मानव तस्करी रोक्न इयुको नयाँ प्रयास

युरोपियन युनियनले भूमध्यसागरमा आप्रवासीहरु चढ्ने डुङ्गा दुर्घटनासम्बन्धी पछिल्लो समय चुलिदै गएको संकट समाधान गर्नका निम्ति नयाँ कदमसहितका प्याकेजको घोषणा गरेको छ। नयाँ योजना अनुसार भूमध्यसागरमा गरिने गस्तीलाई सुदृढ पारिनेछ भने मानव तस्करी गर्ने डुङ्गा नष्ट गर्नका निम्ति सेनाको प्रयोग गरिनेछ। युरोपियन युनियनको घोषणामाझ इटलीको प्रहरीले भूमध्यसागरमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा बाँच्न सफलमध्ये दुई जनालाई पक्राउ गरिएको जनाएको छ। पक्राउ परेकाहरु डुङ्गाका कप्तान भएको ठानिएका एकजना ट्युनिसियाली र चालक दलका अर्का सदस्य सिरियाली नागरिक रहेको बताइएको छ। मानव तस्करी गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इटलीका तट रक्षकहरुले डुङ्गा दुर्घटनामा बाँच्न सफल भएका २७ जनालाई सिसिलियन बन्दरगाहमा सोमबार पुर्याएका छन्। इयुकी विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले लक्जमबर्गमा भएको वार्तामा संकट समाधानका निम्ति १० बुँदे प्याकेज तयार पारिएको बताइन्। १० बुँदे योजनामाथि बिहिबार इयुको बैठकमा छलफल हुने बताइएको छ । मोगेरिनीले उक्त प्याकेज उनकै शब्दमा पछिल्ला दुःखद घटनाहरुप्रति इयुको सशक्त प्रतिक्रिया भएको र त्यसले समस्या समाधानका निम्ति नयाँ तत्परता र राजनीतिक ईच्छाशक्ति देखाएको उल्लेख गरिन्। उनले भनिन्, “हामीले मानव तस्करीविरुद्ध लड्नका निम्ति साच्चिकै युरोपियन विवेकको विकास गरिरहेका छौँ।” इयुले तयार पारेको योजना अनुसार भूमध्यसागरमा उसको तर्फबाट उद्धार कार्य सञ्चालन गर्दै आएको फ्रोन्टेक्सलाई दिइने आर्थिक सहायतामा वृद्धि गरिनुका साथै उद्धार कार्यको क्षेत्र बढाइने छ। उद्धार कार्यमा गत वर्ष कटौती गरेपछि इयुको आलोचना हुँदै आएको छ। मानव तस्करहरुले प्रयोग गर्ने डुङ्गाहरु नष्ट गर्नका निम्ति युरोपियन काउन्सिलको अनुमति लिनुपर्ने बताइएको छ। बिबिसीबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय