बैदेशिक रोजगारी नेपाली महिलाका लागि चुनौतीपूर्ण छ । अझ भारतको बाटो भएर जाने महिलाहरुको लागि त बैदेशिक रोजगारीको सपना अभिसाप जस्तै बनेको छ । एक नेपाली महिला, नवलपरासीकी सम्झना गैरे (नाम फेरिएको) एक पात्र हुन् जो युरोपको सपना देख्दै खाडीको मुलुकमा बेचिइन् र बल्ल तल्ल भागेर नेपाल फर्किन सफल भएकी छिन् । नवलपरासी घर भएकी गैरे काठमाडौमा बसेर सिलाई कटाईको काम गर्थिन् । उनका श्रीमान नवलपरासीमा टायल मार्बलको काम गर्थे । एक जनालाई फुर्सद हुँदा अर्कोलाई भेट्न जाने आउने गर्थे । दिनहरु राम्रैसंग बितिरहेको थियो । तर अचानक सम्झनाका श्रीमानलाई बिदेशको नम्बरबाट फोन आयो । उठाउँदा त उनकी श्रीमती रोएको आवाज आयो । उनले रुँदै मलाई गाह्रो भो नेपाल ल्याउनुस भन्दै फोन गरेपछि बल्ल श्रीमान धनराज थनेतलाई आफ्नो श्रीमती बिदेश गएको कुरा थाहा भयो । पछि त्यहि नम्बरमा फोन गर्दा सम्पर्क हुन नसकेपछि धनराज कावासोतीमा रहेको सुचना तथा परामर्श केन्द्रमा आईपुगे हारगुहार माग्दै । दुई बर्षको छोरालाई माईतमा बहिनीलाई जिम्मा लगाएर म कटिङ्गको तालिमको लागि एक हप्ताका लागि बाहिर जान्छु भनेर हिंडेकी सम्झना एकाएक विदेश पुगेको खवरले माइती, घरतर्फका सवै अचम्ममा परे । उनलाई कसले पठाएको हो, कहाँ पुगेकी हुन् कुनै अत्तोपत्तो थिएन । सुचना तथा परामर्श केन्द्र कावासोतीका संयोजक रीतु राम सोतीले भनेः तैपनि जे सुचना उपलब्ध थियो त्यहि सुचनाको साथमा हामीले उनको घटना प्रवासी नेपाली समन्वय समिति, काठमाडौमा पठायौ । समय वितदै थियो । तर उनको खोजीमा धेरै प्रगति हुन सकेन । किनकी उनका बारेमा धेरै जानकारी थिएन । अर्कातर्फ उनले दुवईबाट गरेको फोनमा नेपालबाट फोन गर्दा त्यो फोन उठ्दैनथ्यो । यता श्रीमति विदेशमा अपलत्र परेको सुनेका गैरेका श्रीमान धनराज दिनदिनै सुचना केन्द्रमा धाउन थाले । “तर हामीसँग जवाफ केहि थिएन” संयोजक सोतीले भने हाम्रो प्रयास भने जारी थियो । त्यस बीचमा केन्द्रले सो घटनालाई बेचविखन अन्तर्गत दर्ता गर्न ईलाका प्रहरी कार्यालय कावासोतीमा पनि पठायो । न लैजाने मान्छेको ठेगान थियो न नै उनको हालको अवस्था नै केहि थाहा थियो । त्यसैले प्रहरी प्रशासनबाट पनि केहि हुन सकेन । यसबीचमा सुचना तथा परामर्श केन्द्रबाट देशपरदेश डटकमलाई यसमा सहयोग गर्न सकिन्छ की भन्ने आग्रह गरियो । त्यहाँबाट दुबईमा कार्यरत केहि पत्रकारहरुको मद्धतले यस बारेमा कुनै खोजी गर्न सकिन्छ की भन्ने अपेक्षामा केन्द्रले सबैभन्दा पहिला सम्झनाले रुँदै फोन गरेको नम्बर देशपरदेशलाई उपलव्ध गरायो । त्यहाँबाट यूएईमा कार्यरत नेपाली पत्रकारहरु मेघराज सापकोटा, लक्ष्मण खनाल, भुपराज बस्याल लगायतलाई सो नम्वर उपलव्ध गराई खोजीका लागि देशपरदेशले पहल थाल्यो । सोही क्रममा खनाल र बस्यालले त्यो नम्वरमा फोन गरी सो नम्वर चलाउने व्यक्ति एक म्यानपावर कम्पनी सञ्चालक भारतीय नागरिक भएको पत्ता लगाए । उनीहरुले सम्झना गैरेलाई बेपत्ता बनाएको भन्दै उ विरुद्ध नेपाली दुतावास मार्फत उजुरी गर्ने चेतावनी दिएपछि सो व्यक्तिले गैरेलाई आफूले घरेलु कामदारको रुपमा काम गर्न पठाएको र सम्पर्क गराइदिने बतायो । यसले उनको खोजीमा ठूलो मद्धत पुगेको सुचना केन्द्रका संयोजक सोती बताउँछन् । सो एजेन्टलाई फोन गर्दा उसले नेपालको एजेन्टको नाम र उसबाट गैरेलाई १६ सय ओमानी रियालमा आफूले किनेको र घरेलु कामका लागि एकजना ब्यक्तीलाई दिएको जानकारी दियो । त्यसपछि नेपालको एजेन्टलाई पत्ता लगाएर कारबाहीको प्रकिया अगाडी बढाउन धनराजलाई भनियो र सम्झनाको उद्धारको लागि सुचना तथा परामर्श केन्द्र कावासोतीले काम शुरु गर्यो । उनलाई झापाकी एक महिलाले भारतको बाटो भएर त्यहाँ पुर्याएकी थिइन् । प्रवासी नेपाली समन्वय समितिले पनि सम्झनासँग कुराकानी गर्दा उनलाई त्यहाँबाट ओमान लगिन लागेको थाहा भयो । एजेन्टले उनलाई क्यानाडा लैजाने भनेर त्यहाँ पुर्याएको रहेछ । दुवईमा घरमा काम गर्दिन भन्दा आफुलाई कुटपिट गरेको सम्झनाले बताइन् । उनको उद्धारका लागि प्रवासी नेपाली समन्वय समितिले यूएई स्थीत नेपाली दुतावास मार्फत काम गर्न खोज्दा खोज्दैै दलालले उनलाई ओमान पुर्याए । तर त्यसअघि नै पिएनसीसीले ओमानमा रहेको दुतावास र सम्पर्क ब्यक्तीको फोन नम्बर सम्झनालाई उपलब्ध गराईसकेको थियो । उनी सजिलै नेपाल फर्काउन सक्ने अवस्था नभएको बुझे पछि जसरी हुन्छ ओमनमा बसेको घरबाट दुताबाससम्म पुग्नका लागि पिएनसीसीले सल्लाह दिईरहेको थियो । उनी ओमनको प्रहरीको एक ठूलै पदका व्यक्तिको घरमा काम गर्न पुर्याएकी थिएन् । भाग्न सजिलो थिएन । घरमा श्रीमानलाई समेत नभनि भागेर हिंडेकी उनलाई रातभरी निद्रा लाग्दैनथ्यो । जसरी भएपनि घर फर्किन पाए हुन्थ्यो भन्ने मात्र भईरह्यो । यस बिचमा गार्डहरु निदाईरहेको समयमा दुईवटा कुर्चि राखेर उनी हाम फालेर भाग्न सफल भइन् । उनी भागेर दुतावासमा पुगिन् । त्यहाँ उनले राम्रो सहयोग पाइन् । १४ दिनसम्म दुतावासमा बसेको उनी माइती पुगेजस्तो भएको बताउँछिन् । त्यस पछि ट्राभल डकुमेन्ट बनाएर गैरे एक महिना पछि नेपाल फर्किन सफल भइन् । उनलाई फर्किने बेलामा दुतावासका नेपाली कर्मचारीले ४० रियाल हातमा हालिदिए । उनलाई माइतीबाट घर फर्किंदा जस्तै भयो । ओमानमा बसेको घरबाट भाग्दा सम्झनालाई ढाडमा चोट लागेको छ । उनी मानसिक रुपमा पनि बिरामी अवस्थामा छन् । त्यसैले उनलाई परामर्श केन्द्र कावासोतीका मनोसामाजिक मरामर्शदाताले सहयोग गरिरहेका छन् । उनले नेपाल फर्केपछि दिएको जानकारी अनुसार उनी भारतको बाटो भएर गएकी थिइन् । उनलाई मुम्वईमा लगेर झण्डैै एक महिना राखिएको थियो । मुम्वईमा कुनै एउटा घरमा एउटा ठूलो हल थियो । त्यहिं राखिन्थ्यो नेपालबाट लगिएकाहरुलाई । त्यहाँबाट दिनमा १५ जनाको हाराहारीमा उड्थे विदेश । नेपाल फर्किन्छु भन्दा कुटपीट गर्ने गरेको सम्झना बताउँछिन् । उनलाई भारतबाट युएई पुर्यापछि त्यहाँ ११ दिन राखिएको थियो । त्यसपछि उनलाई ओमान पुर्याएको हो । गैरेलाई जस्तै अन्यलाई पनि त्यस्तै एजेन्टले दुबई हुँदै ओमान ल्याउन सक्ने बताउदै ओमानमा रहेको नेपाली दुताबासले यसप्रति चनाखो रहन र त्यस्ता एजेन्टलाई कानुनी कठघरामा ल्याउन सबैले आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अनुरोध पनि गरेको छ । प्रमाण विहिन अवस्थाका र गन्तब्य देशमा परेको समस्यालाई समाधान गर्न सञ्चार क्षेत्र र पत्रकारको अहम् भूमिका हुने गर्छ । उनीहरुको सहयोगबाट नै सम्झना गैरेले छिटो भन्दा छिटो नेपाल फर्किन पाएको बताउँदै संयोजक सोतीले पत्रकारहरु प्रति बिशेष आभार प्रकट गरेका छन् । रञ्जना लम्साल, नवलपरासी यो पनि पढ्नुहोस् पुच्छरले कुकुर नहल्लाओस्
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1