पूर्व लडाकुबाट टेलर्स सञ्चालकः फेरिएको परिचय (भिडियो सहित)

जतिबेला उनी स्कुलमा पढ्दै थिइन्, गाउँमा तत्कालिन नेकपा माओवादीको जगजगी थियो । २०६१ सालमा कक्षा ८ मा पढ्दै गर्दा उनले नेकपा माओवादीको सदस्य हुने निर्णय गरिन् ।

रुची त साँस्कृतिक फाँटमा थियो तर फौजी गतिविधिमा संलग्न हुनुपर्यो उनले । कलम चलाइरहेकी शोभादेवी टमटाको हातमा बन्दुक आइपुग्यो । त्यसपछि २०६३ सालमा शान्ति सम्झौता भएर बन्दुक थन्क्याउनु अघिसम्म उनले अछाम, कैलाली लगायतका केहि भिडन्तमा लडिन् ‘दुश्मनको सेनासँग’ ।

Shovadevi 1तर जीवन सरल रेखा होइन । त्यसले कतिबेला कोल्टे फेर्छ त्यो पनि भन्न सकिन्न । जव जनआन्दोलन पछि सरकार र तत्कालिन नेकपा माओवादी शान्ति सम्झौता भयो र लडाकु राख्ने शिविर खडा गरिए, शोभादेवीको जीवनले पनि अर्कै मोड लियो ।

पार्टीमै कार्यरत रहँदा उनको विवाह भइसकेको थियो पार्टीकै पूर्णकालिन कार्यकर्ता धर्मेन्द्र टमटासँग । उनीहरु दुवै शिविरमा बस्थे । अकस्मात नेकपा माओवादी पार्टीले वाइसीएल बनाउने घोषणा गर्यो र उनीहरु शिविरबाट बाहिर निकालिए ।

पार्टीबाट शिविर हुँदै घर फर्किंदा शोभादेवीका सामुन्ने समस्याको चाङ उभिएको थियो । पुख्र्यौली जग्गा जमिन थिएन । घरमा नन्द, देवरहरु थिए । अर्थात खर्च ठूलो थियो आम्दानीको श्रोत थिएन । त्यहि बीचमा बच्चा पनि थपिए उनीहरुका ।

Shovadevi main

“अभावको जीवन थियो । त्यो अझ कष्टकर हुँदै थियो । आम्दानीको बाटो थिएन । बच्चा विरामी हुँदा सापटी माग्दा पैसा दिने मान्छे समेत थिएनन्, साह्रै नमिठो लाग्थ्यो, कहाँ जाउँ कसो गरौं हुन्थ्यो” उनी त्यतिबेलाको दुःख अझै झल्झली सम्झिन्छिन् ।

यहि अभावले पिल्स्याइरहेको अवस्थामा शोभादेवीसम्म एउटा आशाको त्यान्द्रो बोकेको समाचार आइपुग्यो सिलाई कटाईको तालिम खुल्दैछ भन्ने । आफ्नै ठाउँमा खुलेको तालिम सकेपछि काम पाइएला भन्ने आशाले उनले फर्म भरिन् र पास पनि भइन् । बन्दुक चलाएको हात अव सिलाई मेसिनमा चल्न थाले ।

नभन्दै तालिम सकेपछि उनले रोजगारी पनि पाइन् । आफ्नै ठाउँको एउटा टेलर्समा काम गर्न थालिन् । आम्दानी महिनामा चार, पाँचहजारको हाराहारीमा हुन थाल्यो । दुईचार पैसाको समेत अभाव खेप्नु परिरहेको अवस्थामा त्यो कमाईले पनि उनलाई धेरै भरथेग गर्यो ।

झण्डै तीन बर्ष उनले यसरी नै काम गरिन् । यसले उनको मासिक केहि कमाई त हुँदै थियो, सँगसँगै उनलाई आफैंले व्यवसाय सुरु गर्दा हुने फाइदाका बारेमा पनि प्रष्ट पार्दै थियो । त्यसैले अझ सीप सिकेर आफैं टेलर्स सुरु गर्ने योजनामा थिइन् शोभादेवी । त्यसका लागि उनी मौका पर्खेर बसेकी थिइन् ।

Shovadevi 4

जाँगरीका भागमा माछा र मासु अल्छिका भागमा आँशु भन्ने त नेपाली उखान नै छ । जाँगर लगाएर काम गरिरहेकी शोभादेवीले टेलरिङको लेभल टु को तालिम खुलेको थाहा पाइन् । त्यसपछि उनले सो तालिम पनि लिइन ।

दोश्रो तालिम लिइसकेपछि उनको आँट पनि बढ्यो । त्यसपछि उनले आफ्नै टेलर्स सुरु गर्ने निधो गरिन् र सुरु गरिन् कैलालीकै बौनियाँमा करुणा टेलर्स । त्यसपछि काम, कमाई कुनै कुरामा पनि उनले मन खुम्च्याउनु परेको छैन ।

अहिले उनीसँगै काम गर्ने तीनजना छन् । अन्य दुईजना सिक्दै छन् । अर्थात उनको टेलर्समा ५ जना काम गर्छन् । सवैलाई गच्छे अनुसारको तलव र सुविधा दिएर मासिक ३० हजार भन्दा बढी नै बच्छ उनलाई । कमाईले राम्रैसँग गुजारा चलेको छ शोभादेवीको ।

श्रीमान् अझै पार्टीमै छन् । त्यसैले घरखर्च सवै चलाउने जिम्मा शोभादेवीको नै हो । “घरमा भाँडाकुँडा, पलङ, दराज जस्ता सवै कुरा जोडिसकेकी छु । आफ्नो घर छैन । ५ धुर जग्गा पनि किनिसकें अव घर बनाउने योजनामा छु” उनले टेलर्सबाट भएको प्रगतिको कुरा एकै वाक्यमा सुनाइन् ।

Shovadevi 5

“जीवनमा हार खानु हुन्न रैछ, प्रयास गर्ने हो र त्यहि अनुसारको सीप सिक्ने हो भनें २०/२५ हजार कमाउन कहिं जानु पर्दैन” उनले सिकेको कुरा यहि हो । अहिले पनि धेरै मान्छेले काम नपाउनुको कारण हातमा सीप नहुनु नै हो भन्ने उनलाई लागेको छ ।

“पहिले सवै देसी(भारतीय) मात्र थिए टेलर्स, होटलहरुमा । अहिले त्यो घट्दै गएको छ । तर अझै पनि थुप्रै काममा उनीहरु मात्र छन् । नेपाली चाहिं कि त काम गर्न लाज मान्छन्, कि त जान्दै जान्दैनन् । त्यसैले यहिं के कस्तो काममा रोजगारी छ भनेर राम्रोसँग बुझेर त्यहि अनुसारको सीप सिक्ने हो भनें धेरैका लागि आफ्नै ठाउँमा काम छ” उनी भन्छिन् ।

सीप सिकेपछि आर्थिक सहजता मात्र भएको छैन, सामाजिक इज्जत पनि बढेको अनुभव गरेकी छिन् शोभादेवीले । “हिजोका दिनमा सानो ऋण नपत्याउनेहरुले पनि अहिले पैसा चाहियो भनें सजिलै दिन्छन् । र मुख्य छोरीलाई बोर्डिङमा पढाएकी छु, गाउँ समाजका मान्छेले पनि मेडम भनेर नमस्कार गर्छन्, खुसी लाग्छ” शोभा भन्छिन् ।

Shovadevi 2

सीप सिक्नु अगाडीको जीवन र अहिलेको जीवनलाई कसरी तुलना गर्छिन् त उनी ? “सीप नभएको मान्छे अधुरो हुँदो रहेछ” उनी भन्छिन् -“केहि गर्न सक्छु भन्ने आत्मविश्वास पनि हुँदो रहेनछ आफूमा । त्यसैले पहिले आफूलाई कमजोर मात्र ठान्थें । अव त्यस्तो छैन दुईचारजनालाई रोजगारी समेत दिएकी छु, आफूले यहि कमाईबाट घर चलाएकी छु र मुख्य कुरा खानेबस्ने र बालबच्चा पढाउने कुनै चिन्ता छैन । यो मैले केवल त्यहि टेलरिंग तालिमबाट पाएको कुरा हो ।”

सुनिल न्यौपाने, कैलाली

(शोभादेवी टमटा रोजगार कोषअन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमकी लाभान्वित युवा हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था ट्रेस नेपालले सहयोग गरेको थियो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को मार्चसम्ममा रोजगार कोषले करिब एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।)

भिडियो हेर्नुहोस् 

https://www.youtube.com/watch?v=3Slotoyjdnw&feature=youtu.be

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय