बहराइन जान निःशुल्क हुने

काठमाडौं-नेपाली कामदारले रोजगारीका लागि बहराइन जाँदा एक पैसा तिर्नु नपर्ने भएको छ। नेपाल भ्रमणका रहेका बहराइनी अधिकारीले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँगको भेटमा नेपाली कामदार लैजाँदा लाग्ने सबै खर्च उतैबाट बेहोर्ने सहमति जनाएका हुन्।

बहराइनका श्रम बजार नियमन निगम प्रमुख असमान अब्दुलाह अल अवासीले भिसा शुल्क, टिकट खर्च र नेपाली म्यानपावर कम्पनीले कामदार पठाउँदा गर्ने खर्चसमेत उतैबाट बेहोर्ने बताए। ‘कमिसन पनि उतैबाट दिन्छौं,’ राज्यमन्त्री गुरुङले अल अवासीको भनाइ उद्धृत गरे।

अहिलेको तुलनामा १० गुणा बढी कामदार लिने पनि अल अवासीले बताएका छन्। बहराइनी अधिकारीले नेपाली कामदार मेहनती र इमानदार भएकाले १० गुणा बढी लिने बताएका थिए। बहराइनले यसअघि पनि निःशुल्क भिसा र टिकट उपलब्ध गराए पनि दुवै देशका एजेन्टहरुले कामदारसँग ७० हजारदेखि ९० हजार रुपैयाँसम्म उठाइरहेका छन्।

अब बहराइनले नियुक्ति प्रक्रियामा कामदारले कुनै खर्च गर्नु नपर्ने व्यवस्था लागु गर्नेछ। नेपाली म्यानपावर एजेन्सीलाई कमिसन पनि रोजगारदाताले नै दिने भएकाले कामदारलाई कुनै व्ययभार पर्दैन।

बहराइनी अधिकारीले उताका म्यानपावर कम्पनीले बिचौलिया राखेर कमिसन खाएको प्रमाण भेटिए लाइसेन्स रद्द गर्ने आश्वासन दिएका छन्। नेपालमा पनि कामदारसँग पैसा उठाउने म्यानपावरलाई नियन्त्रण र कारबाही गर्न प्रभावकारी योजना बनाउने निर्णय भएको राज्यमन्त्री गुरुङले बताए।

म्यानपावरलाई नियन्त्रण र कारबाहीका लागि नियमित अनुगमन हुने त्यसका लागि नयाँ नीति बनाउने उनले बताए। ‘अहिले सरकारले नै बहराइनको लागि ७० हजार लागत तोकेको छ। अब चाँडै हटाइने छ,’ उनले भने।

बहराइनमा अहिले नेपाली कामदारले न्यूनतम २१ हजार रुपैयाँसम्म तलब पाउँछन्। ५५ हजारदेखि ९० हजारसम्म खर्च गरेर गएका अदक्ष कामदारले २१ हजारसँगै खान र बस्न पाउँछन्। अर्धदक्षलाई खानेबस्ने सुविधा र २५ हजार रुपैयाँ तलब हुन्छ। दक्षले ८० हजारसम्म पाउँछन्।

अघिल्लो दिन वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नेपाली कामदारको सुविधा बढाउन गरेको आग्रहलाई बहराइनी अधिकारीले सकारात्मक रुपमा लिएका थिए।

बहराइनमा अहिले करिब ५० हजार नेपाली कार्यरत रहेको अनुमान छ। त्यहाँ नेपालीहरु सुरक्षा गार्ड, निर्माण, पूर्वाधार, डिमार्टमेन्टल स्टोर लगायतमा कार्यरत छन्। बहराइनले यिनै क्षेत्रमा कामदारको माग बढाउने तयारी गरेको हो।

नेपालले कामको क्षेत्र पनि बढाउन आग्रह गरेको छ। नेपालको आग्रहपछि बहराइनी अधिकारीले पर्यटन, होटल जस्ता सेवामूलक क्षेत्रमा पनि कोटा बढाउन सकिने संकेत गरेका छन्। चालु आर्थिक वर्षको आठ महिनामा ३ हजार १ सय १४ नेपाली बहराइन गएका छन्।

बहराइन कामदार पठाउने टप जब प्रालिका सञ्चालक रोहन गुरुङले कामदार निःशुल्क पठाउने आश्वासनलाई स्वागतयोग्य भने। नेपालमा प्रतिस्पर्धा रहेकोले नियमन र अनुगमन राम्रो हुनुपर्नेमा उनले जाड दिए। ‘बहराइनको एजेन्सीले नै कमिसन माग्छ। उताबाट मागेपछि नेपालमा त्यसको प्रभाव पर्छ। पहिला त्यता नै नियन्त्रण हुन जरुरी छ,’ उनले भने।

प्रुडेन्सियल म्यानपावरका सञ्चालक नारायण पराजुलीले निःशुल्क कामदार पठाउने विषय बहराइनको प्रभाविकारितामा भर पर्ने बताए।  ‘पुरानो टेन्डरमा त सम्भव छैन। नयाँमा लागू भयो भने सकिन्छ,’ उनले भने। नेपालमा भन्दा उतै समस्या समस्या रहेको उनले बताए। उनी पनि उतैको कम्पनीले कमिसन माग्ने बताउँछन्। ‘उता नियमन भयो भने यताका कामदारलाई भार पर्दैन। नत्र नीतिमा लागू हुन्छ, व्यवहारमा हुँदैन,’ उनले भने।

श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले निःशुल्क कामदार लैजाने विषयमा प्रभावकारी छलफल भएको जानकारी दिँदै बहराइनले त्यसमा कडा नियमन गर्ने जनाएको बताए। ‘उनीहरुले कडा रुपमा प्रस्तुत हुन्छौं भनेका छन्। हामी पनि सोही अनुसार लाग्छौं,’ उनले भने।

खाडी मुलुक भए पनि बहराइन तुलनात्मक रुपमा खुल्ला रहेकोे व्यवसायी बताउँछन्। बहराइनमा मुस्लिम कानुन भए पनि पुरातन र निरंकुश पद्धति नभएकाले नेपाली कामदार घुलमिल हुन सक्ने उनीहरुको भनाइ छ।

नागरिकबाट

यो पनि पढ्नुहोस् सिरियामा रहेकी नेपाली महिलालाई नेपाल झिकाइदिन अपिल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: