार पठाउने निर्णय कार्यान्वयनमा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। कामदारका हितमा भएकाले निःशुल्कको प्रावधान लागू हुन्छ, व्यवसायीले नियमकानुनको पालना गर्नैपर्छ, उनले भने। सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि कानुन र पेसागत व्यवस्था विषयमा आयोजना गरिएको कार्यक्रममा राज्यमन्त्री गुरुङले कानुनको पालना नगरे कडा कारवाही हुने चेतावनी दिए। श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले क्यानडामा नेपालीलाई रोजगारी दिन सरकारले गृहकार्य गरिरहेको बताए। इजरायलमा पनि कामदार पठाउन अन्तिम तयारी भएको उनले बताए। कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले कानुनको पालना नगर्नेमाथि कडा कारवाही गरिने बताए। अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस् बेचिएर खाडी पुर्याएकी नेपाली महिलाको कसरी सम्भव भयो उद्धार ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: