
केटा : पारि त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो तिमी र घुम्न जाऊँ न… केटी : अनि घामले मलाई सताउला काली मलाई बनाउला तिमी पिरतीको छाता ओढाऊ न… कालीप्रसाद बास्कोटा गायक, संगीतकार, गीतकार अहिले यो गीत निकै चर्चामा छ । के बालक, के युवा अनि अर्धबैँसे र वृद्ध, सबैलाई यो गीतले झुमाएको छ । आगामी शुक्रबार अर्थात् ११ वैशाखमा रिलिज हुन लागेको फिल्म रेशम फिलिलीको यो गीत कालीप्रसाद बास्कोटा र सोमिया बराइलीले गाएका हुन् । संगीतकार कालीप्रसाद स्वयम् र मानसराजले लेखेको यो गीत रेशम फिलिलीको आधिकारिक युट्युब एकाउन्टमा मात्र बीस लाखभन्दा बढीले हेरिसकेको देखिन्छ भने अन्य थुप्रै अकाउन्टमा पनि उल्लेख्य मात्रामा भियुअर्स छन् । तर, अहिलेसम्म निर्माण युनिटले यस गीतको आधिकारिक भिडियो भने सार्वजनिक गरेको छैन । केही दिनअघि राजधानीमा सम्पन्न प्रेसमिटमा फिल्मका निर्माता तथा शीर्ष अभिनेता विनय श्रेष्ठले भिडियो हेर्न दर्शक हलसम्मै जानुपर्ने जानकारी दिएका थिए । रेशम फिलिलीका केही फोटाहरू ‘प्ले’ गरी शब्दसहित युट्युबमा सार्वजनिक गरिएको गीत एकाएक लोकप्रिय हुन गएको हो । युट्युब हुँदै देश–विदेशमा आफ्नो गीतले मार्केट लिँदा यसका मूल सर्जक गायक तथा संगीतकार कालीप्रसाद कम्ती खुसी छैनन् । ‘खुसीको त सीमा नै छैन,’ उनी भन्छन्, ‘आफ्नो कामको तारिफ हुँदा, जताततै चर्चा हुँदा कसलाई पो खुसी नलाग्ला र ?’ यो गीतको रेकर्डिङ कहिले गरिएको थियो, त्यो भने कालीप्रसादलाई ठ्याक्कै याद रहेनछ । ‘रेगुलर काम गरिरहेको छु । त्यसैले ठ्याक्कै कुन मितिमा रेकर्ड गरियो, त्यो भने याद छैन,’ उनले भने, ‘०७१ सालको सुरुवाततिरै होजस्तो लाग्छ । धेरै भएको छैन ।’ नेपालीपना झल्कने सिम्पल गीत बनाउने योजनाअनुरूप यो गीत रचिएको कालीप्रसाद बताउँछन् । ‘अरू गीतझँै यसमा पनि उत्तिकै मिहिनेत र बुद्धि लगाइएको छ । सबैले बुझ्ने, सरल, अलि–अलि नेपालीपन झल्कने गीत बनाऊँ भनेर बनाइएको हो,’ कालीप्रसाद भन्छन्, ‘यो गीत हिट हुन्छ भन्ने त पहिल्यै लागेको थियो । तर, यत्तिको सुपरहिट होला भन्नेचाहिँ कहिल्यै कल्पेको थिइनँ ।’ मालतीको भट्टी, मञ्जरी, भिसा गर्ललगायत फिल्ममा संगीत दिइसकेका कालीप्रसादका थुप्रै आधुनिक गीतहरू हिट छन् । सुरुमा गायक बन्ने चाहनाले संगीतमा लागेको भए पनि संगीत बुझ्दै गएपछि संगीत सिर्जनामा लागेको उनी बताउँछन् । ‘खासमा म गायक बन्न चाहन्थेँ । तर, जब संगीत बुझ्दै गएँ, अनि सिर्जनामा लागेँ,’ उनले भने, ‘संगीत बुझ्दै, अध्ययन र प्राक्टिस गर्दै गएपछि मैले आफूलाई संगीत सिर्जनामै लगाएँ । तर, कहिलेकाहीँ गाउने इच्छा भने रहिरह्यो । त्यसकै फलस्वरूप यो गीत गाउने अवसर जुर्यो ।’ शब्द र संगीतको सिर्जना भएपछि कसलाई गाउन दिने त भन्नेबारे कुरै नभएको उनी बताउँछन् । ‘कम्पोज गर्दै गएपछि यो गीत म आफैंले गाउने कुरा भयो । त्यसकारण अरू गायक खोजिएन,’ उनले भने, ‘यही गीतबाट गायकका रूपमा मेरो करिअर सुरु हुन लेखेको रहेछ सायद ।’ पहिला संगीतकार र गीतकारका रूपमा मात्रै परिचित कालीप्रसादको परिचय अहिले गायकका रूपमा समेत उचो भएको छ । पछिल्लो समय उनलाई विभिन्न प्रोग्रामबाट अफर आउने गरेका छन् । कतिपय प्रोग्राममा त यिनले घाम लाग्यो घमाइलो गाउन भ्याइसकेका छन् । ‘अब वेलाबखत गाउँदै जान्छु,’ रेशम फिलिलीको शीर्ष गीत पनि गाएका कालीप्रसाद भन्छन्, ‘तर, मेरो प्राथमिकता भने संगीत सिर्जनामै छ ।’ गीत चर्चित भएपछि दर्शक, श्रोताले त्यसको भिडियो खोजे । तर पाएनन् । कतिपयले भने आफ्नै किसिमले भिडियो सुट गरेर युट्युबमा पोस्ट गरे । जसले यो गीतको लोकप्रियता कति छ भन्ने कुरा दर्शायो । विशेष गरी विदेशमा बस्ने नेपालीहरूले यस गीतको आफ्नै भिडियो बनाएका छन् । ‘फिल्म कति गरम छ भन्ने कुरा यसबाटै देखिन्छ,’ निर्माता तथा वितरक माधव वाग्ले हौसिँदै बोल्छन्, ‘गीतै सुपरहिट छ । फिल्म झन् हिट हुन्छ । यसमा शंकै छैन ।’ फिल्म पूर्ण मनोरञ्जक भएको र आम नेपालीले मन पराउने दाबी निर्माता वाग्लेको छ । प्रणव जोशीको लेखन र निर्देशनमा बनेको फिल्मका निर्मातामा माधव वाग्ले र विनय श्रेष्ठ छन् । फिल्ममा विनयका अलावा कर्मा, मेनुका प्रधान, कामेश्वर चौरसिया, शिशिर बाङ्देललगायतले अभिनय गरेका छन् । फिल्ममा रोजगारीका लागि विदेश जाने युवाको कथा रहेको बताइन्छ । नयाँ पत्रिकाबाट भिडियो हेर्नुहोेस् https://www.youtube.com/watch?v=sQsYxQ6hnKc