नक्कलीको प्रमाणपत्र खोज्न समिति

काठमाडौ, असार ६- निजामती किताबखानाबाट विवादास्पद सहसचिव भरतराज सुवेदीको व्यक्तिगत फाइल एकाएक गायब भएपछि सामान्य प्रशासन मन्त्रालयले उनको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र खोज्न छानबिन समिति गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकसमेत रहेका ‘सुवेदीसँग दुइटा नागरिकता’ शीर्षकको समाचार कान्तिपुरमा प्रकाशित भएपछि सरकारले उनको व्यक्तिगत फाइल बुझ्दा गायब रहेको पाइएपछि सामान्य प्रशासनले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको हो । सामान्य प्रशासनका सहसचिव सुरेश अधिकारीको संयोजकत्वमा गठित छानबिन समितिमा सामान्यका उपसचिव नन्दराज ज्ञवाली र कानुन अधिकृत बाबुराम पाण्डे छन् । सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता अधिकारीका अनुसार निजामती किताबखानामा सुवेदीको व्यक्तिगत अभिलेख खोजी गर्दा केही पनि भेटिएन । किताबखानामा रहेको सुवेदीको नागरिकताको प्रमाणपत्र र एसएलसीदेखि स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यताको प्रमाणसहितको प्रतिलिपि उनको व्यक्तिगत फाइलबाट गायब पारिएको छ । सुवेदीले तीन वर्ष जागिर अवधि बढाउन उमेर घटाई दोस्रो नागरिकता प्रमाण लिएका छन् । उमेर सच्याइएको नागरिकता र सोहीअनुसार मिति मिलाएर शैक्षिक प्रमाणपत्रका नयाँ प्रतिलिपि व्यक्तिगत फाइलमा राख्न सुवेदीले किताबखानाका कर्मचारीहरूलाई मिलाएर पुराना व्यक्तिगत फाइल गायब पारेको हुन सक्ने आशंका सामान्यका अधिकारीको छ । छानबिन समितिले सुवेदीको व्यक्तिगत फाइल कसरी गायब पारियो भनेर अनुसन्धान गर्ने, कहीँ छ कि भनेर खोज्ने र खोज्न लगाउने, सम्बन्धित जिल्ला प्रशासन र शैक्षिक निकायसिसत उनको नागरिकता र शैक्षिक प्रमाणपत्रको विवरण झिकाएर लिन जानकारी अधिकारीले दिए । शैक्षिक प्रमाणपत्र र नागरिकता प्रमाणपत्रमा जन्ममिति उल्लेख हुने हुनाले समेत उमेर किर्ते गरी सच्याएरनसच्याएको थाहा हुनेछ । समितिले एक साताभित्र दोषीमाथि कारबाहीको सिफारिससहित छानबिन प्रतिवेदन बुझाउनेछ । समितिले सोमबार नै मोरङ जिल्ला प्रशासन र सुवेदीले अध्ययन गरेका शैक्षिक निकायमा नागरिकता प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि दिन अनुरोध गरी पत्र पठाइसकेको छ । नेपाल नागरिकता ऐन २०६३ को उल्लंघन गरी सुवेदीले किर्ते गरी तीन वर्ष उमेर घटाएर दोस्रोपटक नागरिकता प्रमाणपत्र लिएका छन् । तीन वर्ष जागिर अवधि बढाउन उनले जन्ममिति सच्याई दोस्रो नागरिकता प्रमाणपत्र लिएका हुन् । निजामती प्रशासनमा प्रायस्जसो विवादमा आइरहने विवादास्पद सहसचिव सुवेदीले गैरकानुनी रूपमा दुवै नागरिकता प्रमाणपत्र प्रयोग गरिरहेकोसमेत पाइएको छ । २०३२ असोज १३ मा मोरङबाट लिएको उनको नागरिकता प्रमाणपत्रमा जन्ममिति २०१४ असोज १५ छ । सुवेदीको मतदाता नामावलीको प्रतिलिपिमा समेत यही जन्ममिति उल्लेख छ । उनले २०३२ असोज १३ मा नागरिकता लिँदा जिल्ला प्रशासन कार्यालय मोरङको नागरिकता जारी मिति, उमेर, नागरिकता लिनेको हस्ताक्षर भएको ढड्डामा उनको जन्ममिति २०१४ असोज १५ उल्लेख छ । निजामती किताबखानाको सिटरोलमा भने उनको जन्ममिति वास्तविकभन्दा तीन वर्ष कम अर्थात् २०१७ असोज १५ उल्लेख छ । सुवेदीले जन्ममिति सच्याएको प्रशासनभित्र गाइगुइँ चल्नासाथ सिटरोलमा राखिएको नागरिकता प्रमाणपत्र र जन्ममिति उल्लेख भएका शैक्षिक प्रमाणपत्र भने छानबिनमा नपरुन् भनेर रातारात गायब पारिएको स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार किताबखानामा व्यक्तिगत फाइलमा नयाँ नागरिकताको कपी र त्यहीअनुसार मिति मिलाइएको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि राख्नका लागि पुरानो गायब पारिएको हो । कानुनको उल्लंघन गर्दै किर्ते गरी दोस्रो नागरिकता नलिएको भए २०४२ असार २५ मा सेवा प्रवेश गरेका सुवेदीले ५८ वर्ष उमेर पूरा गरी आगामी असोज १५ मा अनिवार्य अवकास पाउँथे । सच्याइएको नागरिकताअनुसार उनले थप तीन वर्ष अर्थात् २०७५ असोज १५ सम्म जागिरमा बहाल रहन पाउनेछन् । निजामती किताबखाना सिटरोलमा उनले २०७५ असोज १५ मा अवकास पाउने उल्लेख छ । सिटरोलमा भएको विवरणअनुसार उनले १४ वर्ष नपुग्दै २०३१ सालमा एसएलसी उत्तीर्ण गरेको देखिन्छ । त्यतिबेला एसएलसी दिन १६ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था थियो । पहिलो नागरिकताअनुसार भने उनले १७ वर्षमा एसएलसी उत्तीर्ण गरेका थिए । कान्तिपुरबाट यो पनि पढ्नुहोस् पुच्छरले कुकुर नहल्लाओस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय