काठमाडौं– रात आफ्नै गतिमा छिप्पिँदो थियो, रातको १२ बजेको हुँदो हो । केही दिन अघि रनवेमै टर्किस एयरवेजको विमान दूर्घटनाग्रस्त बनेपछि अझै अस्तव्यस्त रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्ष मानिसहरुको भीडले भरिएको थियो, बिहिबारको रात । प्रतिक्षार्थी बस्ने कुर्सीहरु अलपत्र थिए । आफन्त भेट्ने अभिप्सामा धेरैका उत्साही नजर एराइभल नोटिसबोर्डमा अडिएका थिए ।
यत्तिकैमा मेरो नजर आगमन कक्षको कुनापट्टि बसिरहेका तीनजना मानिसहरुमा सोझिए । अलपत्र कुर्सी जस्तै थियो उनीहरुको शरीर । छेउमा एकजना बृद्ध थिए र सँगै दुई महिला । कुनै ठूलो पीडाको बाढीले हुत्याएको शरिर जस्तै चिसो फलामको कुर्सीमाथी घोप्टो शरिर ।
कुनै अदृष्य पिडाको भाव थियो । म नजिकिएँ । त्यो अवस्थामा संवादको ढोका खोल्नु दुस्कर थियो । छेउकी दिदीबाट प्रश्नको ढोका धकेल्ने हिम्मत गरेँ ।
केहि बेरको मौनतालाई चिर्दै मैले प्रश्न गरेँ, ‘कहाँबाट आउनुभयो दिदी?’
मेरो प्रश्नमा उनले झस्किँदै भनिन्, ‘हजुर ?’
सायद उनलाई लागेको थिएन, मानिसहरुको त्यत्रो भिडमा पनि उनीसँग बोल्न कोही दोस्रो व्यक्ति आउनेछन् । मेरो दोहोरिएको प्रश्नको निकै मलिनो आवाजमा उनले उत्तर दिइन्, ‘कपिलवस्तु’ ।
दोस्रो प्रश्न उनीमाथि तेर्साइहालेँ, ‘को आउँदै हुनुहुन्छ ?’ सुरुको प्रश्नमा नै असहज महसुस गरिरहेकी उनले मेरो दोस्रो प्रश्नमा अनुत्तरित भाव व्यक्त गरिन् ।
मलाई लाग्यो, यो अनुत्तरित भाव सामान्य होइन । कारण थाहा पाउन आतुर भएकी मैले उनलाई केही सहज महसुस गराउन सोधेँ, ‘के भयो दिदी ?’ गला अवरुद्ध पार्दै उनले भनिन् ‘केहि भएको छैन ।’
उनको यो उत्तरपछि मैले केहि सोधिरहन आँट गरिँन, एक छिन टोलाएँ ।
पीडाहरुसँग संवाद गर्नु कति असहज हुँदो रहेछ, म सोच्दै थिएँ । केहीबेरको मौनतापछि, उनले आफैँ भनिन्, ‘म मेरो ज्वाईंको लास पर्खिरहेकी छु र म सँगै रोएर यहाँ बसिरहेकी मेरी बहिनी हो ।’
उनको यो वाक्य खस्न नपाउँदै मेरो आङ सिरिङ्ग भयो र मनभित्रको चिसो मैले लगाइरहेको ओभरकोटले कहाँ छेक्न सक्थ्यो र ? विभिन्न प्रश्नहरु एकअर्कासँग कुस्ती खेल्दै तँछाडमँछाड गरिरहेका बेला मैले सोधिहालेँ, ‘कहाँबाट आउँदैछ ?’ उनले भनिन् ‘साउदी अरबबाट । ८ बजेको लागि भनेर आएको अहिलेसम्म आएको छैन ।’
मध्यरातमा एयरपोर्टमा बिजुली गएपछि उनले आफ्नो ज्वाईंको मृत शरीर थप ९ घण्टा कुर्नु परेको थियो ।
केहि बेरको संवादपछि घोप्टो शरीर ठाडो गर्दै कसुम कुमारी चौधरीले घटनाको पृष्ठभुमि बताइन् । २८ वर्षे हरिबहादुर चौधरी उनका ज्वाईं रहेछन् । उनकी बहिनी सतियान सुइँयासँग चौधरीको विवाह भएको रहेछ । दुई छोरीको बाबु बनिसकेका चौधरी छोरीहरुलाई शिक्षा, परिवारलाई सुखको सुन्दर जहाजमा उडाउन साउदी अरब गएका रहेछन् ।
गत जेठ १९ देखि साउदी अरबको एसओएस कम्पनीमा आफ्नो पसिना बगाउँदै थिए । सबै कुराहरु राम्रै चलिरहेको थियो, कमाई पनि राम्रै हुन्थ्यो । विदेश जान लिएको डेढ लाख ऋण पनि उनले तिरिसकेका थिए । माघ ४ गते शनिबारको दिन खाना खाएर सकुशल सुतेका उनी कहिल्यै उठेनन् ।
साथीहरु मार्फत खबरको आगो कपिलबस्तु बाह्रगंगासम्म पुग्यो । जहाँ उनको परिवार थियो । त्यहि खबरको आगोले पोलेको आलो घाउ लिएर उनीहरु एक हप्ता अघि काठमाडौं आएका रहेछन् । दिदीसँगै आफ्नो पतिको लास कुरिरहेकी सुईंयासँग मैले संवाद गर्ने धृष्टता गरेँ ।
दुई महिनादेखि पतिको लास कुरिरहेकी उनलाई दिदी कुसुमको माध्यमबाट बोलाउने प्रयास गरेँ । पतिको मृत्युको खबरले विक्षिप्त बनेकी उनीसँग संवाद गर्नु कहाँ सजिलो थियो र ? निकै प्रयासपछि उनी सिधा हेर्न राजी भईन् ।
पतिको मृत्युको पिडाले छिद्र हानेको उनको अनुहारबाट आँसुका ढिक्का झर्दै थिए । त्यो दृष्यबाट म कहाँ अछूतो रहन सक्थेँ र ? प्रश्न फुटेन । उनकै दिदिसँगको संवादलाई अघि बढाएँ । कुसुमले विगततिर डो¥याइन् । चौधरीको मृत्यु हुनु भन्दा ठिक दुई दिनअघि उनले साउदी अरबबाट श्रीमती सुइँयाको मोबाइलमा फोन गरेका रहेछन् ।
बिहिबारको दिन थियो । जुन दिन उनको अन्तिम फोनको घन्टी सुइँयाको मोबाइलमा बजेको थियो त्यो बेलुकाको समय थियो । दुई छोरीहरु कविता र बवितासँग उनले अन्तरंग कुरा गरेछन् । ‘राम्रोसँग पढ्नु है,’ ठूली छोरी कवितासँग उनले भनेको अन्तिम वाक्य यहि हो ।
२०५७ सालमा चौधरी र सुइँयाको मागी विवाह भएको रहेछ । चौधरीको सानो उमेरमै आमा बितेकी रहिछिन् । ७० वर्षे उनको बुवा डल्ले थारुको हेरचाह श्रीमती सुइँयाले गर्दै आएकी छिन् । ‘बुवा साह्रै शोकमा हुनुहुन्छ, नसक्दा नसक्दै पनि काठमाडौं आउन खोज्दै हुनुहुन्थ्यो ।’ कुसुमको यो वाक्यसँगै रातको ३ बजिसकेको थियो ।
उनकी बहिनी सुइँया घोप्टो शरिरमै थिइन् । उनको जीवनमा अर्को ठूलो बाढि आएको छ । श्रीमती र परिवारलाई सुख दिन साउदी अरब भासिएका उनको पतिको मृत शरिर काठको बाकस भित्र कैद भएर गन्तव्यतिर थियो । सरकारले बिजुलीको समस्या नपारिदिएको भए उनको पतिको लास तोकिएकै समयमा आइपुग्थ्यो ।
दुई महिनादेखि आँशुमा डुबेकी उनलाई विमानस्थल प्रेक्षालयको चिसो कुर्सीमा सरकारले थप ९ घण्टा रुवायो । छोरीको हालत देखेर नजिकै रहेका उनका बाबा रुपनारायण चौधरी पटक पटक भावुक बन्ने गर्थे । चस्मा खोल्थे । खस्रो हातले आँखा मिच्थे ।
बेलुका ८ बजेदेखि आएका उनीहरुको बिहान ५ बजे प्रतिक्षाको घडि सकिने सुचना थियो । बिहान ३ः३० मा हरिबहादुर चौधरीको लास मलेसियन एयरलाईन्सको विमानबाट रनवेमा दौडिएको थियो । ५ बजे उनीहरुले चौधरीको लास बुझे ।
सुइँया आफ्नो पतिको लास अघि विचलित थिइन् । केहि क्षणमा एउटा गाडि आयो । त्यो गाडिमा उनलाई कपिलवस्तुको बाह्रगंगा लगिँदै थियो । हरेक मान्छे पुग्ने गन्तव्यमा चौधरी पुगिसकेका थिए तर जन्मथलो पुगेका थिएनन् ।
रातोपाटीमा प्रकाशित योे समाचार सरिता कार्कीले लेखेकी हुन्
यो पनि पढ्नुहोस्
कतारमा अन्त्य भएको एउटा सपना (भिडियो सहित )