नक्कली पासपोर्ट बोक्दै, हिंड्दै

काठमाडौं- नेपालको अध्यागमन कार्यालयले विदेशी राहदानी नक्कली वा सक्कली भन्ने छुट्ट्याउन नसक्दा विभिन्न मुलुकका नक्कली राहदानीवाहक विदेशी सजिलै नेपाल छिर्न थालेका छन्। पछिल्लोपटक जेठ ११ गते सोमबार स्विडेनको नक्कली राहदानी लिएर दुई इरानी नागरिक नेपाल छिरेका छन् । नेपाल छिर्दा त्यहाँका अध्यामगन अधिकृतले ती इरानीले बोकेको स्विडेनको राहदानी सक्कली हो वा नक्कली छुट्ट्याउन सकेनन्। अध्यागमन अधिकृतले उनीहरूलाई सहजै भिसा दिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सूचनाका आधारमा अध्यागमनले उनीहरूलाई पक्राउ गरेको स्रोतले बताएको छ। यसरी स्विडेनको नक्कली राहदानीमा नेपाल छिर्ने एन २६४७३०३९ नम्बरको इरानको राहदानीवाहक अमिरहसन हसन र एक्स ३३२७७४९१ नम्बर राहदानीवाहक रेजालाई विमानस्थल कार्यालयले पक्राउ गरी अध्यागमन विभागमा बुझाएको छ। अध्यागमन विभागका निर्देशक विश्वप्रकाश न्यौपानेले उनीहरूको बायो पेज शंकास्पद भएकाले म्याद थप गरी अनुसन्धान भइरहेको बताए । विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कतिपय कर्मचारीलाई स्विडेनको राहदानीको सेक्युरिटिज फिचर थाहा नभएकाले ती दुई इरानीले नक्कली राहदानीमा भिसा पाएको स्रोतको दाबी छ। विमानस्थल अध्यागमनमा पासपोर्ट रिडेबल मेसिन छ, प्रविधिमा कुनै समस्या छैन अध्यागमनका एक उच्च अधिकारीले भने, समस्या हाम्रा कर्मचारीमा नै हो। उनीहरूलाई राहदानीको सेक्युरिटिज फिचर नै थाहा छैन। स्रोतका अनुसार कतिपय मुलुकका गिरोहले मेसिनले रिड गर्ने नक्कली राहदानी नै बनाउन थालेका छन्। त्यसले गर्दा पनि सक्कली र नक्कली छुट्ट्याउन अध्यामगन अधिकृतलाई समस्या परेको छ। इरानबाट थाइल्यान्ड आएका उनीहरूले बैंककमा प्रतिपासपोर्ट एक हजार डलर तिरेर स्विडेनका दुईवटा राहदानी खरिद गरेका थिए। बैंककमा केही दिनको बसाइपछि जेठ ११ गते उनीहरू थाई एयरबाट काठमाडौं आएका हुन्। बैंकक अध्यागमनमा इरानी राहदानी प्रयोग गरेर उनीहरू नेपाल उडेका थिए। बैंककमा उनीहरूले त्यहाँ किनेको स्विडेनको राहदानी लुकाएका थिए। नेपालमा ओर्लिएपछि उनीहरूले विमानस्थलस्थित अध्यामगन डेस्कमा इरानको राहदानी लुकाएर स्वीडेनको नक्कली राहदानीमा १५ दिनको भिसा लिएका थिए। विमानस्थल अध्यागमन अधिकृतले समेत उनीहरूले प्रयोग गरेको स्विडेनको नक्कली राहदानीबारे आवश्यक अनुसन्धान नै नगरी भिसा दिएको स्रोतले बताएको छ। नेपाल प्रवेश गरी ६ दिन ठमेलको ह्यापी होटेलमा बसेका उनीहरू चाइना साउदर्नको सी २३०६८ विमानबाट चीन हुँदै युरोप छिर्ने क्रममा शनिबार बेलुकी काठमाडौं विमानस्थलबाट पक्राउ परेका हुन्। विमानस्थल अध्यागमनले सोधखोज गर्दा आफूहरूसँग स्विडेनको मात्र राहदानी भएको बताएका थिए। ५ दिनदेखि अध्यागमन विभागको हिरासतमा रहेका उनीहरूले आफूहरूसँग इरानको समेत राहदानी भएको बयान दिएका थिए। सन् २०१४ यता विभिन्न युरोपेली मुलुकको राहदानी प्रयोग गरी नेपाल प्रवेश गरेका झण्डै दुई दर्जन इरानी नागरिकलाई पक्राउ गरी नेपालले निष्कासन गरिसकेको छ। अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस् कुवेतमा पिज्जा–बर्गर बनाउने केटो पोखरामा कुखुरा स्याहार्दै (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय