नेपालीलाई भार थप्दै नेपाली दुतावास

क्वालालाम्पुर– मलेसियास्थित नेपाली दूतावासले घर फर्कन चाहने अवैधानिक नेपालीलाई आर्थिक भार थप्ने गरी नियम बनाइदिँदा नेपाली कामदार मर्कामा परेका छन्। मलेसियास्थित नेपाली दूतावासले अवैध नेपालीले ‘कोपरासी’ मार्फत नै अनुमतिपत्र लिनुपर्ने नियम लगाइदिएपछि उनीहरुमाथि आर्थिक भार थपिएको हो। मलेसिया सरकारले अहिले ‘अवैध विदेशी घर फर्क’ अभियान चलाएर भिसा नभएका विदेशीलाई सहजै स्वदेश फर्काइरहेको छ। अभियानअन्तर्गत घर फर्कन चाहने अवैध विदेशीले आफ्नो देशको दूतावासबाट एकतर्फी यात्रा अनुमतिपत्र बनाई हवाइ टिकटसहित त्यहाँको अध्यागमन विभागमा आत्मसमर्पण गर्नुपर्छ। यसरी आत्मसमर्पण गरेकाले ४ सय रिंगेट जरिवाना तिरेपछि बल्ल विभागबाट स्वदेश फर्कने अनुमति पाउँछन्। नेपाली दूतावासले भने यहाँको अध्यागमनका पूर्वकर्मचारीको संगठन कोपरासीलाई पैसा तिरेर मात्र घर जान पाइने नियम लगाएको हो। दूतावासले केही दिनअघि सूचना जारी गरी कोपरासीमा १ हजार २ सय ८० रिंगेट तिरेको रसिद दूतावासमा बुझाएपछि मात्र एकतर्फी यात्रा अनुमतिपत्र पाइने जनाएको छ। दूतावासले जारी गरेको सूचनामा बिनाभिसा घर जान चाहने नेपालीलाई बिचौलियाले धेरै रकम लगेर ठगी गरेकाले यस्तो कदम चाल्नुपरेको उल्लेख छ। घर जाने नेपालीलाई बिचौलियाले ठगेको गुनासोपछि यात्रा अनुमतिपत्र वितरणमा कडाइ गरिएको उपनियोग प्रमुख हेमलाल भट्टराईले बताए। ‘दूतावासले १ हजार २ सय ८० रिंगेटमा घर पठाइरहेका बेला केही बिचौलियाले २ हजार २५ रिंगेट उठाएर ठगी गरिरहेको गुनासो आएपछि यात्रा अनुमतिपत्र वितरणमा कडाइ गरेका हौं। हाम्रो उद्देश्य नेपाली नागरिक नठगिऊन् भन्ने हो।’ केही विचौलिया अवैध नेपालीले काम गर्ने कम्पनीमै पुगेर घर पठाइदिने भन्दै २ हजारदेखि २ हजार ५ सय रिंगेटसम्म असुल्ने तर घर नपठाउने गरेको पाइएकाले ठगी नियन्त्रण गर्न दूतावासले यात्रा अनुमतिपत्र वितरणमा कडाइ गरिएको उनले जानकारी दिए। अध्यागमनले भने आत्मसमर्पण गर्न जाँदा कोपरासीकै माध्यमबाट जानुपर्ने बाध्यकारी नियम लगाएको छैन। जुनसुकै देशको अवैध नागरिकले आफ्नो देशको दूतावासबाट यात्रा अनुमतिपत्र र हवाइटिकट लिएर विभागमा आत्मसमर्पण गर्न सक्छ। अवैध नेपालीले स्वदेश फर्कन सुरुमा नेपाली दूतावासमा आफू नेपाली भएको प्रमाण पेस गरी एकतर्फी यात्रा अनुमतिपत्र लिनुपर्छ। त्यसपछि मात्र हवाइ टिकटसहित विभागमा आत्मसमर्पण गर्नुपर्छ। विभागले ४ सय रिंगेट जरिवाना लिएर फर्कने अनुमतिपत्र दिन्छ। ‘अवैध विदेशी घर फर्क’ अभियानअन्तर्गत फर्कन चाहने नेपालीले ९ सय ५० रिंगेट खर्चेर नेपाल जान सक्छन्। अध्यागमनमा ४ सय रिंगेट तिर्नुपर्छ भने ५ सय ५० रिंगेट हवाइ टिकटलाई पर्छ। तर, नेपाली दूतावासले १ हजार २ सय ८० रिंगेट लिएर कोपरासीबाट मात्रै नेपाल जान पाउने बाध्यकारी नियम बनाएपछि नेपाली मर्कामा परेका छन्। उनीहरुले कोपरासीबाट घर जाँदा ३ सय ३० रिंगेटभन्दा बढी अतिरिक्त तिर्नुपरेको छ। दूतावासले कोपरासीबाट मात्रै घर जान पाउने भनी जारी गरेको सूचनाप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए), मलेसियाले आपत्ति जनाएको छ। एनआरएनए, मलेसियाले शुक्रबार विज्ञप्ति जारी गर्दै दूतावासको सूचनाले सहज तरिकाले घर जान पाउने नेपालीको नैसर्गिक अधिकार हनन भएको जनाएको छ। महासचिव सुनील चालिसेद्वारा हस्ताक्षरित विज्ञप्तिमा दूतावासले कोपरासीमा पैसा तिरेको रसिद बुझाए मात्रै यात्रा अनुमतिपत्र दिइने सूचना जारी गर्नु गलत भएको उल्लेख छ। विज्ञप्तिको बोधार्थ परराष्ट्र र श्रम मन्त्रालय तथा एनआरएनए, अन्तर्राष्ट्रिय समन्वय समितिलाई पनि पठाइएको छ। नागरिकबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: