
काठमाडौं—प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अफ्रिकी मुलुकमा डान्सबार खोलेर नेपाली युवती तस्करी गर्ने समूहका दुई जनालाई पक्रेको छ। अप्रेसन इगलका नाममा सुरु गरिएको अनुसन्धानबाट अफ्रिका तथा खाडी मुलुकका डान्स बारलाई युवती बेचबिखन गर्ने गिरोहका दुई जना फरक फरक स्थानबाट पक्राउ परेका हुन्। प्रहरीले बारा पिपरा सिमराका ३२ वर्षीय सुरेन्द्र बहादुर बस्नेत र झापा धरमपुरका जिरे बादल भनिने २० वर्षीय सुनिल मगरलाई पक्राउ गरेको हो। बस्नेतलाई बारा गढीमाइ नगरपालिकाबाट र मगरलाई ठमेलको नरसिंह चोकबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ। ब्युरोले यसअघि अफ्रिकी तथा खाडी मुलुकमा युवती बेचबिचखनको आरोपमा ८ जनालाई पक्राउ गरिसकेको छ। ब्युरोकाअनुसार पक्राउ बस्नेत यसअघि नै लागुऔषध कारोबारीमा पक्राउ परिसकेका हुन्। गिरोहमा उनको भूमिका युवतीहरुलाई नेपाली र भारतीयसँग मिलेर विदेश पठाउने रहेको थियो। त्यस्तै मगरले युवतीहरूलाई डान्सबारबाट विभिन्न प्रलोभन देखाइ विदेश जानको लागि प्रेरित गर्ने गरेको र मानव तस्करहरूको गिरोहसम्म पुर्याउने गरेको ब्युरोको अनुसन्धानबाट खुलेको थियो। सो गिरोहले तान्जानिया, केन्या, युगान्डा, खाडी मुलुक युएई, बहराइन, ओमान, मलेसिया लगायतका मुलुकका डान्सबारहरूमा आकर्षक तलब सुबिधासहित रोजगारीमा लगाइदिने आश्वसन दिएर विदेश पठाउने गरेको खुलेको थियो। त्यसरी लगिएका युवतीहरुलाई त्यहाँ मानसिक तथा शारीरिक यातना दिएर जबरजस्ती अनैतिक क्रियाकलापमा लगाउने गरेको सूचनाको आधार अपरेशन इगल नाम दिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको हो। नागरिकबाट यो पनि पढ्नुहोेस् ‘म त राजेश दाईलाई भेट्न अबुधाबी जाने भएँ नी’