किन हराउँदैछन् विदेशमा नेपाली महिला ?

नेपालगन्ज, चैत्र ५ – वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने भन्दै भारत छिरेकी थिइन्, नेपालगन्जकी लीला केसी। गत असोज १७ मा घरबाट हिँडेकी उनको अहिलेसम्म अत्तोपत्तो छैन। विद्यालय गएकी बाँके गनापुरकी पूजा केसी पनि घर फर्किनन्। परिवारले आफन्तकोमा खोजे, फेला नपारेपछि खोजीका लागि उजुरी गरेका  छन्। नेपालगन्ज भएर विदेश जाने भन्दै भारत हिँडेकी कमला परियारको अवस्था पनि अज्ञात छ। उनी ०६९ चैत २५ मा घरबाट हिँडेकी थिइन्। बाँके सीतापुरकी १५ बर्षिया आरती परियार फागुन १६ गतेदेखि सम्पर्कमा छैनन्।

उनीहरूजस्तै ५० महिला मंसिरयताका दुई महिनामा हराएका छन्। बाँकेबाट एक वर्षमा ३ सय १७ महिला हराएको निवेदन परेको छ। तीमध्ये २९ जना फेला परेका छन्। खोजिदिन माग गर्दै निवेदन परेकामध्ये अधिकांश भारत र खाडी मुलुकमा श्रम शोषणमा परेको हुन सक्ने अनुमान छ। वैदेशिक रोजगारीका नाममा  अवैध रूपमा भारतीय बाटो हुँदै खाडी मुलुक गएका महिला उच्च जोखिममा पर्छन्। केही किशोरीले परिवारलाई जानकारी नदिई विवाह गर्छन् र सम्पर्कमा आउन चाहँदैनन्।

‘लुकीछिपी विवाह गर्न पनि महिलालाई भारत लगिएका घटना छन्। बहुविवाह गर्नेहरू बढी यस्तो गर्छन्,’ माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइराला भन्छन्, ‘केही भने बेचबिखनमा परेर हराउने गरेका छन्, गएको देशको नामसमेत परिवारलाई जानकारी नहुँदा खोज्न समस्या हुने गरेको छ। विदेशमा बिक्री  भएका महिलालाई उद्धार गर्न हामीसँग संयन्त्र पनि छैन।’

दाङको अवस्था पनि त्यसभन्दा फरक छैन। स्थानीय पत्रपत्रिकामा दिनहुँजसो महिला हराएको सूचना प्रकाशित हुन्छ, भेटिएको जानकारी भने कहिल्यै आउँदैन। प्रहरी अनुसन्धानअनुसार हराएकामध्ये केही भारतमा बेचिन्छन्। केही दोस्राे विवाह गरेर लुकेर घरजम  गरिरहेका छन्। साउनयता मात्रै १ सय ३२ महिला हराएको जिल्ला प्रहरीले जनाएको छ। तीमध्ये ९१ बालिका छन्। हराएकामध्ये ११ जना मात्रै फेला परेका छन्। १ सय २१ जनाको अवस्था अज्ञात छ।

कारण दोस्रो विवाह र वैदेशिक रोजगारी

हराउने महिलामा अधिकांश दोस्रो बिहे गर्नेहरू हुने जिल्ला प्रहरीको महिला सेलकी सविता थापाले बताइन्। ‘श्रीमान् वैदेशिक रोजगारीमा रहेको समयमा श्रीमतीहरू अर्को विवाह गरी भाग्ने गरेका घटना धेरै छन्,’ उनले भनिन्, ‘दोस्रो विवाह गरी घरबाट भाग्ने भएकाले हराएको सूचना आउँछ तर भेटिएको विषयमा थाहा  हुँदैन।’ किशोरीहरूले पनि घरबाट भागेर विवाह गर्ने गरेको थापाले बताइन्। उनका अनुसार परिवारले भागेको सूचना दिए पनि भेटिएको जानकारी नदिने भएकाले संख्या बढिरहेको हो। मायाप्रेम र विवाह मात्र होइन, वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत र तेस्रो मुलुक पुर्‍याई बिक्री गर्ने गरिएको छ।

भारत हुँदै तेस्रो मुलुक जान हिँडेका बर्दियाका महिला बेपत्ता हुने क्रम बढेको छ। गत साउनयता विदेश गएका ४९ महिला हराएको उजुरी जिल्ला प्रहरी कार्यालयमा आएको छ। तीमध्ये ९ महिला सम्पर्कमा आएका छन्। हराएका ८ किशोरीमध्ये ५ फेला परेका छन्। खाडी मुलुक पुगेका महिला हराउने क्रम बढदो छ।  वास्तविक ठाउँ र प्रभावकारी संयन्त्र अभावमा उनीहरूको खोजी हुन सकेको छैन।

बेचिएका भनेका अधिकांश महिला चिनजानका व्यक्तिमार्फत नै विदेश गएका थिए। ३ वर्षअघि कामको खोजीमा भारत गएकी रुकुमकोट पेदीकी ४० वर्षकी कल्पना चन्दले पति समीर शाहबाट बेचिएको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन्। उनका अनुसार सुत्केरी हुन १८ दिन बाँकी रहेको बेला पतिले बेचेर  भागेका थिए। शाहले घर मालिकबाट लिएको ५२ हजार रुपैयाँ २ वर्षपछि मामा कृष्णबहादुर थापा र दाइ जुद्धबहादुर चन्दले तिरिदिएपछि मात्र आफू घर फर्किन पाएको उनले बताइन्। शाहलाई प्रहरीले पक्राउ गरे पनि पीडितले मिलापत्र गर्ने भन्दै मुद्दा फिर्ता लिइन्। त्यसपछि उक्त घटना त्यत्तिकै सेलायो।

सबै उम्किँदैनन्

केही घटनामा भने मुद्दा परेर दोषीलाई कारबाही पनि भएको छ। ३५ वर्षअघि एक किशोरीलाई भारतमा बेचेर फरार रहेकी लमही १ शीतलापुरकी ५८ वषर्ीया केशरी सार्की फागुन ७ मा पक्राउ परिन्। भारतीय १ सय ५० रुपैयाँ र एउटा फिलिप्स रेडियो पाएका भरमा किशोरी बिक्री भएको प्रहरीले जनाएको छ। सार्की  अहिले जेलमा छिन्। ०३६ फागुन २ गते लमही १ की एक किशोरीलाई कोइलाबास नाका हुँदै भारतको राजस्थान पुर्‍याएर सार्कीले बिक्री गरेकी थिइन्। ०३९ भदौ २ मा दाङ देउखुरी जिल्ला अदालतले सार्कीलाई १० वर्ष कैदको फैसला सुनाएको थियो। बेचिएकी किशोरीको ३ वर्षपछि उद्धार भएको थियो।

परिवार जिम्मेवार नहुँदा महिला हराउने गरेको जिल्ला प्रहरी प्रमुख एसपी खिनुप्रसाद आचार्य बताउँछन्। ‘छोरी र बुहारीप्रति परिवार जिम्मेवार छैन। कतै बेवारिसे महिला भेटिन्छन् तर उनीहरूलाई लिन कोही आउँदैन,’ उनले भने, ‘घरमा अभिभावकत्व नपाउँदा महिलालाई अरूले सजिलै फकाएर बेच्ने गरेका छन्।’ बाँके  शमशेरगन्जकी ४० वषर्ीया पुनम थापालाई आफन्तले नै वैदेशिक रोजगारीका लागि भारत पठाएको उजुरी परेको छ। ०६६ पुस ५ मा खाडी मुलुक लगिएकी उनको अवस्था पत्ता लाग्न सकेको छैन।

विदेशमा बेचिएकामध्ये केहीको उद्धार सम्भव भएको छ। बर्दिया गुलरिया १२ की २९ वषर्ीया राधा बाठा त्यसको उदाहरण हुन्। दिदी-भिनाजुले भारत लगेका उनी ५ वर्षपछि कुवेतबाट फिर्ता आउन सफल भएकी छन्। श्रम मन्त्रालयबाट स्वीकृति नलिई त्यहाँ पुगेकी उनी भागेर नेपाली दूतावास पुगेकी थिइन्। उनीसँगै  गाउँका ४ महिला भागेर दूतावासमार्फत घर र्फकेका छन्।

०६५ जेठ १४ मा साउदी अरेबिया पुगेकी मीना थारू केही समयअघि घर फर्केकी छन्। दलालमार्फत सउदी अरेबिया पुगेकी बर्दिया नयाँगाउँ ३ चैनपुरकी अरिना थारू ६ वर्षपछि घर फर्केलगत्तै मृत्यु भयो। शीतला बजारस्थित अधिकारी थरका दलालले रोजगारी  दिलाइदिने प्रलोभन देखाई उनलाई साउदी अरेबिया पुर्‍याएको परिवारले जनाएको छ।

हराएकी छोरी राधा बाठाको तस्बिर देखाउँदै उनकी आमा बर्दिया गुलरिया १२ नम्बर गाउँकी तुलसी। गाउँकै दलालमार्फत भारत हुँदै कुवेत पुर्‍याइएकी उनी ५ वर्षसम्म सम्पर्कविहीन थिइन्।

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय