कहाँबाट आयो, कहाँबाट एक रुपैंया आएन ?

काठमाडौं- भूकम्पपीडितको राहतका लागि सबैभन्दा बढी आर्थिक सहयोग पूर्वी एसिया, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाली राष्ट्रबाट आएको छ। स्थानीय जनता, संघसंस्था र नेपाली समुदायले नेपाली दूतावास तथा नियोगमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार विदेशमा रहेका ३६ वटा नेपाली दूतावास तथा नियोगमध्ये ३१ वटाले बुधबारसम्म प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ९० करोड २० लाख ८७ हजार १ सय ९ रुपैयाँ जम्मा गरेका छन्। यो रकम पूर्ण रूपमा गैरसरकारी (त्यहाँको सरकारले दिएको बाहेक) तवरबाट उठेको रकम हो। कोषमा सबैभन्दा बढी रकम जम्मा गर्ने १० दूतावास तथा नियोगमा पूर्वी एसिया, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाली राष्ट्रमा रहेकाहरू छन्। अमेरिकाको वासिङ्टनस्थित नेपाली दूतावास, अमेरिकाकै न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग, श्रीलंकास्थित नेपाली दूतावासले हालसम्म प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक रुपैयाँ पनि पठाएका छैनन्। त्यस्तै, साउदी अरबको जेद्धामा रहेको महावाणिज्य दूतावास, न्यूयोर्कमा रहेको महावाणिज्य दूतावासबाट पनि कोषमा हालसम्म रकम जम्मा हुन सकेको छैन। ‘सबैभन्दा बढी गैरआवासीय नेपालीको संख्या अमेरिकामा छ। त्यहाँ बसोबास गर्ने नेपाली धेरै सम्पन्न पनि छन्। तर, त्यहींबाट एक रुपैयाँ पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आउन सकेको छैन, स्रोतले भन्यो। परराष्ट्रका अनुसार विदेशस्थित नेपाली नियोगमध्ये सबैभन्दा बढी रकम जापानको टोकियोस्थित नेपाली दूतावासबाट कोषमा जम्मा भएको छ। टोकियोस्थित नेपाली दूतावासले हालसम्म ३१ करोड ६३ लाख १० हजार ७ सय ३३ रुपैयाँ जम्मा गरी कोषमा दाखिला गरेको छ। जापानबाट हरेक वर्ग, व्यक्ति, व्यापारी, संघसंस्थाले प्रधानमन्त्री कोषमा राहत स्वरूप रकम पठाएका छन्। उहाँहरूको नेपालीप्रति कति ठूलो सद्भाव रहेछ बुझ्न सकिन्छ, स्रोतले बतायो। टोकियोपछि थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले ठूलो रुकम कोषमा जम्मा गरेको छ। बैंककस्थित दूतावासबाट हालसम्म १३ करोड ६६ लाख १२ हजार ३ सय ५७ रुपैयाँ कोषलाई प्राप्त भएको छ। दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावासले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ करोड ५४ लाख १२ हजार ५ सय ८४ रुपैयाँ पठाएको छ जुन नेपाली नियोगहरूले पठाएकोमध्ये तेस्रो ठूलो रकम हो। यस्तै, चीनको बेइजिङस्थित नेपाली दूतावासले ८ करोड ७९ लाख ३ हजार ५ सय २ रुपैयाँ पठाएको छ। चीनको ल्हासा र हङकङस्थित महावाणिज्य दूतावासले क्रमशः २ करोड ४ लाख १७ हजार ५३ र ९३ लाख ५ हजार रुपैयाँ कोषमा जम्मा गरेको परराष्ट्रले जनाएको छ। बंगलादेशको ढाकास्थित नेपाली दूतावासले बुधबारसम्म ५ करोड ३० लाख ५८ हजार ४ सय ९८ रुपैयाँ कोषमा दाखिला गरिसकेको छ। मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले ३ करोड ३१ लाख ६९ हजार ५ सय रुपैयाँ कोषमा पठाएको छ। यस्तै, कुवेतस्थित नेपाली दूतावासले १ करोड ७० लाख २ हजार ५ सय ९० रुपैयाँ जम्मा गरिसकेको छ। भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले १ करोड ५९ लाख २१ हजार १२ रुपैयाँ प्रधानमन्त्री कोषमा पठाएको छ। भारतकै कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले पनि १ करोड ६ लाख ७३ हजार ५ सय ४९ रुपैयाँ कोषमा जम्मा गरिसकेको छ। एसियाली राष्ट्रले नेपालको सरकारमाथि विश्वास गर्छन्। त्यहाँको जनताको विश्वास नेपाली सरकारमा छ। त्यसैले उनीहरूले प्रधानमन्त्री कोषमा पैसा पठाएका छन्, स्रोतले भन्यो। इजरायलस्थित नेपाली दूतावासले हालसम्म २३ लाख ६५ हजार ९ सय ७ रुपैयाँ पठाएको छ। कतारस्थित दूतावासले भने ८३ लाख ९८ हजार ४ सय ५१ रुपैयाँ कोषमा जम्मा गरेको छ। युएईस्थित दूतावासबाट ८ लाख ३४ हजार २ सय २५ रुपैयाँ जम्मा भएको छ। खाडी राष्ट्र ओमानस्थित दूतावासबाट पनि ९० लाख ३९ हजार ३ सय ४२ रुपैयाँ कोषमा दाखिला भएको परराष्ट्रले जनाएको छ। यसैगरी, साउदी अरबस्थित नेपाली दूतावासले हालसम्म ५८ लाख २८ हजार २ सय ८५ रुपैयाँ कोषमा पठाएको रेकर्ड परराष्ट्रसँग छ। पाकिस्तानस्थित दूतावासले पनि ४९ लाख ५३ हजार ४ सय ६८ रुपैयाँ प्रधानमन्त्री कोषमा जम्मा गरेको छ। अर्को खाडी राष्ट्र बहराइनस्थित नेपाली दूतावासले ३४ लाख ५९ हजार १ सय ९६ रुपैयाँ पठाएको छ। म्यानमारस्थित नेपाली दूतावासले कोषमा १७ लाख ३८ हजार २ सय ५० रुपैयाँ जम्मा गरेको छ। परराष्ट्रका अनुसार इजिप्टस्थित नेपाली दूतावासले २ लाख ६८ हजार १७ रुपैयाँ पठाएको छ। दक्षिणी अमेरिकी राष्ट्र ब्राजिलस्थित नेपाली दूतावासले पनि प्रधानमन्त्री कोषमा ९ लाख ३६ हजार १४ रुपैयाँ जम्मा गरेको छ। दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले हालसम्म ९१ लाख ९१ हजार १ सय ६१ रुपैयाँ जम्मा गरेको परराष्ट्रले जनाएको छ। प्रधानमन्त्री कोषमा ५९ लाख ५७ हजार ७ सय १५ रुपैयाँ अस्ट्रेलियास्थित नेपाली दूतावासबाट प्राप्त भएको छ। युरोपेली राष्ट्र स्विट्जरल्यान्डस्थित नेपाली दूतावासले १० लाख २२ हजार ७ सय ६५, बेलायतस्थित नेपाली दूतावासले १ करोड ३ लाख ६४ लाख २ सय ५०, डेनमार्कस्थित नेपाली दूतावासले २ लाख ६३ हजार ४ सय ६५, फ्रान्सस्थित नेपाली दूतावासले २३ लाख ३७ हजार २ सय २०, जर्मनीस्थित नेपाली दूतावासले २६ लाख ३२ हजार १ सय ३६ र बेल्जियमस्थित नेपाली दूतावासले २ लाख ९१ हजार ६ सय ९९ रुपैयाँ कोषमा जम्मा गरेका छन्। यस्तै, रुसस्थित नेपाली दूतावासले १२ लाख ९७ हजार ८ सय ४८ र क्यानडास्थित नेपाली दूतावासले ५१ लाख ४१ हजार ८ सय ४१ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको परराष्ट्रले जनाएको छ। नागरिकबाट यो पनि पढ्नुहोस् देवरको फेसबुकवाट श्रीमतिले फोटो पठाए पछि बल्ल चित्त बुझ्यो उनको

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय