देवरको फेसबुकवाट श्रीमतिले फोटो पठाए पछि बल्ल चित्त बुझ्यो उनको

रामेछाप- रामेछापका हेमलाल तामाङ मलेसियामा छन् । उनी मलेसिया गएको १४ महिना भयो । हेमलाल ११ वर्षको छोरा र ६ वर्षकी छोरीलाई पढाउने र परिवारलाई सुखसाथ पाल्ने उद्धेश्यले २०७० चैत १८ मा मलेसिया उडेका थिए । जाँदा १ लाख ५५ हजार तिरे उनले । काठमाडौंको बाँसवारी नजिकैको कुनै मेनपावर कम्पनी मार्र्फत उनी मलेसिया उडेका थिए । तर त्यो कुन मेनपावर कम्पनी थियो हेमलालकी श्रीमति भीममायालाई पत्तोे छैन । पहिले देखि काठमाडौंमा बस्ने हेमलाल ड्राईभरको काम गर्दथे । उनले ट्रिपर, ट्रक, बस जस्ता सवैखाले गाडी चलाउँथे भन्ने थाहा छ भीममायालार्ई । तर अहिले उनी विदेशमा के काम गर्छन् त्यो नि थाहा छैन उनलाई । हेमलालको कथा पनि परिवार पाल्न अरव र मलेसिया पस्ने अरु युवाका भन्दा खासै फरक छैनन । उहि हो नेपालमा थोरै कमाई, गाउँमा ऋण गरेर लिएको पैसा अनी अरब र मलेसिया गएर त्यो ऋण तिर्ने र घर बनाउने, जग्गाजमिन जोड्ने सपना । हेमलालको कथा पनि यस्तै छ । उनले गाउँकै एकजना साहुसँग सयकडा दुईको दरले ऋण लिएका छन् । मलेसिया जाादा लागेको ऋणसहित घर खर्च चलाउन उनले पैसा नपठाएका पनि होइनन् । यो १४ महिना भित्रमा उनले घरमा तीनलाख पठाए पनि । त्यो रकम उनी जाँदा लागेको ऋण तिर्न र घरबार चलाउन ठिक्क भयो । तर गत बैशाखको भूकम्पले उनको सपनालाई पतकरसरी उडाइदिएको छ । भूकम्पले तामाङ परिवारको घर बस्नै नमिल्ने गरेर भताभुङ्ग बनाइदिएको छ । भूकम्पले यता घर चिरियो उता हेमलालकोे मन । यता भूकम्पले गाउँ हल्लाईरहँदा मलेसियामा छटपटी चलिरहेथ्यो हेमलालको मनमा । त्यसैले उनी हरेक पराकम्पनमा उताबाट फोन गरिरहे । किनकी घरको खेतीपाती स्याहार्न लाग्ने खर्च, परिवारको शिक्षा दिक्षा, घरव्यवहारको लागि चाहिने सवै खर्र्चका एकमात्र व्यवस्थापक उनै थिए । भूकम्पले घरमा बस्ने नमिल्ने बनाइदिएपछि छोराछोरी र श्रीमति कहाँ बस्लान् भन्ने चिन्ता थियो उनलाई । घर भत्कियो, त्रिपाल थिएन न त थियो ओत लाग्ने प्लाष्टिक नै । त्यसैले एकरात त खुल्ला आकाशमुनी नै काटे उनीहरुले । हुन त आफन्त विदेश हुँदा धेरैको मनमा खिन्नता नै हुन्छ । र, सँगै बस्न पाउने कल्पना पनि । तर कहिलेकाहिं विदेश हुँदा सजिलो पनि हुँदो रहेछ । हेमलालले पनि लगत्तै २२ हजार पठाए परिवारलाई । त्यहि रकमबाट बनाएको टहरोले ओत लाग्ने ठाउँ भएको छ । यता ओत लाग्ने ठाउँ बन्यो तर उता हेमलालको चिन्ता घटेको थिएन । उनी बस्ने ठाउँकै बारेमा गनगन गरिरहेका थिए । त्यसैले श्रीमानको चित्त बुझाउन उनले देवरको फेसबुकवाट फोटो पठाइन, ओत लाग्ने नयाँ टहरोको । भीममाया भन्छिन् त्यसपछि मात्र सन्तोषको सास फेर्नुभयो । श्रअव दुई बर्ष त्यहि टहरोेमा बस्ने र श्रीमान मलेसियाबाट फर्केपछि नयाँ घर बनाउने योजना बनाएकी छिन् भीममायाले । भूकम्पपछि रामेछापमा अरु थुप्रै परदेशीका परिवारमा यस्तै समस्या छ । साउदीमा रहेका साङबहादुर तामाङको परिवार अर्को परिवार हो । सन्जली तामाङ आफ्ना श्रीमान साङबहादुर विदेशमा भएकाले अव उनी नआउञ्जेल एउटा लामो टहरो बनाएर बस्ने योजनामा छिन् । हेरौं कहिलेसम्ममा तयार पार्न सक्छु उनले भनिन् । कतिपय परिवार भनें विदेशमा भएका आफन्तले कहिले रकम पठाइदेलान् र बस्ने टहरो बनाउँला भनेर पर्खेर बसेका छन् । नागदह ४ की धनमाया तामाङ उनका श्रीमान् मानबहादुरले पाल टाँगेर बस्दै गर्नु, महिनाको अन्तिममा तलव बुझेपछि जस्ता किन्न पैसा पठाउँछु भनेका छन् । त्यसैले अहिले उनको परिवार पालमा बसिरहेको छ । भूकम्प आउनु एक महिना अगाडी मात्र मलेसिया पुगेका उनी काम गर्ने जाँगर समेत नभएको गुनासो परिवारलाई फोनमा सुनाइरहन्छन् । उनलाई काममा जाँगर नलाग्नुको कारण भूकम्प मात्र भनें होइन । काम गर्नगएको कम्पनीमा न भनेजस्तो काम पाएको छ, न त नेपालमा भनेजति दाम नै पाउने स्थीति छ । त्यसैले मलेसिया जाँदा साहुुसँग लिएको ऋण तिर्न समेत मुस्किल पर्ने हो की चिन्तामा आफ्ना श्रीमान् रहेको धनमाया बताउँछिन् । उनी भन्छिन्ः यता विचल्ली भयो भनेर दौडेर आउने कुरा पनि भएन, उता पनि काम राम्रो परेन । त्यसैले हामीलार्ई त यतैै भूकम्प उतै भूकम्प भएको छ । खै दशा पनि गरिवलार्ई मात्र लाग्छ की क्या हो ? – सागर विक्रम बस्नेत, रामेछाप यो पनि पढ्नुहोस कतारमा नयाँ कानून अन्तिम चरणको छलफलमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय