
रञ्जना लम्साल, नवलपरासी बैदेशिक रोजगारीमा गएपछि नेपालमा भनेको जस्तो काम नभएपनि बाध्य भएर गर्नुपर्छ भन्ने धेरै नेपालीको बुझाई छ । तर नेपालमा गरिएको सम्झौता भन्दा फरक काम परे बैदेशिक रोजगार बिभागमा उजुरी हालेर पनि नेपाल फर्किन सकिन्छ । अथवा उजुरी हालेपछि मेनपावर कम्पनीले पठाएको देशमा कम्पनीसँग कुरा गरेर सम्झौता अनुरुपको काम र कमाईको व्यवस्था मिलाउने समेत गरेका छन् ।
यसरी नै नवलपरासी जिल्लाका दुर्ईजना युवाले न्याय पाएका छन् । रोजगारीका लागि २०७१ असोजमा मलेशिया पुगेका देउराली ७ नवलपरासीका दलबहादुर गाहा र वीरबहादुर गाहाले गएको ३ महिनासम्म आफुले काम गर्ने कम्पनीले भनेको काम दाम नपाएपछि सुचना केन्द्र कावासोतीमा परिवार मार्फत निबेदन दिएका थिए ।
उनीहरुसंगै गएका अन्य दुईजना र उनीहरुको निवेदन परेपछि सुचनाकेन्द्र कावासोतीले आफ्नो सहयोगि संस्था पिपुल्स फोरम मार्फत २०७१ साल असोजमा बैदेशिक रोजगार विभागमा उजुरी दर्ता गराएको थियो ।
केस चलिरहँदा दुईजना मलेसिया स्थीत नेपाली दुतावासको सहयोगमा नेपाल फर्किसकेका थिए । तर दुईजनाले भने निरन्तर कि भनेको काम र दाम पाउनु पर्ने कि नेपाल फिर्ता भएपछि पनि आफ्नो लगानी फिर्ता पाउनु पर्ने भन्दै न्यायिक लडाईं लडिरहेका थिए ।
यसमा लामो समय लागेपनि आफूहरु न्यायिक लडार्ईमा सफल भएको भन्दै पिडितका दाजु मित्र बहादुर गाहाले प्रसन्नता प्रकट गर्नुभयो । उनीहरुलाई नेपालबाट मासिक १५ सय ५० रिगेट तलब दिईने भन्दै मलेसिया पठाइएको थियो । तीन महिनासम्म सो अनुसारको काम र तलव नपाएपछि पीडितले उजुरी हालेका थिए ।
सो उजुरी पछि वीरबहादुर र दलबहादुरलाई मेनपावर कम्पनीले मलेसियामा कम्पनी फेरेर अर्को कम्पनीमा काम लगाइदिएको थियो । त्यसपछि हाल उनीहरुले ओभर टाईम समेत गरेर मासिक २१ सय रिगेट कमाईरहेको पीडितका दाजु मित्र बहादुरले जानकारी दिएका छन् । उनीहरुसँगैै मलेसिया गएर भनेको काम र तलव नपाएपछि नेपाल फर्केका चन्द्र बहादुर गाहा र हेम बहादुर पुलामीले जनही ६० हजार क्षतिपुर्ति पाएका छन् ।
ठगीका केशहरु तुरुन्तै समाधान नहुने भएपनि यदि नेपालमा गरिएको सम्झौता भन्दा फरक काम र दाम दिइएको पुष्टी भएमा बैदेशिक रोजगार बिभाग मार्फत न्याय दिलाउन सकिने पिपुल्स् फोरम मार्फत नवलपरासीको केसमा सहयोग गर्ने कानुन अधिकृत राजेश भण्डारीले बताए ।
बैदेशिक रोजगारीमा जाँदा बिदेशमा गर्नुपर्ने काम आफुले कमाउने तलब र नेपालबाट गर्ने लगानी लगायत सबै कुरामा बुझेर गएमा र आफ्नो कागजपत्रलाई सुरक्षित राख्न सकेमा आफु बैदेशिक राजगारीमै भएपनि आफन्त मार्फत यस्तो अवस्थामा कानूनी उपचारमा जान सकिने भण्डारी बताउँछन् ।
यो पनि पढ्नुहोस्
‘कतारमा श्रमिकलाई दास नबनाउ’ भन्ने व्यानर देखाउने नेपाली महिला पक्राउ