किन लडिरहन्छन् मेनपावर व्यवसायीहरु ?

काठमाडौं-व्यक्तिगत स्वार्थ र लाभमा लाग्ने तथा चर्को राजनीतिका कारण नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा सधैंजसो विवाद देखिने गरेको छ। डेढ वर्षअघि संघमा निर्वाचित बलबहादुर तामाङलाई व्यवसायीको हितविपरीत बोलेको भन्दै हटाएर अध्यक्ष बनेका हंशराज वाग्लेलाई अहिले तिनै व्यवसायीले हटाउन लागेका छन्।

वाग्लेले व्यक्तिगत फाइदा दिएको र व्यवसायीको हित नसोचेको भन्दै यसअघि उनलाई साथ दिएकाले उनको राजीनामा मागिरहेका छन्। संघमा ताजा चुनाव गर्नुपर्ने उनीहरुको माग छ।

अध्यक्षले विदेशबाट माग ल्याउने र विदेशी कम्पनी, एजेन्ट र एजेन्सीसँग फाइदा लिने गर्न थालेपछि यो पद जहिले पनि विवादमा पर्ने गरेको छ। अर्कोलाई हटाएर आफू नेतृत्वमा पुग्ने परिपाटी संस्थामा सुरुदेखि नै छ।

व्यवसायीविरुद्ध अभिव्यक्ति दिएको र सरकारसँग मिलेको आरोप लगाउँदै तामाङलाई चुनावमा उनीसँगै पराजित वाग्ले समूहले अविश्वासको प्रस्तावबाट हटाएको थियो। त्यो बेला व्यवसायी विमल ढकाल, किरणकिशोर घिमिरे, प्रज्ञान न्यौपाने, कुमुद खनाल, भुवनसिंह गुरुङ, विनोदजंग केसी, शारदा न्यौपानेलगायतले वाग्लेलाई साथ दिएका थिए। अहिले तिनै व्यवसायी वाग्लेसँग असन्तुष्ट छन्।

सरकारले रोकेको विवादस्पद बायोमेटि्रक लागू गराउन वाग्ले लागिपरेको भन्दै संघका पदाधिकारी र कार्यसमिति सदस्य गरी १० जनाले गत माघमा राजीनामा दिएका थिए। राजीनामा दिनेमा द्वितीय उपाध्यक्ष कुमुद खनाल, तृतीय उपाध्यक्ष भुवनसिंह गुरुङ, सचिव विनोदजंग केसी, कोषाध्यक्ष शारदा न्यौपाने, कार्यसमिति सदस्यहरु थिरमणि पौडेल, माधुरी पौडेल, एमुन्डा गिरी, दुर्गाबहादुर लिम्बु, टेकराज ज्ञवाली, राजेशशंकर विक, मोहनकुमार ढुंगेल थिए। वाग्लेले अरुलाई फकाएपछि ४ जनाको राजीनामा स्वीकृत गरी चैत १३ मा रिक्त ४ जनाको चुनाव गरेका थिए। तर, त्यसअघि नै राजीनामा दिएका पदाधिकारीले सबै पदाधिकारीको राजीनामा स्वीकृत गर्नुपर्ने र नयाँ चुनाव गराउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि चैत १२ मा नै प्रशासनले चैत १५ भित्र नयाँ निर्वाचन गराउन निर्देशन दियो। तर, ४ जनाको मात्र निर्वाचन गराएपछि प्रशासनले मान्यता दिएन। वाग्लेले बेहोरेको जस्तै नियति उनको मोर्चाले हटाएको तामाङले बेहोरेका थिए। डेढ वर्षअघि ६ सय ४ जना सदस्यले अध्यक्ष तामाङलाई अविश्वासको प्रस्तावबाट हटाएको जनाउँदै सोमलाल बाटाजुको संयोजत्कवमा निर्वाचन समिति बनाएर निर्वाचन गराएको थियो। त्यो चुनावबाट वाग्ले निर्वाचित भएका थिए। संघमा सधैं भूलभूलैया रहेको अध्यक्ष वाग्ले बताउँछन। ‘साथीहरुको नियत बुझ्न नसकेर समस्या भयो। म पनि राजनीतिकै शिकार भएको छु,’ उनले भने, ‘निर्वाचन गराउने कुरा छ। तर साथीहरु साधारणसभामा पनि आउँदैनन्, चुनावमा पनि आउँदैनन्। सिडियोको निर्देशन पनि विधानविपरीत छ। अदालतमा अर्को निवेदन छ।’

राजीनामा दिएका खनालको भनाइमा वाग्लेले व्यक्तिगत फाइदा लिने क्रम बढेको छ। ‘संघ र सरकारले विरोध गरेको बायोमेटि्रकको समर्थन गरेर फाइदा लिएको देखिएपछि हामीले राजीनामा गरेको हो। अहिले फेरि एकलौटी रुपमा चुनाव घोषणा भएको छ,’ उनले भने।

संघमा फाइदाकै कारण नेतृत्वमा विवाद हुने गरेको उनले बताए। ‘कहिले गल्फबाट डिमान्ड ल्याउन, कहिले मलेसियाबाट कमिसन खान अध्यक्ष बन्ने। व्यवसायीको हितबारे सोच्दै नसोच्ने परिपाटीले विवाद जन्माउने गरेको हो,’ उनले भने।

निवर्तमान अध्यक्ष तामाङको भनाइमा संघमा सधै अस्थिरता छ। व्यवसायीले ठग्न हुँदैन भनेर आफूले बोल्दा व्यवसायीको हितविपरीत बोल्यो भन्दै हटाएको उनले बताए। ‘व्यवसायीको सोच परिवर्तन भएकै छैन। त्यसैले जसले जे पनि पनि पत्याउने र पछि लाग्ने काम हुन्छ,’ उनले भने, ‘हामीले सेवा शुल्क पारदर्शी गराउन सकेका छैनौं।

कामदार ठगिँदैनन् भन्ने बनाउन सकिएको छैन। यस्तो बेला सरकारले पनि पेल्न खोज्छ। कामदारका सुविधा बढेको छैन।’ तामाङ र वाग्लेबीच मात्र होइन २०४९ सालमा स्थापित संघमा संस्थापक अध्यक्ष महेन्द्र शेरचनदेखि त्यसयताका १० जना अध्यक्षले बिनाअवरोध काम गर्न पाएको इतिहास छैन।

संस्थापक अध्यक्ष शेरचनलाई पुष्पलाल महर्जनलगायतले असहयोग गरे। महर्जनलाई फाल्न प्रेमबहादुर गुरुङले संस्थागत रुपमै पहल गरेको व्यवसायी बताउँछन्। आफूलाई हटाएर गुरुङ अध्यक्ष बनेपछि पुष्पलालले बदला लिन निर्मल गुरुङको सहयोग लिए। निर्मल र पुष्पलालको प्रयास सफल पनि भयो। त्यसपछि अध्यक्ष बने– निर्मल।

प्रेमबहादुरले निर्मललाई समस्यामा पार्न थाले। त्यसपछि अध्यक्ष बनेका भरतसिंह थापालाई तारा भट्टराई र प्रेमबहादुरले असहयोग गरे। त्यसपछिका अध्यक्ष दानबहादुर तामाङ दुईवर्षे कार्यकालमा ३ पल्ट अध्यक्ष बने। प्रेमबहादुर गुरुङ, भरतसिंह थापालगायतले अविश्वासबाट हटाएपछि भएको चुनाव पनि दानबहादुरले नै जिते।

दानबहादुरपछि निर्मल गुरुङ फेरि अध्यक्ष भए। यसपालि उनको बाटोमा पहिलाकै समूह अवरोधको रुपमा उभियो। निर्मलले राम्रोसँग काम गर्न पाएनन्। त्यसपछि एलपी साँवा लिम्बु अध्यक्ष बने। लिम्बुलाई उनीसँग चुनावमा पराजित तिलक रानाभाट समूहले असहयोग गर्यो।

यसको बदला लिन रानाभाट अध्यक्ष बन्दा लिम्बु समूहलेे सुरुदेखि नै असहयोग गर्यो्। रानाभाटपछि सोमलाल बाटाजु अध्यक्ष बने। उनीसँग बलबहादुर तामाङ चुनाव लडेका थिए। बाटाजुलाई तामाङ समूहलेे असहयोग गर्योु। त्यही बेला प्रेम कटुवालको अर्काे संस्थालेे पनि संघलाई असहयोग गर्दै आइरहेको थियो।

बाटाजुपछि २०६८ चैत २४ गते अध्यक्ष बनेका बलबहादुरलाई उनीसँग पराजित हंशराज वाग्लेको समूहले चुनाव सकिएको २ महिनादेखि नै असहयोग र अवरोध गर्योे। पछि अविश्वासको प्रस्ताव ल्याएर तामाङ हटेपछि वाग्ले अध्यक्ष भए। वाग्ले अध्यक्ष भएको ६ महिनामै विवाद बल्भि्कयो र व्यवसायीले नयाँ निर्वाचनको माग गरेका छन्।

बाटाजु भन्छन्, ‘अरु संस्थामा जस्तो यसमा एउटै सोच भएका व्यवसायी छैनन्। फरक फरक पेसा र व्यवसाय गरेर आएका व्यवसायीले म्यानपावर खोल्ने र राजनीति गर्ने क्रम बढेपछि विवाद चर्किएको छ। यो क्रम चलिरहन्छ।’

नागरिकबाट

यो पनि पढ्नुहोस् किन हतारिंदैछन् श्रम राज्यमन्त्री घरेलु काममा महिलालाई पठाउन ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: