जो आफ्नै पौरखमा बाँचेका छन्

काठमाडौं- भक्तपुरको सूर्य विनायकनजिकै काठ कारखाना चलाउने कृष्णलक्ष्मी छेताला नाम चलेकी सिकर्मी हुन् । तर तीन वर्षअघिसम्मको कुरा अर्कै थियो । उनी एक गृहिणी थिइन् ।

कृष्णलक्ष्मीले दुई वर्षअघि विश्व बैंकद्वारा सञ्चालित वयष्क (१५-२४) वर्षका महिला रोजगार पहल कार्यक्रमअन्तर्गतको २ महिने सिकर्मी तालिम लिइन् । जुन तालिमले उनको जीवनमा ठूलो फेरबदल ल्यायो । काम सिकेपछि मैले आफ्नै काठ कारखाना खोलें छेतालाले भनिन्, पहिले पति (सीताराम) को मात्र कमाइले घर चलाउनुपथ्र्यो । निकै गाह्रो हुन्थ्यो । तर अहिले दुवैले कमाउँदा पैसाको चिन्ता हुँदैन ।

सीताराम पनि सिकर्मी हुन् । अहिले दुवै जनाका सँगसँगै छुट्टाछुट्टै कारखाना छन् । उनले आफूले जानेको सीप दुई वर्षको अन्तरालमा अरू ६० जनालाई बाँडिसकेकी छन् । केही त मेरै कारखानामा काम गरिरहेका छन्, दुई सन्तानकी आमा केषलक्ष्मीले भनिन् ।

पुरुषले मात्र गर्ने ठानिने काममा अब्बल दरिने नेपाली चेलीहरूको संख्या बढदै छ । उनीहरू लगावबाटै समानताको व्यावहारिक दृष्टान्त बन्न सफल भएका हुन् । भक्तपुरमै मोबाइल मर्मत गर्ने सरिता मङ्ग्राती, पाँचथरकी ब्युटिसियन मुना राई, कैलालीकी सूचीकार सोझा टमाटा, दाङकी इलेक्ट्रिसियन शोभा चौधरीलगायत ती नाममा गनिन्छन्, जो श्रम र सीपको दुनियाँमा कायम भेद मेट्न सफल भएका छन् ।

सोझा युद्धकालमा माओवादी बनिन् । शान्ति प्रक्रिया सुरु भएपछि उनले कैलालीका युवकसँग विवाह गरिन् । २४ वर्षिय उनका २ छोरी छन् । भर्खर छोरी जन्मिएकी थिई, घरमा मलाई कसैले पनि सहयोग गर्दैन थिए, उनले भनिन्, त्यही बेलामा बजारमा तीन महिने सिलाइ हुन लागेको थाहा पाएँ र गएँ । काखे छोरी छोडेर सिलाइ सिक्न जानु कम्ती गाह्रो भनें थिएन ।

प्रशिक्षण सकिएपछि वयष्क महिला रोजगार पहल कार्यक्रमले नै १० हजार ऋण दिई उनलाई सिलाइ मेसिन किनिदियो । बजारमा उनको अहिले आफ्नै पसल छ । जेठी छोरीलाई बोर्डिङ पढाउने, सानी २ वर्षीया छोरीसहित पूरै परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा छ । भन्छिन्, अरूले नकमाएपछि मैले नै हेर्नुपर्‍यो नि । परिवारले अहिले उनलाई सम्मानपूर्वक व्यवहार गर्छ ।

मुना आफ्ना तीन बहिनी र एक भाइलाई पढाउनुका साथै घरमा बा-आमालाई सहयोग गर्न समेत भ्याउँछिन् । उनको यासोक बजारमा ब्युटिपार्लर छ । दुई वर्षअघि उनले झापाको दमकमा आएर ३ महिने ब्युटिपार्लर टे्रनिङ लिएकी थिइन् । त्यसपछि उनले बाबुआमालाई भनेर साहुबाट ९० हजार रुपैयाँ ऋण लिइन् । उनको ब्युटिपार्लरमा अहिले एक लाखभन्दा बढीका सामान छन् ।

भक्तपुरकी सरिता मङग्राती मोबाइल मर्मत गर्छिन् । उनले ७ महिनाअघि ३ महिने प्रशिक्षण लिएकी हुन् । सुरुमा उनले बागबजारको एक मोबाइल पसलमा काम गरिन् । अहिले उनको आफ्नै पसल छ र अन्य महिलालाई पनि मर्मत कला सिकाउँछिन् । परिवारलाई सहयोग हुने जति कमाउँछु ८ महिनाअघि विवाह गरेकी उनले भनिन् ।

जनगणना २०६८ अनुसार जनसंख्याको ५१.५० प्रतिशत महिला छन् । पछिल्लो समय महिला शैक्षिक रूपमा समेत पुरुषभन्दा अघि देखिएका छन् । आउँदो एसएसलीमा छात्राको संख्या बढी छन् । ४ लाख २६ हजार २ सय १४ परीक्षार्थीमध्ये २ लाख १३ हजार ७ सय १० जना छात्रा छन् ।

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: