सामाजिक, शैक्षिक र पारिवारिक दृष्टिकोणले वैदेशिक रोजगारी नेपाली महिलाहरुका लागि चुनौतीपूर्ण रहेको छ । अर्कै व्यक्तिको पासपोर्टमा वैदेशिक रोजगारीमा गएर समस्यामा पर्नेलाई उद्धार गर्नु भनेको झनै चुनौतीपूर्ण रहेको छ । रोजगारीका लागि विदेश जाने मध्ये पहाडी महिलाको तुलनामा मधेसका महिला नगन्य संख्यामा जाने गरेको पाइन्छ ।
तर पछिल्लो समयमा आर्थिक सशक्तिकरण बारे चेतना अभिवृद्धि हुनुले मधेसी महिला पनि वैदेशिक रोजगारीमा आकर्षित हुन थालेका छन् । भारतको बाटो भई अर्कैको पासपोर्टमा विदेश जाने दिदिबहिनीहरुको संख्या पनि उल्लेख्य रहेको छ । र, समस्यामा पर्नेको संख्या पनि उत्तिकै छ ।
विशेष गरी श्रीमान तथा परिवारले बेवास्ता गरेका र गरिबीको मारमा परेका महिलाहरुलाई स्थानिय एजेन्टहरुले एक पैसा पनि नलाग्ने, आफूले गरिरहेकै घर भित्रको काममा मनग्गे कमाई हुने जस्ता प्रलोभन देखाई घरेलु कामदारका रुपमा खाडी मुलुक पठाउने गरेका छन् । कामदारले पनि एजेन्टकै भर परेर घरमा कुनै सल्लाह नलिई बिना कुनै सूचना विदेश जाने र उतै हराउने गरेको भेटिएको छ ।
मालती पासी (मन कुमारी अधिकारी) जेठानी दिदिको लहलहैमा लागेर लगभग ४ बर्ष अगाडी साउदी जान नागरिकता लिएर घरबाट हिंड्दा बञ्जरीया, नवलपरासीकी मालती पासीलाई के थाहा के उनलाई अर्कै कुनै व्यक्तिको परिचयमा साउदी पुगेर घरको चौघेरामा आफ्ना जीवन गुजार्नु पर्छ भनेर ।
एजेन्टले भारतमै गएर पासपोर्ट बनाइदिने आश्वासनमा नागरिकता लिएर गएकी मालतीलाई दिल्ली पुगेपछि जब आफ्नो नाम मनकुमारी अधिकारी हो भन्न लगाइयो तब बल्ल थाहा भयो की उनलाई नक्कली पासपोर्टमा साउदी लगिदै छ भनेर । ३ छोराछोरीकी आमा मालतीलाई त्यति बेला जेठानी फूलकुमारी र एजेण्टको बुवा चित्रबहादुर बस्नेतले मिलेर दिल्ली लगेका थिए । अनि दिल्लीबाट साउदी पुर्याउने काम चाहिँ चित्रबहादुरकी छोरी शान्तिले गरेकी थिइन् ।
शुरुवाती दिनमा फोनमा कुराकानी हुँदा उनले साउदीको डिर्रा भन्ने ठाउँमा साहु बन्दर सुल्तानको घरमा काम गर्ने गरेको र मालिक्नीको माइत जेद्धामा पनि केही समय काम गरेको बताएकी थिइन् । काम गर्ने निश्चित समय छैन, साहु गरिब छ, कुनै काम नगर्ने र पैसा नै दिदैन भन्ने कुरा पनि हरेक पटकको कुराकानीमा मालतीले भन्ने गरेको कुरा उनका श्रीमान रविन्दर पासीले बताए । “श्रीमतीले अहिलेसम्म दुई पटक गरी लगभग १ लाख रुपैया पठाएको तर पछिल्लो पटक फोन आउँदा मालतीले परिवारको एकदम याद आउने र जसरी भए पनि नेपाल फर्काउन आग्रह गर्दै बारम्बार भन्ने गर्थिन् ” रविन्दरले बताए ।
तर, गएको २ महिना देखि त झन् फोन पनि आउन छोड्यो र मालिक मालिक्नीले समेत फोन नै उठाउदैनन् । उठिहाले पनि कोही बोल्दैनन् त्यतिकै छोडिदिन्छन्, यस्तो अवस्थामा श्रीमतीलाई साउदीबाट कसरी नेपाल फर्काउने होला” भन्दैे रविन्दरले आफ्नो दुखेसो पोखे । (उनको उद्धारमा सहयोग गर्न सक्नुहुन्छ भनें उनको तथा रोजगारदाताको टेलिफोन नम्वर उपलव्ध गराउन सकिनेछ ।)
बालकुमारी मुसहर
जहदा–२ लेबडा, नवलपरासीकी बालकुमारी मुसहर माकर बण्डाखोला घर भएकी कुमारी नामले चिनिने एक महिलाको प्रलोभनमा परी २०६५ साल माघ महिनामा भारतको बाटो भई साउदी अरब गएकी हुन् । गएको ६ महिनामा एकपटक मात्र फोन गरेकी मुसहरको त्यसपछि न कुनै फोन खबर न त पैसा नै आएको छ । घरमा तीनजना छोराछोरीहरु छोडर साउदी गएकी बालबकुमारीको श्रीमानको मानसिक अवस्था विग्रे पछि छोराछोरीहरुलाई अहिले उनका आमाबुबा भुमेश्वरी मुसहर र सुधई मुसहरले पालनपोषण गर्दै आएका छन् ।
“सबै छोराछोरी नेपालमै भएनी कसैको पनि अवस्था खासै राम्रो नभएको, त्यसमाथि माइली छोरी साउदीमा हराएपछि उनको छोराछोरीको पनि जिम्मेवारी पनि हाम्रै टाउकोमा आएको छ कसरी हुन्छ छोरीको खोजतलास गरिदिनु पर्यो” भन्छन् मुसहर दम्पत्ति ।
(उनको खोजविनमा सहयोग गर्न सक्नुहुन्छ । उनले अन्तिम पटक टेलिफोन गरेको नम्वर उपलव्ध गराउन सकिनेछ ।)
उमा पौडेल, नवलपरासी
यो पनि पढ्नुहोस बाबु बेपत्ता भए मलेसियामा, छोराछोरी विद्यालय जानै पाएनन्