एसएलसी सुरु हुँदै, छात्र भन्दा छात्रा धेरै

काठमाडौं– देशभरका पौने छ लाख विद्यार्थी बिहीबारबाट एसएलसी परीक्षा दिँदैछन्। कुल १ हजार ८ सय ६२ केन्द्रबाट हुने परीक्षामा ५ लाख ७४ हजार ६ सय ८५ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। यसमध्ये नियमिततर्फ ४ लाख २६ हजार २ सय १४ र एक्जेम्टेडतर्फ १ लाख ४५ हजार १ सय ८३ परीक्षार्थी छन् ।

यस वर्ष इतिहासमै पहिलोपटक छात्रभन्दा छात्रा परीक्षार्थीको संख्या बढी छ। कार्यालयका अनुसार कुल परीक्षार्थीमध्ये २ लाख १३ हजार ७ सय १० छात्रा र २ लाख १२ हजार ५ सय ४ छात्रले एसएलसी दिँदैछन्। ‘छात्रभन्दा छात्रा बढी भएको एसएलसीको आठ दशकको इतिहासमै पहिलोपटक हो,’ उपनियन्त्रक अनुपचन्द्र श्रेष्ठले नागरिकसँग भने, ‘यसले केटीहरूमा शिक्षाको पहुँच बढ्दै गएको देखाउँछ।’

उनका अनुसार यस वर्ष एसएलसी परीक्षामा सहभागी हुने हरेक परीक्षार्थीको विस्तृत विवरण वेबसाइटमा राख्ने निर्णय भएको छ। शिक्षासचिव विश्वप्रकाश पण्डितको संयोजकत्वमा बसेको एसएलसी परीक्षा सञ्चालन तथा व्यवस्थापन बोर्ड बैठकले त्रुटि कम होस् भनी परीक्षार्थीको विवरण वेबसाइटमा राख्ने निर्णय गरेको हो।

‘परीक्षा सकिएको एक साताभित्रै विद्यार्थीको विस्तृत विवरण वेबसाइटमा राखिने छ,’ परीक्षा नियन्त्रक विष्णु द्धारेले भने, ‘परीक्षा सकेपछि विद्यार्थीले आफ्नो सबै विवरण हेरेर केही त्रुटि भएको रहेछ भने बेलैमा सच्याउन पाउँछन्।’

यस वर्ष दृष्टिविहीनका हकमा पनि पनिकाले नयाँ व्यवस्था गरेको छ। विगतमा कक्षा ८ पढ्दै गरेका विद्यार्थी दृष्टिविहीनको सहयोगी बन्ने व्यवस्थाले उनीहरूलाई कठिनाइ परेको गुनासोका आधारमा परीक्षा बोर्डले यस वर्ष कक्षा ९ अध्ययनरत विद्यार्थीलाई सहयोगी बनाउने निर्णय गरेको द्धारेले बताए। परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन यसै वर्षदेखि परीक्षार्थीले अनिवार्य रूपमा प्रशनपत्रको माथि आफ्नो सिम्बोल नम्बर लेख्नुपर्ने व्यवस्था गरेको छ।

‘परीक्षार्थीले प्रश्नपत्रमा उत्तर लेखे वा प्रश्नपत्र आपसमा साटासाट गरे सिम्बोल नम्बरका आधारमा उनीहरूको परीक्षा रद्द हुन्छ,’ नियन्त्रक द्धारेले भने।

नागरिकबाट यो पनि पढ्नुहोस् विदेशमा किन आँखा चिम्लिन्छ सरकार ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: