झटपट गएको कतार भन्दा नेपाल फर्केपछिको चटपटबाट धेरै कमाई

धादिंग -उनको पुख्र्यौली थलो पूर्वी नेपालको इलाम । इलामबाट बसाई सरेर झरेपछि बास भयो झापाको सुरुङ्गामा । गरिखाने उपाय खोज्दै बालकृष्ण दाहाल(३९) कहिले पाउरोटी फ्याक्ट्रीमा पुगे त कहिले भारतमा चौकीदारी गर्न । कामले उनलाई घुमाइरह्यो जाँतो सरी ।

२०६१ साल । देशमा सरकार र तत्कालिन नेकपा माओवादीबीच सशस्त्र द्धन्द उत्कर्ष उन्मुख थियो । गाउँमा बस्ने स्थीति थिएन । कतिबेला कुन बन्दुकको निशानामा परिने हो ठेगान थिएन । त्यसैले कतै हिंड्ने तारतम्य मिलाउँदै थिए उनी ।

गाउँमै एजेण्टले चिप्लो कुरो ल्याए कतार जाने । भारतको रोजगारीबाट फर्केका बालकृष्णलाई लाग्यो एकचोटी भाग्य अजमाई हालौं । एजेण्टलाई ८० हजार बुझाएपछि उनको यात्रा तय भयो कतारका लागि ।

सन् २००५ । एउटा ठूलो जहाज चढेर कतारको दोहा उत्रेपछि बल्ल बालकृष्णले बुझे त्यो बिरानो मुलुक पनि उनका लागि भाग्यमानी ठाउँ थिएन । अर्थात त्यहाँ पनि उनलाई दुःखले नै पर्खिरहेको थियो । एउटा भारतीयले चलाएको कम्पनीमा पुगे उनी कामदार भएर ।

तलव ५ सय ५० रियाल थियो जसमा ५० रियाल भिसाको भनेर हरेक महिना काटिन्थ्यो । त्यो क्रम एक बर्षसम्म चलिरह्यो । मन लागे पनि नलागे पनि कम्पनीमै रहेको केरलाको क्यान्टिनको बेस्वादको खाना पैसा तिरेर मुख विगार्दै खानै पथ्र्यो । यताउती गर्दा हात लाग्यो शुन्ना । अर्थात कमाई हुने छाँट देखेनन् बालकृष्णले । ‘पिङ जस्तै भयो, न उँधो झर्नै सकियो, न त उँभो नै लागियो, बीचैमा अड्कीयो’ कतार बसार्ई त्यस्तै भयो उनका लागि ।

भारतमा उनले चौकीदारी गरेका थिए । त्यहि चौकीदारीको अनुभव काम लाग्यो कतारमा । काम त उनले सेक्युरीटी गार्डको पाए तर तलव भनें बढेन । बल्ल तल्ल तीन बर्षपछि एकसय थपियो । त्यसपछिका बाँकी चार बर्ष उहि तलवमा बिते । कमार्ई नहुने देखेपछि नेपाल फर्किने भए उनी । तर फेरी समस्या आइलाग्यो ।

कम्पनीले भगौडा भनेर हालिदिएछ प्रहरीमा । धन्य उनका दिन बलिया रहेछन् त्यो समयमा भनें । उनले अघिल्लै दिन लेवर कोर्टमा केस हालेका कारण उनको हात माथि पर्यो । बाध्य भएर कम्पनीले उनलाई नेपाल फर्काउनु पर्नेभयो । लामै समयको मुद्धामामिलो खेप्दै बल्ल उनी नेपाल फर्किए सन् २०१३ मा ।

काठमाडौं उत्रिंदा साथमा २० हजार थियो कतारको कमाईको चिनोका रुपमा । यताउति गर्दा गर्दै ७, ८ हजार सकिइहाल्यो । बाँकी १२ हजार बोकेर एउटा साथिले डोर्याएको बाटो हिंड्दै उनी आइपुगे धादिंगमा जहाँ उनको नयाँ कर्मले उनलाई पर्खिरहेको थियो ।

‘साथमा पुँजी थिएन, त्यसैले पहिले नै एउटा पञ्जावीले भनेको पानीपुरी बेच्ने निश्कर्षमा पुगेको थिएँ, तर त्योे सुरु गर्न कम्ता गाह्रो परेन’ धादिंगको बीचबजारमा ठेला रोकेर बसेका बालकृष्ण चटपटको व्यापार थाल्दाका कुराको पोको फुकाउँदै थिए ।

Chatpat 3

‘तर मसँग अरु उपाय पनि त थिएन’ उनी भन्दै गए ‘एउटा टेवुलमा राखेर सुरु गरेको चटपटको व्यापार पहिले दिन २ सय ६० को भयो ।’ यो २०६९ असार १७ गतेको कुरा थियो । इलामबाट झापा हुँदै भारत र कतार चहारेका उनी अव धादिंगमा चटपट व्यापारी भएका थिए ।

‘गरिखान कम गाह्रो छैन । भन्नेले त सुरुमा भैया(भारतीय)ले गर्ने काम बाहुनको छोरो भएर के गरेको भन्दै गिज्याउन समेत भ्याए’ तर मैले हार मानिन । साथमा भएकी बहिनीले अर्को ठेला लिएर हिंड्न थालेपछि त अर्ति दिने अझ थपिए ।

‘के गरेको तिमिले, आइए पढ्ने बहिनीलाई ठेला ठेल्न लाउने भन्नेहरुलाई मैले गरिखान लाज हुन्छ र भन्ने बाहेक अरु के उत्तर दिनु थियो र ?’ उनी सभ्mिन्छन् । तर अहिले अवस्था फेरिएको छ । स्नातक पढिरहेकी उनकी बहिनी अहिले दैनिक ठेलामा चटपट बेच्छिन् । उनी अर्को ठेला लिएर हिंड्छन् । सटरको पसल अर्की बहिनी र श्रीमतिले हेर्छन् । अर्थात दाहाल परिवारको चटपट व्यापार फैलँदो छ ।

बालकृष्णलाई उनकी श्रीमति दुर्गा र बहिनी कल्पनाले सुरु देखि नै सघाए । कल्पना सम्झिन्छीन् कसरी उनका दाजु कतारबाट फोनमा रुने गर्दथे भनेर । ‘फोन गरेर रुनु हुन्थ्यो कमाउन सकिन भनेर । मैले नै हो आउनुस् यहिं केहि गरौं भनेर बोलाएको र उहाँ फर्केर आएपछि उहाँको काममा साथ दिएर गरेको’ उनी भन्छिन् ।

Chatpat 4

तर एउटी युवतीलाई ठेला ठेल्दै सडकमा चटपट बेच्दै हिंड्न सजिलो भनें थिएन । ‘सुरुमा कहाँ सजिलो थियो र ? ओहो चटपट बेच्ने त भनियो तर लिएर बाहिर कसरी निस्किने हो भने झैं भयो । तर आँट गरेर निस्किएँ’ कल्पना भन्छिन् ‘भन्नेले त के के भने भने । त्यो सम्झिंदा पनि नमज्जा लाग्छ । तर हामीले इज्जतसाथ काम गरेर खाएका छौं, मलाई यसमै गर्व छ ।’

सुरुमा त कमार्ई खासै भएन । १२ सयको सामान बेचिसक्दा ११ सय मात्र जम्मा भएको अनुभव पनि छ दाहाल परिवारसँग । अर्थात सामान बेच्नै जानेनन् उनीहरुले । तर विस्तारै काम सिक्दैै गए, हात बस्दै गयो अनी कमार्ई पनि हुन थाल्यो । खासगरी पानीपुरी बनाउन सिकेपछि कमाई बढ्यो ।

Chatpat 2

खटार्ई अहिले चर्कै छ । दिनमा १८ घण्टाको हाराहारी खट्नुपर्छ । तर कमार्ई पनि असन्तोष मान्नुपर्ने छैन । विशेष मेलापर्वमा त कमार्ईले ठूलै डाँडो काट्छ । अरु समयमा पनि सरदर महिनामा ४५ हजार घट्दैन । त्यसैले बालकृष्णलाई लाग्छः उनले देशमा काम नभएर भन्दा पनि काम नदेखेर दुःख पाएछन् ।

‘आखिर गोरुले जति जोतेपनि पाउने त एकमुठो पराल र एक बाल्टि पानी मात्र न हो’ बालकृष्ण भन्छन् ‘हामी त्यहि गोरु जस्तै भएर दिनमा १२ घण्टा विदेशमा अर्काको लागि खटिरहेछौं । कमाई हुने काम चिन्दैन रहेछौं, अर्काको दास हुन पैसा बुझाएर विदेश उडिरहेछौं । यो कुरा बुझ्न विदेश पुगेर गोता नै खानु पर्ने रैछ ।’

बैदेशिक रोजगार विभागको गत साउनदेखि फाल्गुन मसान्तसम्मको तथ्याँकलाई हेर्दा दैनिक सरदर १५ सय २० जना नेपाली रोजगारीका लागि विदेश उडिरहेको तथ्याँक छ । त्यसमध्ये अधिकाँश खाडीका देशहरु र मलेसियामा जाने गरेका छन् । उनीहरु मध्ये बहुसंख्यक लेवरको काममा जान्छन् । त्यसरी जानेहरुको औषत कमाई १५ देखि २० हजार हाराहारी हो ।

तर कतारमा ७ बर्ष पाखुरा बजारेर फर्केका बालकृष्णको बुझाई अर्कै छ । उनी भन्छन् ‘कति मान्छेले देशभित्रको कामलाई नदेखेको, नचिनेको हो । अनी कतिले चैं देखेर पनि लाज मानेर नगरेको हो । मेरो अनुभवमा २० हजार कमाउन विदेश जानु पर्दैन । यहिं(नेपालमा) नै छ काम र कमाई पनि ।’

सुनिल न्यौपाने, धादिंग

यो पनि पढ्नुहोस् 

साउदीबाट दुई नेपालीद्धारा उद्धारको अपिल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय