
दुवई – “मैले मेरो मुटुलाई ढुँगा जस्तै बलियो बनाएको छु र मैले मेरो सवै दुःख पीडालाई मेरो दिमागबाट हटाएको छु” दुवईमा आप्रवाशी कामदारका लागि आयोजित स्मार्ट आइडलका फाइनलका प्रतिस्पर्धी आशमान तामाङ भन्दै थिए । “मलाई थाहा छ, मैले राम्रो प्रदर्शन गर्न सकें भनें मात्र म यो प्रतियोगिता जित्न सक्छु र मेरो परिवारलाई म केहि सहयोग गर्न सक्छु” उनले भने । नेपालमा नुवाकोटमा उनको परिवार अहिले भूकम्पले घर भत्किएपछि पालमा बसिरहेको छ । २६ बर्षे आशमानले नभन्दै सो प्रतियोगिताको नृत्य तर्फको उपाधि जिते । उनी दुवईको एक खेलौना सम्वन्धि सामान बेच्ने कम्पनीमा काम गर्छन् । उनीसँगै भारतीय बिजिमोल चालमाले गायन तर्फको उपाधि जितिन् । यो प्रतियोगिता हरेक बर्ष दुवईमा युएईमा कार्यरत आप्रवासी कामदारको अतिरिक्त क्षमता प्रदर्शन गर्ने अवशरको रुपमा आयोजना गरिंदै आएको छ । खलिज टाइम्स लेख्छः आशमानले नेपालमा भूकम्प आएपश्चात प्रतियोगिताबाट नाम फिर्ता लिने मनस्थीति बनाएका थिए । “मैले घरवार गुमाएर पालमा बसिरहेको मेरो परिवारलाई सम्झें । उनीहरुले भोगिरहेको कष्टलाई सम्झें । यो सम्झँदा मलाई नाँच्न निक्कै गाह्रो भयो । तर जव मेरो परिवारका सदस्यले यो कुरा थाहा पाए, उनीहरुले मलाई त्यो नगर्न र आफ्नो प्रतिभा देखाउन प्रेरित गरे” उनले भने । तर गत शुक्रवार जव दुवईको अडिटोरियम हलमा प्रतियोगिगता हेर्न जम्मा भएका सयौं व्यक्तिका सामु आशमानले दुईवटा हिन्दी गीतमा नाँचे, त्यहाँ उपस्थीत हरेक व्यक्तिलाई उनी तालिम नलिएका व्यक्ति हुन् भन्ने सोच्न नै मुस्किल भयो । उनले निक्कै कलात्मक ढंगमा नाँचे । “म सानै देखि नाँच्न मन पराउँथे उनले भनेका छन् म टीभीमा हेरेर नाँच्न सिक्थें ” उनले भने । दुवईमा बच्चाका खेलौना गाडीमा राखेर विभिन्न ठाउँमा पुर्याउने काम गर्ने आशमान १ हजार ५० दिराम प्रतिमहिना कमाउने गर्दछन् । तर यस प्रतियोगितामा जितेपछि उनले ५ हजार दिराम पुरस्कार पाए । उनले सो रकम नेपालमा परिवारलाई पठाउने भएका छन् । प्रतियोगिताको फाइनलमा गायन तर्फ अर्की एक नेपाली महिला पनि पुगेकी थिइन् । यो पनि पढ्नुहोस् दुवईमा गाउँदै नेपाली महिला