
सिन्धुपाल्चोक- गाउँमा पक्की विद्यालय । त्यसको परिसरमा बालबालिका खेल्ने पार्क । गरिब जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कोष । महाभूकम्पमा निधन भएकाका परिवारलाई आर्थिक सहयोग । सबैका लागि अस्थायी घर । अरुतिर चामल बाँडिन्छ, सकिन्छ । पाल दिइन्छ, च्यातिन्छ । कर्थली ७, खहरे गाउँले भने दाताबाट सबैथोक पाएको छ । देशमा ठूलो भूकम्प गएपछि हङकङका पत्रकार निर्मल श्रेष्ठ र व्यवसायी सुरज गुरुङले चिनजानमा सम्पर्क गरे । कुनै गाउँलाई विशेष सहयोग पुर्याउने उद्देश्य राखेपछि हङकङ, चीन र मकाउका नेपाली शुभचिन्तकले साथ दिए । करिब ४५ लाख रुपैयाँ लिएर उनीहरु काठमाडौं उडे । भूकम्पबाट सबैभन्दा पीडित भएकाले सिन्धुपाल्चोक छान्यौं, राहत टोलीका संयोजक निर्मलले भने, अति विपन्न र बिजोक स्थितिको दलित समुदाय भएकाले कर्थली गयौं । उनीहरुले १० दिन गाउँमा बसेर ४० परिवारका लागि अस्थायी घर र शौचालयहरु बनाइदिए । स्कुलमा करिब ६ लाख रुपैयाँ खर्चेर बालबालिका खेल्ने उद्यान बनाए । भुइँचालोले ध्वस्त बनाएको ईश्वरीमाला प्राथमिक विद्यालयमा शनिबार आयोजित भव्य कार्यक्रममा उक्त विद्यालय भवन पक्की बनाउन, भौतिक सामग्री किन्नसमेत २१ लाख ५ हजार रुपैयाँको चेक अध्यक्ष अजय तामाङ र प्रधानाध्यापक कृष्णराज शर्मालाई हस्तान्तरण गरे । छात्रवृत्ति कोष बनाउन ३ लाख रुपैयाँ प्रदान गरे । साथै, उक्त गाउँमा महाभूकम्पबाट निधन भएका ३ जनाका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत सहयोग गरे । महाभूकम्पले सबै सम्पत्ति सिद्धयाएपछि खिउर बिकलाई १२ जनाको परिवार पाल्न हम्मे परिरहेको थियो । छाप्रो हाल्ने जमिन पनि थिएन, उनले भने, गरिवलाई माया गर्ने मान्छे हुँदारहेछन् । टाउको लुकाउने घर पायौं । अब हुरी चल्दा रातभर पाल समातेर बस्नु पर्दैन । त्यसमाथि स्कुलसमेत बन्ने भो । निर्मल सुरज दलित बस्तीमा पक्की घरहरु बनाउन अन्य सहयोगी हातहरु खोजिरहेका छन् । अब यस गाउँसँग भावनात्मक सम्बन्ध जोडिएको छ सुरजले भने, भविष्यमा पक्की घर बनाउन सहयोग जुटाउने छौं । पर्दा सकेको गर्ने गाउँलेले नै हो । कतिको घर बनाउने ठाउँसमेत पुरिएपछि अस्थायी घरका लागि स्थानीय बमबहादुर तामाङ लगायतले निजी जमिन विकल्प नभएसम्मका लागि निःशुल्क दिएका छन् । भत्केको दलित बस्ती जस्तापाताको टहराले भरिएको छ, बमबहादुरले भने, यस्तो अवस्थामा जग्गा दिएर सानो सहयोग गर्न पाएकामा खुशी लागेको छ । हस्तान्तरण कार्यक्रममा वल्लो पल्लो गाउँबाट सयौं सर्वसाधारण उत्सुकतापूर्वक जुटेका थिए । त्यसमा निर्मल(सुरजको थप राहत थियो भूकम्पपीडितलाई मनोमरामर्श । त्यसका लागि राजधानीबाट ख्यातीप्राप्त कलाकार, मनोपरामर्शदाता, चिकित्सक आदिको टोली लगिएको थियो । हामीले अघि बढ्ने बाटो पायौं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले कार्यक्रम सक्दै भने, यसरी गावैं बनाइदिने दाता अरु ठाउँले पाएका छैनन् । कान्तिपुरबाट यो पनि पढ्नुहोेस् ‘म त राजेश दाईलाई भेट्न अबुधाबी जाने भएँ नी’