कोरियामा बस्दा नेपालीले ध्यान दिनुपर्ने कुराहरु

घटना नम्बर १: कोरियामा कार्यरत एकजना नेपालीको निधन भयो । उनको परिवारलाई राहत रहम उपलव्ध गराउन बीमा कम्पनीमा बीमा दावीका लागि कागजातहरु पेश गरियो । तर पछि के थाहा भयो भनें उनको कोरिया बसाई अवधि तीन बर्ष पुरा भएर पनि बढी भई सकेको रहेछ । थप एक बर्ष दश महिनाको करार नविकरण भई भिसा थप समेत भएको तर उनले सामसुङको दुर्घटना बिमा नविकरण नगरेका कारण परिवारले कोरियाको बीमा बापतको मुख्य रकम प्राप्त गर्न नसक्ने भयो । कोरियामा शुरुको कार्य अवधि तीन बर्षको हुने हुनाले शुरुको दुर्घटना बिमा पनि प्रारम्भमा तीन बर्षको नै हुने गर्दछ । अर्थात शुरुमा दुर्घटना बिमा बापतको प्रिमियम पनि तीन बर्षको बुझाइएको हुन्छ । तीन बर्षको अवधि समाप्त भएपछि थप एक बर्ष दश महिनाको करार नविकरण भएको अवस्थामा आफनो दुर्घटना बिमा पनि नविकरण गर्नुपर्छ । बीमा नविकरणका लागि शुरुमा आफूले तालिम केन्द्रमा दुर्घटना बिमा गर्नका लागि खोलेको बैंक खातामा आवश्यकता अनुसारको रकम जम्मा गरी प्रिमियम तिर्नका लागि फोन मार्फत सामसुङमा जानकारी गराई बीमा करार नविकरण गर्न सकिन्छ । यस सम्बन्धमा सामसुङ कम्पनीमा फोनबाट (फोन नम्बर ०२२ ११९ २४००) पनि सम्पर्क राख्न सकिन्छ । सामसुंङले अहिले सातामा एक पटक नेपाली दोभाषेको व्यवस्था पनि गरेको छ । साथै अंग्रेजी भाषाका लागि उल्लेखित फोन नम्बर ०२२ ११९ २४०० नम्बर पछि २ अंक थिचेर कुरा गर्न पनि सकिन्छ । घटना नम्बर २ रुपन्देहीका रुपेश र दिपायलका दिपेशसंगसंगै काम गर्थे । जाडोका महिनामा राती अकस्मात हल्ला सुनियो । दुवै जना तत्काल सुतेको स्थानबाट बाहिर निस्किए । कम्पनीको आवास गृहमा ठूलो आगलागी भएको रहेछ । हेर्दा हेर्दै रुपेश र दिपेशको कोठा पनि खरानी भयो । भोलि पल्ट पुलिसले सबै मुचुल्का बनायो । के के जल्यो ? पासपोर्ट, नागरिकता, एलियन कार्ड ईत्यादि । नम्बर थाहा छ ? छैन । पर्‍यो फसाद । दुतावास धायो । नम्बर तथा जारी मिति थाहा नभएको तथा पासपोर्टको कपि पनि नभएको अवस्थाले गर्दा नयां पासपोर्ट बनाउन पनि ठूलै फसाद पर्‍यो । यस्ता अवस्थामा के गर्ने ? आफनो राहदानी तथा नागरिकता एवम् एलियन रजिष्ट्रेशन कार्डलाई सुरक्षित राख्नु पर्छ । कुनै अवस्थामा के पर्छ पर्छ भन्ने विचार गरी उल्लेखित कागजातको फोटोकपि गरेर आफनो साथमा तथा कम्पनीमा पनि राख्नु बेस। आज भोलि स्मार्ट फोनमा फोटो खिचेर राख्नाले पनि धेरै काम गर्दछ । घर बिदामा जांदा पासपोर्ट तथा नागरिकता लगायत एलियन रजिष्ट्रेशन कार्डको एक प्रति फोटोकपि घरमा राखी छोड्नु पनि उपयुक्त नै हुन्छ । घटना नम्बर ३ एक जना बस्नेत थरका नेपाली एक दिन रिसाउदै आई पुगे । हेर्नास सर मेरो नाम अवैधानिकको लिस्टमा कसरी आयो ? म ई ९ भिसामा आए पनि मैले भिसा परिवर्तन गरी सकेको छु । अब मैले यहि बिहेबारी गरेर पारिवारिक भिसा बनाएको मान्छेलाई अवैधानिक भनेर टेन्सन दिने ? मैले प्रतिप्रश्न गरेः तपाईले भिसा परिवर्तन गरेको जानकारी नेपालको सम्बन्धित निकायलाई दिनु भएको छ ? छैन, किन दिने ? वहांले कडकिदै जवाफ दिनुभयो । अनि कसरी थाहा हुने कि तपाईले भिसा परिवर्तन गर्नु भयो भनेर ? मैले भने । ई ९ भिसामा ईपिएस कामदारको रुपमा कोरिया प्रवेश गरेकाहरुले आफनो परिवर्तित भिसाको बारेमा नेपालको सम्बन्धित निकायलाई जानकारी गराएमा माथि उल्लेखित समस्याबाट छुटकारा पाउन सकिन्छ । अनावश्यक रुपमा अवैधानिकको संज्ञा ग्रहण गर्नु पर्दैन । घटना नम्बर ४ झापाका झपिन्द्र कोरिया आएको तीन बर्ष पूरा भई घर पुगे । धुमधामसंग नेपाल घुमे, बिहे पनि गरे । कोरिया फर्कने दिन पनि आई पुग्यो । श्रीमति समेत एयरपोर्टमा छोड्न आई पुगिन । हात हल्लाएर श्रीमतिसंग विदा भएर भित्र रहेको एयरपोर्टको टिकट काउटरमा पुगे । राहदानी र टिकट देखाए । ए तपाईको त श्रम स्वीकृति नविकरण नभएको रहेनछ । नविकरण गरेर आउनुस, काउटरको मान्छेले यसो भन्दा त झपिन्द्र छक्क परे । यता प्लेन छुट्ने बेला , कता जाने जाने । प्लेन पनि छुट्यो । आपत् पर्‍यो । पुन श्रमस्वीकृतिका लागि जानु पर्‍यो । बाहिर निस्केर श्रीमतिलाई फोन गरे मैया मेरो फ्लाईट हुन सकेन। केही क्षण त श्रीमति पनि छक्क परिन कि साच्चै आफनो श्रीमान् कोरियाको भिसावाल पो हो कि होईन ? सन् २०१२ को अन्तिम पछि कोरिया प्रवेश गरेका ईपिएस कामदारहरुको श्रम स्वीकृति पांच बर्षको छ तर सो भन्दा अगावै प्रवेश गर्नेहरुको भने तीन बर्षको छ । आफनो राहदानीको पछाडिको पानामा टांस गरिएको श्रम स्वीकृतिबाट पनि सो कुरा पत्ता लगाउन सकिन्छ । ३ बर्षको श्रम स्वीकृति लिई आएकाहरुले नेपाल जांदा थप श्रम स्वीकृति लिनु पर्छ । ईपिएस कामदारहरुले श्रम स्वीकृति लिनका लागि ईपिएस शाखा ग्वार्कोमा सम्पर्क राख्नु पर्दछ । उल्लेखित सबै पात्र काल्पनिक हुन् तर घटना सत्य हुन् र मैले कोरियामा रहेका नेपाली कामदारहरुको हित तथा सचेतनाका लागि अभिव्यक्त गरेको हु । आशा छ हामी सबै उल्लेखित बिषयहरुमा सजग हुनेछौ । (अनिल गुरुङ । लेखक सोलस्थित नेपाली दूताबासका श्रम सहचारी हुन्) यो पनि पढ्नुहोस् कुवेतमा पिज्जा–बर्गर बनाउने केटो पोखरामा कुखुरा स्याहार्दै (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय