
काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले गत साता बाल्टिमोरमा सम्पन्न टाउन हल बैठकको समिक्षा गर्दै कार्यक्रममा सहभागिता जनाएकी राष्ट्रपति ओबामाकी सल्लाहकार संजिता प्रधान, इन्डियन हेद सिटीका मेयर किरण रोन सिटौला र अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीलाई धन्यवाद दियो । यसै गरि संघको अन्तराष्ट्रिय समन्वय परिषदले सुरु गरेको मातृभूमि नेपालको संविधानमा नेपाली नागरिकता निरन्तरता अभियानलाई प्रभावकारी बनाउन अध्यक्ष डा. केशव पौडेलको संयोजकत्वमा कृष्ण पोख्रेल, राम सी पोख्रेल, रबीना थापा, शंकर खड्का, सर्बज्ञ वाग्ले, सशील रेग्मी र सतेन्द्र शाह रहेको विशेष कार्यदल समेत गठन गरेको छ । बैठकले अमेरिकामा गैर आवासीय आन्दोलनलाई थप मजबुत र प्रभावकारी बनाउन एक महिना भित्र अगुवा समाजसेवी र बिद्धत वर्ग रहेको सल्लाहकार समिति गठन गर्ने निर्णय गरेको छ । यसका अतिरिक्त अमेरिकामा रहेका नेपाली समुदायको हितमा काम गर्न भिन्न भिन्न उद्धेश्य रहेको कार्यदल गठन प्रक्रिया समेत सुरु गरेको छ । मातृभूमि नेपालमा गएको प्रलयकारी भुकम्प लगत्तै संघको तर्फबाट अति प्रभावित क्षेत्रमा गरिएको राहत वितरण र स्वास्थ्य परिक्षण अभियानको समिक्षा गर्दै मातृभूमि पुनर्निर्माणको अभियानमा अन्तराष्ट्रिय समन्वय परिषद मार्फत नेपाल सरकारसंग हातेमालो गर्ने निर्णय गरेको छ । मातृभूमि नेपालमा गएको प्रलयकारी भुकम्पबाट प्रभावित नेपाली अमेरिकनको हितमा संचालित टेम्प्रोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) हस्ताक्षर अभियानमा सहयोग पुर्याउने संघ संस्थालाई धन्यवाद ज्ञापन गर्दै यसको पक्षमा जनमत निर्माण र कार्यान्वयनका लागि निरन्तर क्रियाशील रहने निर्णय गरेको छ । यो पनि पढ्नुहोस् मेरो भिसा कहिले आउँछ…………?