मे दिवसमा श्रमिक नेताको अश्रुपूर्ण सन्देश

काठमाडौं – मे दिवसका अवशरमा जेटियुसीसी तथा जिफण्टका अध्यक्ष विष्णु रिमालले एक शोक सन्देश दिंदै यस वर्ष आएको महाभूकम्पले विभिन्न जलविद्युत परियोजनामा कार्यरत क्युपेक–जिफन्टका सदस्य सहित निर्माण मजदुरहरु मारिएको तथा सगरमाथा आरोहणका क्रममा रहेका युनिट्राभ– जिफन्टमा आबद्ध श्रमिक सहकर्मीहरु हिम पहिरोमा पुरिएको भन्दैै शोक प्रकट गरेका छन् । यसैगरी केही यातायात मजदुरहरुले सडकमै ज्यान गुमाएको जिफन्टका आर्थिक सचिव गुणराम आचार्यको टाउकोमा गंभीर चोट लागेकोले शल्यक्रिया सहित अस्पतालको अति सघन कक्षमा उपचार गराइरहेको सन्देशमा उल्लेख गरिएको छ । यसैगरी जिफन्टका प्रवासी कमिटीका सदस्य बज्र राई गम्भीर घाइते भएको, पेशागत महासंघ–नेपाल आबद्ध एक संघ–पानका महासचिव चन्द्रबहादुर श्रेष्ठ र उनकी श्रीमतीको दुःखद निधन भएको भन्दै रिमालले शोक प्रकट गरेका छन् । यसैगरी जेटियुसीसी परिवारभित्रका सदस्य महासंघबाट विनाशकारी भूकम्पका पीडित आफ्ना सदस्यहरु, को–कस्तो अवस्थामा रहेका छन् भन्ने सूचना प्राप्त भइरहेको सन्देशमा उल्लेख गरिएको छ । रिमालले उद्धारकर्मीको धैर्य र साहसको प्रशंसा गर्दै नेपालीको पीडामा ऐक्यबद्धता र सहयोगको हात अघि बढाउने विभिन्न देशका सरकार, अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलन परिवार, स्वदेश तथा विदेशका विभिन्न संस्था र व्यक्तिहरुप्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गरेका छन् । रिमालले यो समय विरक्ति, आक्रोश र दिक्दारी पोख्ने वा एक अर्कालाई सत्तोसराप गर्ने बेला नभएको भन्दै पारस्परिक सद्भाव तथा धैर्यता सहित एक आपसमा सहयोग गर्ने समय हो भन्ने हामीले महसुस गर्नुपर्छ भनेका छन् । शोक सन्देशमा भनिएको छ भग्नावशेषमा उभिएर अब हामी पीडापछिको नव निर्माणमा लाग्ने चरणमा प्रवेश गरेका छौँ । हाम्रा सामु तत्काल तीन कार्यभार छन्– पहिले जारी उद्धारकार्यलाई अझ तीव्रता दिने र सकेसम्म धेरै जनतालाई बचाउने, संभावित रोगको संक्रमण र महामारीबाट जनतालाई बचाउन स्वास्थ्य र सफाईको कामलाई युद्धस्तरमा सञ्चालन गर्ने । दोश्रो तिर्खा मेटिएपछिको पानीको अर्थ हुँदैन भनेझैँ पीडित परिवारलाई तत्कालको राहत उपलब्ध गराउने, खाद्यान्न–औषधि– पानी र पाल जस्ता राहत सामग्रीको वितरण कार्यलाई क्षुद्र राजनीतिक स्वार्थबाट डामिन नदिन समन्वयात्मक ढंगले राज्य आफैं अग्रसर हुने, र तेश्रो खुल्ला आकासमुनि पुगेका प्रत्येक नागरिकलाई आवासको ग्यारेण्टी गर्ने । सन्देशमा भनिएको छ – ३० लाख भन्दा बढी हाम्रो श्रमशक्ति विदेशी भूमिमा रहिरहेको अवस्थामा आगामी निर्माणका लागि नेपालमा श्रमशक्तिको अभाव हुने निश्चित छ । तसर्थ, राज्यको आप्रवास नीतिमा समेत पुनर्विचार गरी स्वदेशी श्रम स्वदेशमै प्रयोग गर्ने नीति लिनु उपयुक्त हुन्छ भन्ने हाम्रो बुझाइ छ । जिफन्टले आफ्नोे  सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै चर्को टिप्पणी आएको यातायात क्षेत्रको बेथितिलाई सम्याउन र ‘जनताका साथी यातायात मजदुर’को भावना सञ्चार गर्न यातायात सम्बद्ध युनियन परिषद परिचालित हुँदै गरेको सन्देशमा भनिएको छ । यसैगरी भग्नावशेष हटाउन र नयाँ निर्माणका लागि निर्माण क्षेत्रका सदस्यहरु परिचालित गर्दै गरेको रिमालले उल्लेख गरेका छन् । स्वास्थ्य सम्बद्ध युनियन परिषद अन्तरगतका सदस्यहरुलाई अस्पताल र बस्तीहरुमा परिचालन गरिएको सन्देशमा उल्लेख गरिएको छ । यो पनि पढ्नुहोस्  आफन्तको मुख अन्तिम पटक हेर्न घर फर्किन दिएन कम्पनीले

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय