जापानमा नेपाली समेत शरणार्थी बनेर बस्न खोजेपछि कडाई

जापान- जापानमा अब नक्कली शरणार्थी आवेदकलाई ठुलो झट्का लाग्ने भएको छ । नक्कली शरणार्थी आबेदनलाई निरुत्साहित गर्नको लागि जापानले अव यस्ता आवेदकहरुलाई रोजगारी नदिने भएको हो ।

जापानको कानुन मन्त्रालयले आवेदकहरुलाई समानान्तर रुपमा कामगर्न अनुमती दिने हालको नीतिलाई संसोधन​ गर्दै नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ । शरणार्थी मान्यता प्रणालीमा शरणार्थीको आबेदन दिने बिदेशीलाई आवेदन दिएको ६ महिनापछि स्वतः काम गर्ने मान्यता उपलब्ध गराउने ब्यबस्था छ । यो व्यवस्था सन् २०१० देखि लागू भएको हो ।

अब पुरानो शरणार्थी र रोजगार अनुमति प्रणालीलाई खारेज गरी नयाँ व्यवस्था लागू गर्ने तयारी भएको हो । यसमा शरणार्थीहरुको अवस्था हेरेर प्राथमिकताका आधारमा रोजगार मान्यता दिने कानुन बदर हुनेछ । रोजगार मान्यता पाउने भएपछि नक्कली शरणार्थी आबेदन दिने बिदेशीहरुको संख्या तिब्र गतिमा बढेको थियो ।

नक्कली आवेदक बढेकोले हालको प्रमाणीकरण प्रकृया लामो हुने हुदाँ वास्तविक शरणार्थीहरुलाई जोगाउनको लागि ढिलो हुने भएकोले उक्त मन्त्रालयले निकट भविष्यमा निर्धारण हुने जापानको नयाँ अध्यागमन नितीमा सुधार गर्ने भएको हो । यस नीति सँगै शरणार्थीको रुपमा उचित नठरिएका बिदेशीहरुलाई रोजगारी मान्यता नमिल्ने भएको छ ।

जापानी सञ्चार माध्यमहरूले जनाएअनुसार सन् २०१४ मा मात्रै १ हजार २ सय ९३ जना नेपालीले शरणार्थी हैसियतका लागि आवेदन दिएका थिए । सन् २००७ देखि नेपालीहरूले यसरी आवेदन दिने प्रवृत्ति बढेको हो । हालसम्म ५ हजार नेपालीले आवेदन दिएकामा केहीले शरणार्थी हैसियत पाइसकेका छन् । तर रोजगारीका लागि नक्कली शरणार्थी बन्न मरीहत्ते गर्ने प्रवृत्तिका कारण जापानमा नेपालीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुन लागेको छ ।

यस बारे टोकियोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपले नै जानकारी गराएको थियो । जापानमा शरणार्थी बन्न आवेदन दिएपछि प्रक्रिया टुंगिन डेढ वर्ष लाग्छ । आवेदनपछि सुरुको महिना छ महिना लुकेर, अनि पछि पूरा समय काम गर्न पाइन्छ । त्यही कारण कतिपय नेपाली दलालले जापानमा आएका नेपालीहरूलाई आवेदन गर्न उक्साउने गर्छन् ।

शरणार्थीको माग गर्दै जापानमा ‘शरणार्थी आवदेन दिँदैमा त्यो हैसियत पाइन्छ भन्ने छैन, तर पनि नेपालीहरू त्यही बाटो रोजेर त्यहाँ बस्दा मुलुकको शिर नै निहुर्‍याउने काम भएको छ,’ परराष्ट्रका एक अधिकारीले भने । लाखौं कमाउने भन्दै जापानको सपना देखाएर त्यहाँ पुर्‍याउने कन्सल्टेन्सीले समेत शरणार्थी आवदेन दिन सुझाउनेसमेत खुलासा भएको छ । जापान सरकारले पछिल्लो समय यसबारे चासो देखाएको छ । काठमाडौंस्थित जापानी राजदूतवासले यस सम्बन्धमा सूचना नै जारी गरेर नेपालीलाई सचेतसमेत गराइसकेको छ ।

जापानी दूतावासको वेबसाइटमा राखिएको सूचनामा भनिएको छ, ‘जापानमा पढ्न र कमाउन बस्नु एकदम फरक कुरा हो । बिनास्वीकृति तोकिएको समयभन्दा बढी काम गरेको पाइएमा जरिवानाको साथै देश निकालासमेत हुन सक्छ । त्यसकारण जापानमा अध्ययनका लागि जाने विद्यार्थीहरूले निर्वाध रूपमा पढ्न र बस्ने खर्च जुटाउन आवश्यक छ । मन लगाएर अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीको लागि मात्र जापानले स्वागत गर्छ । वर्क परमिटमा आउनेलाई पनि कामको सुनिश्चितता गर्नसमेत हामी आग्रह गर्दछौं ।’

कतिपयले काममा लैजाने र अलपत्र पार्ने सूचना जापान सरकारले पाएको, तर नेपालीले डराएर व्यवसायीविरुद्ध उजुरी नगर्दा कारबाही गर्न गाह्रो भएको पनि एक अधिकारीले बताए । जापानमा रेस्टुरेन्ट वा अन्य व्यवसाय सञ्चालन गर्ने र नेपालीलाई वर्क परमिटमा लैजाने प्रवृत्ति बढेकोमा जापानीहरू चिन्तित भएको एक अधिकारीले बताए । परराष्ट्र अधिकारीका अनुसार यो समस्यामाथि शीघ्र हुने भनिएको नेपाल जापान परराष्ट्र सचिवस्तरीय बैठकमा समेत छलफल गरिएको छ ।

विभिन्न भिसामा जापान प्रवेश गरेका नेपालीलाई शरणार्थी भिसा निम्ति आवेदन दिन लगाउने नेपाली दलाललाई अध्यागमन विभागले पक्राउ गरेको समाचार जापानबाट प्रकाशित हुने योमियुरी पत्रिकाले छापेको थियो । समाचारका अनुसार विद्यार्थी तथा पारिवारिक भिसामा जानेलाई गैरकानुनी रूपमा आवेदन दिन लगाएको आरोपमा नेपाली पक्राउ गरिएको हो । अभियुक्त नेपालीले करिब सय जना नेपालीलाई शरणार्थी भिसानिम्ति आवेदन दिन लगाएको दाबी गरिएको छ । ३० वर्षीय नेपाली युवाको नामचाहिँ सार्वजनिक गरिएको छैन ।

शरणार्थी भिसा भएकाहरूले जापानमा वैधानिक रूपमै काम गर्न पाउने व्यवस्था छ । सन् २०१४ मा मात्रै करिब ५ हजार विदेशीले जापानमा शरणार्थी भिसाका लागि आवेदन दिएकोमा सबैभन्दा बढी नेपाली रहेको अध्यागमन विभागले जनाएको छ । अघिल्ला वर्षको तुलनामा यो पाँच गुणाले बढेको समेत जनाइएको छ । जापानस्थित नेपाली दूतावासले जापानमा ४० हजारभन्दा बढी नेपाली रहेकोमा तीमध्ये ३५ प्रतिशतले शरणार्थी हुन आवेदन गरेको जानकारी परराष्ट्र मन्त्रालयलाई गराएको एक अधिकारीले बताए ।

नेपाल जापान डटकमबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय