
काठमाडौं – नेपालमा गएको विनाशकारी भूकम्पका कारण आफन्त र घरबार गुमाएका २ हजार २ सय ५३ कामदार विभिन्न ६ देशबाट नेपाल फर्केका छन्। विभिन्न देशका दुतावासहरुले उपलव्ध गराएको तथ्याँकका आधारमा यस्तो आँकडा देखिएको हो । स्वदेश फर्केनेमध्ये १ सय ७ जनाले भूकम्पमा परिवारका सदस्य गुमेको कारण देखाएका छन्। अरुले घर भत्केको जनाएका छन्। मलेसिया, साउदी अरब, कतार, युएई, कुवेत र बहराइनबाट कामदार स्वदेश फर्केका हुन्। धेरै कामदार रहेका मुलुकमध्ये दक्षिण कोरिया र ओमानबाट भूकम्पको कारण देखाएर कोही पनि स्वदेश फर्केको छैन। सम्बन्धित देशमा रहेको नेपाली राजदूतावासबाट वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले संकलन गरेको तथ्यांक अनुसार मलेसियाबाट ९ सय ५० कामदार नेपाल फर्केका छन्। तीमध्ये ४५ जना आफन्तको मृत्युका कारण फर्केको बोर्डको तथ्यांक छ। मलेसियाबाट आफ्नै खर्चमा ७ सय ४५ र रोजगारदाताको खर्चमा १ सय ५५ जना फर्केका छन्। ५ जना दूतावासको पहलमा फर्केका हुन्। साउदी अरबबाट ८ सयजना फर्केकोमा ३ सय ९५ आफ्नै खर्चमा र ३ सय ५० जनालाई रोजगारदाताले खर्च दिएका छन्। साउदीबाट फर्केका मध्ये ५५ जनाले परिवारको सदस्य गुमेको जनाएका छन्। कतारबाट ३ सयजना कामदार भूकम्पका कारण स्वदेश फिरे। तीमध्ये २ सय ११ आफ्नै खर्चमा र ८५ जना रोजगारदाताको खर्चमा फर्केको कतारस्थित नेपाली दूतावासले बोर्डलाई जानकारी गराएको छ। कतारबाट ४ कामदार परिवारको सदस्यको मृत्युका कारण फर्केका छन्। युएईबाट २० जना भूकम्पले घरमा क्षति भएको भनेर फर्केका छन्। कुवेतबाट १ सय ७५ कामदार आए। यीमध्ये ९० आफ्नै खर्च, १० रोजगारदाताको र ७५ दूतावासको पहलमा फर्केको बोर्डले जनाएको छ। बहराइनबाट ८ जना आए। तीमध्ये ३ जनाको परिवारका सदस्यको मृत्युको कारण भूकम्प हो। बहराइनबाट २ जना आफ्नै खर्चमा र २ जना रोजगारदाताको खर्चमा नेपाल फर्केका हुन्। बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भूकम्पका कारण स्वदेश फिर्ने धेरै भए पनि थोरैले मात्र दूतावासमा जानकारी गराएकाले तथ्यांक कम देखिएको बताए। आफैं आउनेको संख्या ठूलो छ। विपतमा हतार हुने हुँदा सबै तथ्यांकमा नसमेटिन पनि सक्छन् उनले भने। भूकम्पमा परिवारका सदस्य गुमाएका कामदारलाई स्वदेश फर्काउन गत वैशाख २४ गते मन्त्रिपरिषदले टिकट खर्च सरकारले बेहोर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन गर्न श्रम तथा रोजगार मन्त्रालयले कार्यविधि बनाएको छ। यसले परिवारका सदस्य गुमेका कामदारलाई स्वदेश फर्कन आह्वानसमेत गरेको थियो। मन्त्रालयले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमार्फत कामदारको टिकट खर्च बेहोर्ने जनाएको छ। कार्यविधिअनुसार कामदारको आमा, बुबा, छोराछोरी, श्रीमान, श्रीमती र महिला कामदारको हकमा सासु वा ससुरासमेतको मृत्यु भए नाता प्रमाणित र मृत्यु दर्ता प्रमाणपत्र पेस गरे टिकट खर्च बेहोर्ने जनाएको छ। सरकारले जेठ महिनाभित्र नेपाल फर्कनका लागि मात्र यस्तो व्यवस्था गरेको जनाएको छ। नेपालबाट वैधानिक रुपमा श्रम स्वीकृति लिएर जुनसुकै मुलुक गएका कामदारले टिकट लिएर भुक्तानीका लागि टिकट, बिल र बोर्डिङ पास बोर्डमा पेस गर्नुपर्ने नियम छ। बोर्डका कार्यकारी निर्देशक काफ्लेले कतैबाट सहयोग नपाएका कामदारलाई बोर्डले टिकट खर्च उपलब्ध गराउने बताए। ‘रोजगारदाता वा अन्य कुनै संस्थाले टिकट खर्च बेहोरेको छैन भने बोर्डले उपलब्ध गराउँछ, उनले भने। करार अवधि रहेका कामदारले दुईतर्फी टिकट र करार अवधि सकिएर विदेश फर्कन नपर्नेले एकतर्फी टिकट खर्च पाउने व्यवस्था कार्यविधिमा छ। टिकट इकोनोमी क्लासको हुने र सरकारले तोकेको एकमुष्ठ भुक्तानी मात्र पाउने व्यवस्था छ। यसैबीच भुकम्पपछि विदेशमा रहेका नेपाली कामदारलाई स्वेदश फर्काउन आफूले दिएको निर्देशनको विषयमा संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बिहीबार श्रम तथा रोजगार मन्त्रालयसँग जानकारी मागेको छ। नागरिकबाट यो पनि पढ्नुहोस शर्त पुरा नगरेसम्म घरेलु कामदार आउने छैनन् : राजदुत