साउदी अरब- वैदेशिक रोजगारका क्रममा साउदी अरब आएका चार दर्जनभन्दा बढी नेपाली महिला जोखिममा परेका छन्। रियादस्थित गल्फ क्याटेरिङ कम्पनी काकोको स्कुल फिडिङ परियोजनामा कार्यरत ती महिलालाई सम्झौता अवधि समाप्त भएको भन्दै अन्यत्रै काम लगाउन थालिएपछि जोखिम बढेको हो। परियोजना अवधि समाप्त भए पनि कम्पनीसँग ती महिलाको सम्झौता अवधि बाँकी रहेकाले कम्पनीले अन्यत्र काममा पठाउन लागेको बुझिएको छ। स्कुल फिडिङ परियोजनामा काम लगाउन ल्याइएका नेपाली महिलाले विद्यार्थीलाई खानेकुरा बिक्रीवितरण गर्दै आएका थिए। कम्पनीमा काम गरेर भर्खरै नेपाल फर्केका दाङका कविराज खनालका अनुसार कम्पनीले केही महिलालाई अर्को कम्पनीमा खानेकुरा प्याकिङ, सरसफाइ मजदुर र खदमा (घरेलु कामदार) का रुपमा पठाउने तयारी गरिरहेको छ। दाङकै हेमन्त दसौरीका अनुसार उनीहरुको अवस्था जोखिममा छ। उनीहरुको सम्झौताअवधि समाप्त नभएकाले कम्पनीले घर फर्कन ७ हजार रियाल तिर्नुपर्ने सर्त राखेको छ। दुई वर्षका लागि आएका उनीहरुले १८ महिना मात्र कटाएका छन्। भीमा ढकालले घरमा साना छोराछोरी र बूढा बा–आमा मात्र रहेका र भूकम्पले पीडित भएकाले नेपाल जान छुट्टी माग्दा ७ हजार रियाल तिर्न भनेको सुनाइन्। ढकालका श्रीमान पनि साउदीको दम्माममै कार्यरत छन्। उनले पनि कम्पनीबाट छुट्टी नपाउँदा परिवारलाई दुःखमा साथ दिन नसकेको पीडा बोकेर काम गरिरहेका छन्। उनले आफूहरु अत्यन्तै कम तलबमा आएको र हाल कम्पनीले ठूलो रकम तिर्नुपर्ने सर्त राखेकाले नेपाल फर्कन समस्या भएको बताए। कम्पनीले उनीहरुलाई विद्यालयमा भएको तीनमहिने बिदाका कारण काममा नलगाई बन्द कम्पाउन्डमा राखेको छ, बाहिर आउनसमेत दिएको छैन। उनका अनुसार उक्त कम्पनीमा ५० जनाभन्दा बढी महिला कार्यरत छन्। जानकारी छैन दूतावासलाई रियादमा प्रधान कार्यालय रहेको गल्फ क्याटेरिङ कम्पनी काकोमा ५० भन्दा बढी नेपाली महिला आप्रवासी कामदारका रुपमा रहेको रियादस्थित नेपाली दूतावासलाई भने जानकारी नै छैन। श्रमसहचारी कृष्णप्रसाद दवाडीले उक्त कम्पनीमा महिला कामदार रहेको बारे आफूलाई जानकारी नभएको बताउँदै महिलाहरु पनि कसैले सम्पर्क नगरेको बताए। महिलाहरुले सम्पर्क गरेर आफ्ना समस्या अवगत गराए सहयोग गर्न सकिने उनले आश्वस्त पारे। लक्की एचआर सोलुसन प्रालि र अक्सफोर्ड इन्टरनेसनल प्रालिमार्फत साउदी अरब आएका ती महिलाले आफूहरुलाई उद्धारका लागि सघाउन आग्रह गरेका छन्। उनीहरुले नाम र ठेगाना भने उपलब्ध गराउन चासो देखाएका छैनन्। उक्त कम्पनीले सम्झौता अवधि नसकिएका आधारमा उनीहरुलाई घरेलु कामदारका रुपमा काम लगाउन सक्ने र त्यसले जोखिम बढाउने जानकारहरुले बताएका छन्। श्रमसम्झौतानुसार उनीहरुलाई फरक प्रकृति र सम्झौता विपरीत काममा लगाउन नपाउने भए पनि कम्पनीले अरबी लिखतमा सही गर्न लगाएर उनीहरुलाई फसाउन सक्ने सम्भावना छ। पुरुष कामदारले कम्पनी छाडे रियादस्थित सोही गल्फ क्याटेरिङ कम्पनीका पुरुष नेपाली र भारतीय कामदारले फरक प्रकृतिको काममा स्थानान्तरण गर्न खोजिएको र भूकम्प पीडितलाई नेपाल जान नदिइएको विरोधमा गत मे ९ बाट कम्पनीमा तालाबन्दीसमेत गरेका थिए। त्यस क्रममा पटकपटक झडप हुनुका साथै केही नेपाली कामदार घाइते भएका थिए। झडपका क्रममा आठ नेपालीलाई प्रहरीले हिरासतमा समेत राखेर मुक्त गरेको थियो। ती घटनाबारे श्रमसहचारी दवाडीले आंशिक सूचना मात्र प्राप्त भएको बताए। यद्यपि उनले एउटै मालिकको फरकफरक कम्पनी भएकाले स्थानान्तरण गर्न दिइनुपर्ने, आपत्ति गर्न नहुने पनि बताएका थिए। यसैबीच, कम्पनीको स्कुल फिडिङ परियोजनाअन्तर्गत साउदी अरबको मुख्य सहर रियाद, जेद्धा र पूर्वी प्रान्तमा कार्यरत २ हजारभन्दा बढी नेपाली कामदार कडा विरोधमा उत्रिएपछि कम्पनीले न्यूनतम ३ देखि ७ हजार रियालसम्म लिएर नेपाल फर्कन दिएको जानकारी प्राप्त भएको छ। उक्त रकम तिर्न नसक्ने र अर्को कम्पनीमा स्थानान्तरण हुन नचाहने नेपाली भने कम्पनी छाडेर बाहिरिएका छन्। त्यसरी निस्कनेको संख्या यकिन हुन सकेको छैन। पछिल्लो जानकारीअनुसार कम्पनीमा कार्यरत २ हजार नेपालीले स्थानान्तरण अस्वीकार गरेर नेपाल फर्काउन माग गरेको र त्यसमध्ये लगभग ५ सय नेपाली कामदार नेपाल फर्किसकेका छन्। नागरिकबाट यो पनि पढ्नुहोस् अरवमा ‘गिरगिर’ खेप्नेहरुका नाममा
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1